घनश्याम कोटेश्वरबाट फर्किए पनि बालुवाटारमा कुरेको कुर्यै

घनश्याम कोटेश्वरबाट फर्किए पनि बालुवाटारमा कुरेको कुर्यै

कार्यदलको बैठक चल्दाचल्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएका एमाले नेता घनश्याम भुसाल बैठकस्थल सिंहदरबार फर्किनुभएको छ । भुसाल फर्केसँगै कार्यदलको बैठक पुनः बसेको छ ।

बैठक जारी रहेकै बेला भुसाल अर्थमन्त्रालयको पछाडिको ढोकाबाट निस्केर नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको बताइन्छ । जनाइएअनुसार कार्यदलमा उठेका विषयको जानकारी गराउन उहाँ नेपाल निवास कोटेश्वर जानुभएको थियो ।

यता, कार्यदलले सहमति जुटाउन नसकेपछि बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक साँझसम्मै अनिश्चित बनेको छ । आजै सहमति पत्रमा हस्ताक्षर गरेर स्थायी कमिटीबाट पारित गराउने तयारीस्वरूप ४ बजेका लागि बोलाइएको बैठक कार्यदलको निर्णय कुर्दाकुर्दै सात बजेसम्म पनि बस्न सकेको छैन ।

अध्यक्ष ओली पक्षबाट कार्यदलका संयोजकसमेत रहनुभएका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्गले स्थायी कमिटी बैठकबारे केही पनि बताउनुभएन । उहाँले आफू कार्यदलको बैठकमै रहेको मात्र बताउनुभयो ।

कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा उल्लेख गरिएको भाषाप्रति नेता नेपालले असन्तुष्टि जनाएपछि आज बिहानै सार्वजनिक गर्ने भनिएको सहमतिको दस्तावेज रोकिएको थियो । मस्यौदामा अदालतको फैसलालाई प्रभावित पार्ने भाषा प्रयोग भएको भन्दै नेता नेपालले आपत्ति जनाएपछि भाषा मिलाउन भनेर बिहानैदेखि कार्यदलको बैठक बसेको हो ।

टिप्पणीहरू