कसैले राखेनन् यताको खबर

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी भर्ना प्रक्रियामा भएको अनियमितता छानबिन गर्न दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति बन्यो । डिसेम्बर अन्तिममा उपकुलपतिबाट अवकाश पाउने बलभद्र दासलाई त्यसमा दोषी करार गर्दै समितिले प्रतिवेदन बुझायो । प्रतिवेदनअनुसार कारबाही गर्न कुलपतिका हैसियतले प्रधानमन्त्रीले मात्र सक्छन् । त्यसका लागि स्वास्थ्यमन्त्री गगनले आफूले बुझेको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीकहाँ पठाउनुपर्ने हो । तर, त्यसो गरेनन् । अहिलेसम्म उक्त प्रतिवेदन आफैँसँग राखेका छन् ।

प्रतिवेदनले दोषी करार गरे पनि पुनः उपकुलपति नियुक्तिका लागि बलभद्रकै दौडधुप चलिरहेको छ र लुकाएको प्रतिवेदन देखाएर तर्साउँदै उनीसँग मोलतोल चलेको बताइन्छ । होइन, कारबाही गर्ने ध्येय थियो भने फाइल प्रधानमन्त्रीकहाँ पठाउनुपथ्र्यो भन्छन्, त्यहाँका कर्मचारी । बलभद्रले पदावधि सकिन लाग्दा हिजोआज कहिले मन्दिर भत्काउने त कहिले सानातिना सामानको टेण्डर खोल्ने क्रमलाई तीव्रता दिएका छन् । त्यस्तै, कर्णाली, गण्डकी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति नियुक्तिको काम रोकिएको छ । एमालेका खगराज अधिकारी मन्त्री हुँदा र फोरम लोकतान्त्रिकका रामजनम चौधरीका पालामा ऐन बनेर खडा भएको कर्णाली र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्नुपर्नेमा अहिलेसम्म नहुनुका पछाडि मोलतोल कार्यशैली प्रमुख कारक भएको बताइन्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शरत्सिंह भण्डारीकी बहिनी डा.संगीता भण्डारी उपकुलपति थिइन् ।

उनको पदावधि सकिएको एक महिला भयो । अहिले कांग्रेसले पाटन र बिपी दाबी गरिरहेको छ । गगनले कर्णाली र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान माओवादीलाई दिन चाहेका हुन् । ती स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि सर्च कमिटी गठनको प्रस्ताव गगनले राखेका छन् । उनले आफैँ अध्यक्ष हुनेगरी स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेती, राष्ट्रिय योजना आयोगमा स्वास्थ्य हेर्ने सदस्य गीताभक्त जोशीको नाम सिफारिस गरेर प्रधानमन्त्रीकहाँ पठाएका छन्, तर स्वीकृत भएको छैन । पाटनमा पुनः उपकुलपति हुन डा.संगीताले कांग्रेस सभापति शेरबहादुर देउवामार्फत दबाब दिइरहेकी छन् । प्रधानमन्त्रीचाहिँ काठमाडौं विश्वविद्यालयमा जस्तै तत्कालका लागि काम चलाऊ नियुक्त गरेर पछि आफ्नो अनुकूलतामा अरुलाई ल्याउने दाउमा छन् । काठमाडौं विश्वविद्यालयमा उपकुलपति चयनका लागि सर्च कमिटी बनाइएको छ । तर, कमिटीले नाम सिफारिस गर्नुअघि नै प्रधानमन्त्रीले भोला थापालाई निमित्त उपकुलपति तोकेपछि कमिटीका सदस्य रुष्ट छन् । अहिले बलभद्रको दाउ छ, सकेसम्म आफू बिपीमै रहने र काठमाडौं विश्वविद्यालयमा डा. रुपा सिंहलाई उपकूलपति बनाउने, त्यसो गर्न नसकिए आफू काठमाडौं विश्वविद्यालयमा र डा.रुपालाई बिपीमा पठाउने गरी प्रधानमन्त्रीकहाँ पनि लबिङ गरिरहेका छन् ।

उता, सात जना सहयोगी नियुक्त गर्न पाउने गगन थापाले मन्त्रालयमा पिए मात्रै १८ जना राखेका छन् । पिएपिच्छे जिम्मेवारी तोकेर विभिन्न स्वास्थ्य प्रतिष्ठान, जिल्ला र निजी अस्पतालमा तिनलाई घुमुवा पठाउने गरेका छन् । हरेक दिन पिएहरुबाट बिहान ब्रिफिङ लिने र मन्त्रालय गएर पनि आफ्नो कार्यकक्षमा नबसी कहिले सचिवकहाँ त कहिले सहसचिवकहाँ बसेर दिन काट्ने गरेका छन् । बुधबार र आइतबार भेटघाट बन्द गरेका छन् । रिक्त स्वास्थ्य सेवा विभागको महानिर्देशकका लागि पाँच जनाको दौडधुप चलिरहेको छ । रामचन्द्र पौडेलको सिफारिससाथ डा.तरुण पौडेल एकातिर दौडिएका छन् भने डा.विकास लामिछाने, डा.राजेन्द्र पन्त, डा. नरेशप्रताप केसी, डा.आरपी (रामपदारथ) बिच्छा अर्कातिर कुदिरहेका भेटिन्छन् ।

टिप्पणीहरू