फिल्म निर्माताहरु एकपछि अर्को फन्दामा

फिल्म निर्माताहरु एकपछि अर्को फन्दामा

पैसा सापटी वा ऋण लिएर धेरैलाई मूर्ख बनाउने धन्दा चलाउँदै आएका निर्माताहरू प्रहरीको चिसो खोरमा पुगेका छन् । केही महिनाअघि मधुसूदन सिलवाल प्रहरी खोरमा गएको घटना सेलाउन नपाउँदै सोमबार अर्का निर्माता हिरासतमा पुगेका छन् । उनी हुन्, शिशिर राणा । सोमबार मात्र उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बिजुलीबजारबाट पक्राउ गरेको छ ।
राणाले ललितपुरकै एक जना व्यक्तिसँग ०७६ सालमा घर व्यवहार चलाउन र व्यवसाय गर्न अप्ठ्यारो प¥यो भन्दै पैसा सापटी लिएका रहेछन् ४५ लाख । भुक्तानी गर्दा नबिल बैंकको चेक त दिए तर आफ्नो खातामा रकम नभएको भन्ने जानी जानी झुक्याए ।

यही कसुरमा पीडितले प्रहरी तथा अदालतमा उजुर दिए । उच्च अदालत पाटनले ०७७ पुस २६ गते उनलाई १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर गरेको थियो । प्रहरीले राणालाई चेक बाउन्सको मुद्दामा पक्राउ गरेको जनाएको छ । लकडाउनकै बीच उनी माला फिल्म निर्माण गर्ने तयारीमा थिए ।

झण्डै दुई दशकदेखि फिल्मी क्षेत्रमा लागेका उनी पोइ पर्‍यो काले र तिमीसँग चलचित्रको निर्देशक, वडा नम्बर ६, अन्दाज, वीरविक्रम, कायरा क्लासिक, रामकहानीलगायत फिल्ममा अभिनयसमेत गरिसकेका सिनेकर्मी हुन् । गत चैत अन्तिमतिर उसैगरी अर्काे निर्माता मधुसूदन सिलवाल पनि डामिएका थिए । राणाले झैं सिने क्षेत्रको कुनै ज्ञान नभए पनि फिल्म निर्माण क्षेत्रमा पैसा कमाउनका लागि भन्दा पनि केटीसँग घुम्न कस्सिएका थिए सिलवाल ।

उनले जीवनरेखा, ए पण्डित बाजे, मनमा माया र मेरो के गति हुने होजस्ता चलचित्र निर्माण गरे । ७५ लाखसम्म लगानी गरेर बनाएका फिल्मले ७५ हजारसम्म उठाउने अवस्था रहेन । जतिवटा फिल्म बनाए सबै डुब्यो । चलचित्रको दुनियाँमा छिरेपछि उनको मित्रता चतुर निर्देशक नारायण पुरीसँग भएको थियो । पुरी र उनी मिलेर नयाँ बानेश्वरको एभरेष्ट होटलभन्दा पछिल्लो घरमा कार्यालय राखे । जुन कार्यालयमा कलाकार सुबी शाहले कुनै बेला रेष्टुरेण्टसमेत चलाएका थिए । त्यही घरमा बसेर निर्देशक पुरी र सिलवालले अन्तर्राष्ट्रिय कलचोरी(भीओआइपी)को धन्दा चलाए ।

चैतमा मात्र यस्तै रंगीला स्वभावमा मधुसूदन अन्ततः समस्यामा परेका छन् । सिने क्षेत्र र रियल इस्टेटमा जोडिएका सिलवालको व्यवसाय क्रमशः ओरालो लागेसँगै प्राइम, प्रभुलगायत बैंकबाट लिएको करोडौं तिर्न सकेनन् । ऋण तिर्न नसकेपछि बैंक कमलपोखरीस्थित ऋण असुली न्यायाधीकरणको कार्यालय गुहार्न पुगेको थियो । त्यहाँबाट मुद्दा हारेपछि सिलवाल अहिले प्रहरीको खोरमा छन् ।

यस्तो ठगी धन्दामा पुरुष निर्मता मात्र होइन, केहीअघि प्रज्ञा जोशीसमेत परिन् । लामो समयदेखि ढुकुटीमा सक्रिय जोशी जग्गा कारोबार गर्दा चेक बाउन्स भएपछि प्रहरीको फन्दामा परेकी थिइन् । न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’, ‘नोटबुक’, ‘सम्झना’, ‘सपुत’ लगायत आधा दर्जन बढी फिल्म निर्माता उनी पनि बैंकिङ कसुरमै परेकी थिइन् ।

टिप्पणीहरू