पार्टीको लोकप्रियता अन्त ओरालो, त्यहाँ मात्र किन उकालो ?

पार्टीको लोकप्रियता अन्त ओरालो, त्यहाँ मात्र किन उकालो ?

-चेतनाथ आचार्य

जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले आफ्नो एक सयौँ वार्षिकोत्सव मनाएको छ । सीपीसी वर्तमान विश्वमा सबैभन्दा ठूलो राजनीतिक पार्टी हो । साथै, ७२ वर्षदेखि अविच्छिन्न सत्तारुढ दलका रूपमा यसले इतिहास सिर्जना गरेको छ । सीपीसीका ९ करोड २० लाख सदस्य छन् । त्यसो त १ अर्ब ४० करोड जनसंख्या भएको देशमा जम्मा ६ प्रतिशत नागरिक मात्र सीपीसीको सदस्य छन् । सीमित चिनियाँहरू सीपीसीका सदस्य रहे पनि आमचिनियाँमा सीपीसी अत्यधिक लोकप्रिय छ ।

सन् २०२० मा अमेरिकी हार्भर्ड विश्वविद्यालयले गरेको एक सर्वेक्षणअनुसार चीनमा सीपीसी र सरकारप्रतिको लोकप्रियता दर ९५ प्रतिशत पुगेको छ । ताज्जुबको कुरा त के छ भने विश्वका कुनै पनि मुलुकमा सत्तारुढ दल र सरकारप्रतिको विश्वसनीयता र लोकप्रियता दर ६५ प्रतिशतभन्दा माथि छैन । यस्तो लोकप्रियतादर सरदरमा ५० प्रतिशतभन्दा न्यून हुने गर्छ । तर, सीपीसीको लोकप्रियतादर यति उच्च हुनुका केही कारण छन् ।

कोरोना महामारी बढेपछि विश्वमा सर्वत्र सरकार र सत्तारुढ दलप्रतिको विश्वसनीयता तथा लोकप्रियतामा व्यापक गिरावट आएको छ तर चीनमा चाहिँ सीपीसी र सरकारप्रतिको विश्वसनीयता तथा लोकप्रियता बढेको छ । सन् २०२० को शुरुमा कोरोनाले चीनलाई गाँजिरहेका बेला केही अमेरिकी प्रोफेसरहरू चिनियाँ राष्ट्रपति सी चिनफिङको सत्ता धरापमा परेको विश्लेषण गरिरहेका थिए । उनीहरूले चीनबाट कम्युनिष्ट सत्ता नै ढल्नेसम्मको भविष्यवाणी पनि गरेका थिए । तर, अहिले त्यही अमेरिकी विश्वविद्यालयले गरेको सर्वेक्षणमा सीपीसी र चिनियाँ सरकारको लोकप्रियता विश्वमै सबैभन्दा उच्च रहेको देखिएको छ ।

राजनीतिमा सामान्यतः नयाँ सत्ता र नयाँ सरकार पुरानोभन्दा लोकप्रिय हुने गर्छन् । नयाँप्रति आलोचना गर्ने र असन्तुष्टि जनाउने प्रशस्त आधार बनिसकेका हुँदैनन् तर पुरानाप्रति मान्छे दिक्क भइरहेका हुन्छन् । त्यसोभए सय वर्षको इतिहास बोकेको सीपीसी चीनमा दिनदिनै अझ बढी लोकप्रिय हुनुपर्ने खास कारण के हो त? अझ यो पार्टी ७२ वर्षदेखि चीनको सत्ता सम्हालेर बसेको छ । यसका केही रहस्य छन् जसलाई छोटकरीमा यहाँ चर्चा गरिएको छ ।

पहिले कुरा, सीपीसी र चिनियाँ सरकारले जनतालाई सदैव प्राथमिकतामा राख्ने गरेका छन् । जनतालाई प्राथमिकतामा राखेकै कारण चीनमा कोरोना महामारी नियन्त्रण सम्भव भएको हो । सन् २०१२ मा १८ औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित सी चिनफिङले जहिल्यै पनि जनतालाई प्राथमिकतामा राख्न पार्टीका हरेक सदस्यलाई निर्देशन दिँदै आएका छन् । उनले गर्ने हरेक संबोधनमा पनि जनतालाई प्राथमिकता दिएर काम गर्न उल्लेख गर्छन् । गरिबी निवारणमा कुनै एउटा व्यक्ति पनि छुट्नु हुँदैन भन्ने सिद्धान्त लिएर चीनले काम गरेको छ । तसर्थ सीपीसीको लोकप्रियताको पारो चढिरहेको छ ।

दोस्रो कुरा, गरिबी निवारण हो । सी चिनफिङ सत्तामा आएको ८ वर्षमै चीनले ९ करोड ८९ लाख ९० हजार मान्छेलाई गरिबीबाट मुक्त गरेको छ । हरेक नागरिकले बाँच्न पाउने अधिकारलाई नै मानव अधिकार भनिन्छ र गरिबी निवारण गरेर चीनले विश्वमै उत्कृष्ट मानव अधिकार प्रदर्शन गरेको छ । सी चिनफिङ केन्द्रित सीपीसीको नेतृत्वमा रहेको चीन सरकारले हरेक नागरिकको स्वास्थ्य, शिक्षा, बिमा, रोजगारी, सामाजिक सुरक्षा, ज्येष्ठ नागरिकको संरक्षणजस्ता विषयलाई ग्यारेन्टी गरेपछि नागरिक सरकार तथा सत्तारुढ दलप्रति खुशी हुनु स्वाभाविक हो ।

तेस्रो कुरा, भ्रष्टाचार नियन्त्रण । सी चिनफिङ सत्तामा आउनासाथ उनले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाए । भ्रष्टाचार नियन्त्रणमा सी चिनफिङले सीपीसीकै उच्चस्तरका नेताहरूबाट काम थालनी गरे । चिनियाँहरूको एउटा उखान छ, भ¥याङ र भ्रष्टाचार माथिबाट बढार्नुपर्छ । हो, यही भनाइलाई चरितार्थ गर्दै सीले कठोर अभियान चलाएपछि भ्रष्ट नेता हायलकायल भए । भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण भयो । चीनमा भ्रष्टाचार गरेर अमेरिकालगायत विभिन्न देशमा लुकेका चिनियाँलाई धमाधम स्वदेश फर्काएर कारबाही गरियो । कैयौँ नेतालाई मृत्युदण्ड पनि दिइयो । भ्रष्टाचार नियन्त्रण भएपछि विकास निर्माणका काम तीव्र भए । सरकारी अनावश्यक खर्चमा व्यापक कटौती गरियो । यी सबै कामबाट जनताले राहत पाए र सीपीसी तथा चीन सरकारप्रति लोकप्रियताको बढ्यो ।

चौथो कुरा, सफल र सबल नेतृत्व । एक सयौँ वार्षिकोत्सव समारोहलाई संबोधन गर्दै सी चिनफिङले सीपीसीले मूलतः चारवटा बृहत् सफलता प्राप्त गरेको औँल्याए । उनले भने, ‘सीपीसीले चिनियाँ जनताको मुक्ति र एकताका लागि संघर्ष गरेको छ । सीपीसीको नेतृत्वमा सशक्त चीन निर्माण भएको छ । सीपीसीको नेतृत्वमा चीनले सुधार र खुलापन अँगाल्दै चिनियाँ चरित्रको समाजवादी व्यवस्थामा हिँडाएको छ । र, सीपीसीको नेतृत्वमा चिनियाँहरूको आत्मविश्वास, आत्मभरोसा र आविष्कारले नयाँ युगमा चिनियाँ चरित्रको समाजवाद विकास भएको छ ।’ सीले औँल्याएका यी चारवटा बृहत् सफलताका लागि सीपीसीको नेतृत्व सफल र सबल छ ।

पाँचाँै कुरा, देशक्तिको भावना । चीनले असंख्य घरेलु समस्यासँगै कैयौँ बाह्य समस्यासँग संघर्ष गर्दै आएको छ । पछिल्लो समय अमेरिकी गठबन्धनले हङकङ, तिब्बत, सिन्च्याङ, दक्षिण चीन सागर, पूर्वीचीन सागरजस्ता विषयमा चीनमाथि लाञ्छना लगाउने, चीनको आन्तरिक मामिलामा खुलेआम हस्तक्षेप गर्ने, अन्तर्राष्ट्रिय जगतमा चीनको बदनामी गर्ने, चिनियाँ नागरिक तथा चिनियाँ उत्पादनलाई भेदभाव गर्ने प्रयास गरिरहेका छन् । यस्तो बेला समग्र चिनियाँलाई एउटै मालामा उनेर देशभक्तिको भावना पैदा गराउने काम सीपीसीले गर्दै आएको छ ।

सन् १९३१ देखि १९४५ सम्म सीपीसीकै नेतृत्वमा चिनियाँ जनताले जापानी अतिक्रमणकारीविरुद्ध युद्ध गरेका थिए । सन् १९४९ मा नयाँ चीन स्थापना भएपछि पनि चीनले निरन्तर विदेशी हस्तक्षेपविरुद्ध युद्ध गर्दै आएको छ । सी चिनफिङले आफ्नो कार्यकालमै ताइवानलाई मातृभूमि चीनमा समाहित गराउने दृढ संकल्प लिएका छन् । यी सबै कुरा चिनियाँमा भएको देशभक्तिको भावनाले गर्दा हो । सीपीसीले चिनियाँमा देशभक्तिको भावना विकास गराएको छ र त्यो विश्वका अन्य मुलुकमा कतै नभएको अनुपम मानिन्छ ।

छैटौँ कुरा, विकास निर्माण । आज जे छ चीनमा छ । चीनलाई विश्वको कारखाना भनिन्छ । चीनले द्रुत गतिमा विकास गरेको एउटा उदाहरण हो सन् २०११ देखि २०१३ सम्म सिमेन्टको खपत यो अमेरिकाले सय वर्षमा गरेको सिमेन्टको खपतभन्दा बढी थियो । भनिन्छ, चीनले दिन दुई गुना रात चौगुना विकास गरिरहेको छ । चिनियाँहरू भन्छन्, ‘तपाईं चीनको कुनै पनि ठाउँमा ६ महिनापछि पुग्नुभयो भने बिल्कुल नयाँ अनुभव गर्नुहुन्छ ।’ यसको अर्थ हो चीनले द्रुत गतिमा गरिरहेको विकास निर्माण । अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । केही वर्षमै अमेरिकालाई उछिनेर विश्वको पहिलो ठूलो अर्थतन्त्र बन्नेछ । विश्वका ठूला विकासका उदाहरण सबै चीनमा छन् ।

चीनको भौतिक पूर्वाधारसँग कुनै पनि देशले प्रतिस्पर्धा गर्न सक्दैनन् । विकासले गर्दा आज विश्वमा चिनियाँको इज्जत, प्रतिष्ठा र मानसम्मान बढेको छ । विश्वकै सबैभन्दा धेरै वैदेशिक लगानी चीनले भिœयाएको छ भने विश्वमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक पनि चीन बनेको छ । विकासका प्रतिफल अरुलाई पनि बाँड्नका लागि चीनले बीआरआई महाअभियान अगाडि सारेको छ जसले विश्वमै विकास बाँडिरहेको छ । विकास भएर नागरिकको मानसम्मान बढेपछि सीपीसी र चीन सरकार लोकप्रिय भैहाले नि !

सातौँ कुरा, सीपीसीको कडा अनुशासन । लेखको शुरुमा उल्लेख छ जम्मा ६ प्रतिशत चिनियाँ मात्र सीपीसीका सदस्य छन् । यति लोकप्रिय पार्टीमा किन थोरै सदस्य? प्रश्न उठ्नु स्वाभाविक हो । सीपीसीको सदस्य हुन त्यति सजिलो छैन । सी चिनफिङले पनि सीपीसीको सदस्य बन्न दिएको आवेदन ९ पटकसम्म अस्वीकृत भएको थियो । दसौँ पटकको प्रयासमा मात्र उनी पार्टी सदस्य बन्न सफल भएका थिए । पार्टी सदस्य बन्नका लागि आवेदन दिएपछि त्यो व्यक्तिको पृष्ठभूमि, आनीबानी, पार्टीमा पु¥याएको योगदान, योग्यता, क्षमतालगायत कुरा हेरेर निश्चित समयसम्म निगरानी राखिन्छ र मात्र सदस्यता स्वीकृत हुन्छ । अनि सदस्य भइसकेपछि यसलाई कायम राख्न पनि उत्तिकै कठिन छ । सीपीसीको हरेक सदस्यले कडा अनुशासनको अनुसरण गर्नुपर्छ । जस्तोसुकै व्यक्ति सीपीसीको सदस्य बन्न सक्दैन । थोरै गल्ती तथा कमिकमजोरी भएमा कारवाही शुरु भइहाल्छ । छानिबिनमा परेपछि निलम्बन हुन्छ ।

एकपटक पार्टी सदस्यबाट निश्कासित भएपछि त्यही व्यक्तिले अर्कोपटक सदस्यता लिन सम्भव हुँदैन । जनताका निम्ति काम गर्न जनतासँगै रहनुपर्छ । जनताले भोगेका दुःखसुख आफ्नै जस्तो ठान्नुपर्छ । सीपीसीका महासचिव सी चिनफिङ चीनका राष्ट्रपति पनि हुन् । उनी बेइजिङको सुखसयल छोडेर हरेक वर्ष फरक फरक दुर्गम क्षेत्रमा पुगी जनताका कुरा सुन्ने गर्छन् । गरिब जनताले के खान्छन्, कस्तो खान्छन्, उनीहरूको घर कस्तो छ, कस्तो ओछ्यानमा सुत्छन्, औषधि उपचारको सुविधा के कस्तो छ, शिक्षा तथा बिमा र सामाजिक सुरक्षाको प्रत्याभूति बुझेर नीति बनाउँछन् । सी चिनफिङले पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनतामा पुगेर उनीहरूको समस्या बुझ्न निर्देशन दिने गर्छन् ।

यदि कोही पार्टी सदस्य दुर्गम क्षेत्रमा जान नमानेमा, जनताका दुःख नबुझेमा, भड्किलो जीवनशैली अपनाएमा, पैसा अथवा पैतृक सम्पत्तिको तुजुक देखाएमा अनुशासनको कारबाहीमा पर्छ । आखिर जनतामा नेता भिजेपछि सिंगो सीपीसी र चीन सरकार नै जनतामा लोकप्रिय भइहाले नि !

टिप्पणीहरू