विघटन बदरको माओवादीद्वारा स्वागत

विघटन बदरको माओवादीद्वारा स्वागत

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको नेकपा (माओवादी केन्द्र) ले स्वागत गरेको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ्गले अदालतको फैसलाले संसद र संविधानको रक्षा गरेको प्रतिक्रिया दिए ।

‘संसद र संविधान बचाउन सर्वोच्च अदालतले जे फैसला गरेको छ, त्यसको हामी स्वागत र सम्मान गर्छौँ । यसलाई हामीले संविधानको रक्षा र विधिको शासनका पक्षमा न्यायपालिकाले ऐतिहासिक भूमिका निर्वाह गरेको अर्थमा बुझेका छौँ । यसको सिंगो मुलुकले स्वागत गर्नुपर्छ’,गुरुङ्गले भने ।

अदालतको फैसलाले राष्ट्रपति र प्रधानमन्त्री संविधानविरोधी हो भन्ने कुरा छ्याङ्ग भएको पनि उनले दाबी गरे । प्रधानमन्त्री ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटनको प्रयास गरेको र त्यसलाई रोक्ने अदालतको आदेशले ओली संविधान सिध्याउन लागेको पुष्टि भएको गुरुङ्गले बताए ।

उनले अब फैसला कार्यान्वयन गरेर संविधानको रक्षाका लागि सबै एकतावद्ध हुनुको विकल्प नभएको पनि बताए । ‘प्रधानमन्त्रीले सिध्याउन लागेको संविधान अदालतले बचाइदिएको छ । लोकतन्त्र र संविधानका पक्षधर सबै शक्ति यो फैसला कार्यान्वयनका लागि एकजुट भएर लाग्नुपर्छ’, गुरुङ्गले भने ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको परमादेशबारे टिप्पणी गर्दै उनले मागदाबी बमोजिम नै फैसला आएकाले मिलेर कार्यान्वयन गर्ने बताए । उनले भने, ‘गठवन्धनमा सहमतिको आधारमा यो प्रक्रिया अघि बढेको हो । अब पनि सहमतिकै आधारमा अघि बढ्छौँ ।’

संविधानको धारा ७६ को उपधारा ५ को अदालतको व्याख्याले सांसदहरुको स्वविवेकीय अधिकार स्थापित गरेको भन्दै गुरुङ्गले खुशी व्यक्त गरे । ‘संसद बचाउने अन्तिम विकल्पका रुपमा उपधारा ५ को प्रयोग गरेका थियौँ । यसलाई कतिपयले निर्दलीयता ल्याउन खोजेको भनेर प्रचार पनि गरे ।

तर अदालतले संसदहरुको स्वविवेकीय अधिकारलाई मात्र स्थापित गरेको छैन, प्रतिनिधिसभालाई विघटनमा जानबाट रोक्ने प्रयास पनि गरेको छ ।’

टिप्पणीहरू