एमाले सक्कली कम्युनिष्ट हो कि फेरियो ?

एमाले सक्कली कम्युनिष्ट हो कि फेरियो ?

– अर्जुन श्रेष्ठ

एमालेभित्र सुविचारित तरिकाले धर्मनिरपेक्षता र संघीयता ठीक, बेठीक, आवश्यक, अनावश्यक के हो भनेर बहस प्रवेश गराइएको छ । अब यो बहसलाई सेक्युलरबाहेक अरू सबै दक्षिणपन्थी दल, समूह र व्यक्तिले जोडतोडसँग उठाउनेछन् ।

केही समयपहिले पशुपतिनाथको मूर्तिलाई स्वर्ण लेपन गराउन एमाले अध्यक्ष स्वयं अग्रसर भएका थिए । र, सोही सेरोफेरोमा चितवनमा स्थापना गर्न बालुवाटारबाट प्राणप्रतिष्ठा गरी बाजागाजासहित राम, सीताको मूर्तिलाई ठोरी पठाउने काम भयो । योभन्दा केही समयपहिले प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग आफ्नो केमिस्ट्री मिल्ने वा वेभले¨थ मिल्ने कुरा बताएका थिए । स्मरण शक्ति नमेटिएका जोसुकैले यो कुरा सम्झिरहेकै होलान् भन्ने लाग्छ ।

मालेको अर्थ एमालेको सन्दर्भमा माक्र्सवाद–लेनिनवाद हो । तर, यस पार्टीको वैचारिक उठान भने माओवाद र अझ त्योभन्दा पनि तल पश्चिम बंगालका कम्युनिष्ट नेता चारु मजुमदारको हिंसात्मक आन्दोलनको नक्कलबाट भएको हो । यसैको नक्कल गर्दै व्यक्तिहत्या गर्ने सिलसिलामा हालका एमाले अध्यक्ष रौतहटबाट गिरफ्तारीमा परेका थिए भनिन्छ । तर वर्तमान एमालेको ‘ए’ पछि ‘माले’ को अर्थ पहिलेको मालेको अर्थजस्तै हो र? भन्ने प्रश्न खडा भएको छ ।

मालेले विज्ञानमा विश्वास गर्छ, अन्धविश्वासलाई मान्दैन, एकता– संघर्ष–एकता र रूपान्तरणमा विश्वास गर्छ । धर्म व्यक्तिगत कुरा हो, राज्यको कुनै धर्म हुँदैन र सबै धर्म राज्यको नजरमा समान हुन्छन् भनेर मान्छ । तर, एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले कोरोना लाग्दा बेलौतीको पात खान सिफारिस गर्छन्, मूर्तिमा प्राण भर्ने काम सरकारी निवासमा गर्छन् र मूर्ति सिँगार्न राज्यको ढुकुटीबाट पैसा दिन्छन् । यो मालेको आधारभूत सिद्धान्तविपरीत भयो । भनेपछि यो नयाँ ‘माले’को अर्थ के होला उसोभए, टाटेपाटे ?

यो समय लगभग सबै नेपालीको घरमा समस्या परेको छ । किसान, मजदुर, शिक्षक, यातायात व्यवसायी, पर्यटन तथा होटल व्यवसायी सबै नै अत्यन्तै अप्ठ्यारोमा छन् । तर, राज्य वा यो कम्युनिष्टको सरकारले ती अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई कसरी सहयोग गर्ने, हाललाई जीविका चलाउन कसरी मद्दत गर्ने, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन के–कस्ता सहयोग गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन के–कस्ता सहुलियत उपलब्ध गराउने, के–कस्ता स्टिमुलस कार्यक्रम बनाउने र कसरी सबैलाई प्रोत्साहित गर्ने भन्नेतिर सोच्दै सोच्दैन । उसले ठूला पुँजीपति तथा उद्योगपतिलाई भने यस्तो समयमा समेत नाफा कमाउने वातावरण बनाउनेतर्फ अचाक्ली उदार भएर लागेको देखियो । यो गरिबविरोधी र धनीको समर्थन गर्ने सरकार रहेछ भनेको हो ।

कम्युनिष्ट पार्टीको सरकारले गर्नुपर्ने आधारभूत काम भनेको कुनै पनि नागरिकले आफू वा आफ्नो परिवारको कुनै सदस्य बिरामी परेको बेला उसलाई अस्पताल र उपचारको चिन्ता हुनु नपर्ने स्वास्थ्य प्रणाली बनाउनुपर्ने थियोे । कुनै पनि कारणले कम्तीमा दुईछाक खान, घामपानी र हुरिबतासबाट जोगिन, आफ्ना दुर्ई सन्तान पढाउन चिन्ता लिनु नपर्ने वातावरण बनाउनुपर्ने थियो । यहाँ त ठीक उल्टो भएको छ । राम्रा र गुणस्तरीय शिक्षा दिने भनिएका स्कुल, कलेज र युनिभर्सिटी असाध्यै महँगा छन् ।

त्यहाँ सर्वसाधारण जनताका छोराछोरीले पढ्न सक्ने अवस्था नै छैन । अस्पताल पनि फाइभ स्टार लेवलका छन् जहाँ सामान्यजनले अफोर्ड नै गर्न सक्दैनन् । कामको कुरा पनि उस्तै छ । सरकार देशमा उद्योग धन्दा, कलकारखाना खोलेर पोटेन्सियल भएका युवालाई विदेश जानबाट रोक्ने होइन कि कसरी विदेश पठाउन सकिन्छ र धेरैभन्दा धेरै रेमिट्यान्स भित्र्याउन सकिन्छ भन्ने ध्याउन्नमा छ ।

यी तीन/चार वटा तथ्यलाई हेर्ने हो भने यो दल गणतन्त्रविरोधी छ, अन्धविश्वासमा भर गर्छ, राजनीतिक स्वार्थको निम्ति धर्मलाई पनि प्रयोग गर्न पछि पर्दैन र पैसाले चुनाव जितिने भएकाले पैसा जसले दिन्छ वा दिन सक्छ उसैको स्वार्थमा काम गर्छ भन्ने देखिन्छ ।

अन्त्यमा, एमाले अब धर्मनिरपेक्षता र संघीयता बेठीक हो भन्ने बहस गर्न एकताबद्ध हुने पश्चगमनको यात्रा समात्ने कि यो ठीक हो भन्दै नयाँ बनेर अग्रगमनको यात्रामा लम्किने निर्णय गर्न नसके धेरैले धेरैलाई नपर्खिन सक्छन्, विचार वाञ्छनीय देखियो ।

टिप्पणीहरू