सर्वोच्चको फैसलाबिरुध्द महेश बस्नेतको जुलुश

सर्वोच्चको फैसलाबिरुध्द महेश बस्नेतको जुलुश

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाका विरुध्द प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र महेश बस्नेतले आन्दोलनमा जुट्न कार्यकर्तालाई आव्हान गरेका छन् । सर्वोच्चको असंवैधानिक फैसलाका विरुद्ध भन्दै उनले विरोध प्रदर्शनमा कार्यकर्ता उतार्न लागेका हुन् ।

‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको विरुद्ध बिरोध जनाऊँ’, बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले जारी गरेको परमादेश अस्वीकार गर्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘अब देश राजनैतिक द्वन्द्वमा प्रवेश गरेको छ । यो परमादेश कार्यान्वयन गर्न असम्भव छ ।’

अदालतको फैसलाप्रति तीब्र आक्रोश पोख्दै बस्नेतले न्यायाधीशहरुले सेटिङ्ग मिलाएर न्यायपालिका कब्जा गरेको आरोप समेत लगाएका छन् । ‘नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन । निर्दलीय शासन व्यवस्थाको पुन: बिजारोपण भएको दिन ।

व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउँमा सेटिङ्गवाला केही न्यायमूर्तिका नामधारीहरुले हातमा लिएको क्षण । युवा संघले यसका विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ । जो जहाँ छौँ सहभागी बनौँ । देशभर बिरोध प्रदशन गरौं’,उनले भनेका छन् ।

टिप्पणीहरू