सिंहदरबारमा फालाफाल छन् यस्ता समाचार

अरुलाई समाचार  र मनोरञ्जन दिने सरकारी स्वामित्वको नेपाल टेलिभिजनभित्रै समाचार र मनोरञ्जनका काम भएपछि अहिले त्यो भद्रगोल अवस्थाबाट गुज्रिएको छ ।

५८ वर्षे उमेर हद लागेर समाचार प्रमुख राजेन्द्रदेव आचार्यले कात्तिक ५ गतेदेखि अवकास पाउने भएपछि ४ गते नै कर्मचारीले पैसा उठाए, भोजका लागि । र, अनामनगरस्थित मामाको चुलो रेष्टुरेण्ट बुक गरी रातभर पार्टी चलाए । बेलुकी १० बजेसम्म हल्लाखल्ला चल्यो । समाचारवाचक गोविन्द धिताल, (दीपकमणिको भाइ) र निराजन खनालबीच फाइट प¥यो । अहिले गोविन्द कर्मचारी युनियनको अध्यक्ष हुन् । युनियनको म्याद सकिइसक्यो । अर्को अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । तर, आगामी नेतृत्वका लागि निराजनले आफ्नो दावी प्रस्तुत गर्दैै आएका छन् । खाइपाइ आएको पद बन्द हुने भयो भन्दै गोविन्द मदिराको तालमा पड्किए । भनाभन चर्किंदै जाँदा निराजनको सर्ट च्यातिदिए, ‘तँ लक्ष्मण हुमागाइँको मतियार होस्’ भन्दै । बिदाइ हुने राजेन्द्रदेवले झगडा छुट्टयाउनुप¥यो । नयाँ रिपोर्टरहरु राजेन्द्र पोखरेल र केशव विष्ट पनि थुम्थुम्याउन थाले ।

लक्ष्मण हुमागाइँको कात्तिक १५ देखि पदावधि सकिएपछि दीपकमणि धिताल कामु महाप्रबन्धक भए । यसपछि अध्यक्ष महेश दाहालको पनि जगजगी चल्न थाल्यो । पोहोर लक्ष्मण हुमागाइँ मन्त्रालय तानिएको बेला पारेर दीपकमणिहरुले आठ करोडको सामान खरिद गरेका थिए । ती स्टोरमा दाखिला नगरी लेखा प्रमुख कृष्णचन्द्र भट्टराईले भुक्तानी दिए । युनियनको अध्यक्ष पनि बोर्डको सदस्य हुने व्यवस्था छ । स्टोरमा दाखिला नभएको सामान नेपाल टेलिभिजनको रेकर्डमा हुँदैन । आठ करोडमा चार करोड निकासा भइसक्यो । उता, चाइनिज ठेकेदार पेमेन्टका लागि कराएको करायै छन् । अख्तियारमा उजुरी प¥यो । अख्तियारले सञ्चार मन्त्रालयलाई छानवीन गर्न निर्देशन दियो । सञ्चारले उपसचिव गोविन्द बुढाथोकीको संयोजकत्वमा छानवीन समिति बनायो । अहिले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनौट गर्न विज्ञापन खुलेको छ । मन्त्रालयका प्रतिनिधि अनुप नेपाल र दीपकमणिबीच बोलचाल बन्द छ ।

नयाँ महाप्रबन्धक छनौट प्रक्रिया अगाडि बढेपछि बाँकी रहेको चार करोडको भुक्तानी पनि रोकिने कारण छनौटप्रक्रिया नै गलत छ भनेर नेपाल टेलिभिजन अदालत जाने भनी आइतबार अध्यक्ष दाहाल र कामु महाप्रबन्धक धितालले केही विभागीय प्रमुखलाई सुनाएका छन् । विज्ञापनमा आवेदकको योग्यता बाहिरबाट भए मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण र कर्मचारीबाट भए ९ तह पुगेको हुनुपर्ने उल्लेख छ । दीपकमणिहरु सके आफैँ टिक्न, नसके पनि ९ तहमुनिको कोहीलाई बनाउन चाहन्छन् । यसरी यो प्रक्रियाप्रति असहमति जनाउँदै अदालतमा मुद्दा हाल्दा अन्तरिम आदेश हुन्छ र तत्कालका लागि छनौट प्रक्रिया लम्बिन्छ । त्यसबीचमा भुक्तानी सल्टाइहाल्ने योजना हो । सरकारको निर्णयका विरुद्ध सरकारकै एउटा निकाय अदालत जान मिल्छ कि मिल्दैन ?

स्टोरमा दाखिला नभएको सामानको भुक्तानी दिएबापत लेखा प्रमुख कृष्णचन्द्र अमेरिका भ्रमणमा पठाइए । अहिले हङकङमा प्राविधिक इञ्जिनियरका लागि तालिम गर्न पठाउनुपर्नेमा पनि लेखा प्रमुख नै जाँदैछन् । दीपकमणि, महेश र गोविन्दहरुको बेलुकीको बास नजिकमा दरबारमार्गको एक रेष्टुरेन्ट र टाढामा धुलिखेलको मिराबेल रिसोर्टमा हुन्छ । भर्खरै ५–६ करोडको टेण्डर मन्त्रालयको प्रतिनिधि अनुपस्थित भएको बैठकबाट स्वीकृत भएको छ ।

टिप्पणीहरू