मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले गरे कडा आन्दोलनको घोषणा

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले गरे कडा आन्दोलनको घोषणा

इन्धनको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई दिएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गरिएको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार भोलि पहिलो दिन आयल निगमका सवारी साधन चल्न नदिने, २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनलाई पम्प तथा ट्याङकर सञ्चालन नगर्न अनुरोध गर्ने र ३० गते देशभरका पेट्रोलपम्प र ट्याङकर बन्द गर्ने बताइएको छ ।

विपक्षी गठबन्धनका पाँच राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारि आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता समेत जनाएका छन् । त्यहाँ भएको अनियमितताले प्रतिष्ठान ध्वस्त हुँदै गएको भन्दै विद्यार्थी संगठनले उपकूलपतिको बर्खास्तीको माग गरेको छ ।

आज जारि गरिएको सात बुँदे विज्ञप्तिमा नेपाल वायु सेवा निगमलाई निजीकरण गरेर ध्वस्त बनाउन हवाई माफियासँगको मिलेमतोमा मन्त्रालयका कर्मचारी र महानिर्देशकसमेत लागेको दाबी गर्दै उनीहरुको बर्खास्तीको माग गरिएको छ । साथै निगमका कर्मचारीको आन्दोलनप्रति विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएको छ ।

त्यस्तै, हिमालय इन्सुरेन्सलाई इजाजत दिँदा भएको चलखेलको छानबिन गर्न पनि संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।

टिप्पणीहरू