माधवको केन्द्रीय समिति रोकियो, ओलीको स्थायी समिति डाकियो

माधवको केन्द्रीय समिति रोकियो, ओलीको स्थायी समिति डाकियो

नेकपा एमाले माधव नेपाल समूहको आज बस्ने भनिएको केन्द्रीय समितिसहितको बैठक एकाएक स्थगित भएको छ । कार्यदलमा रहनुभएका नेपाल समूहका अधिकांश नेताहरु जसरी पनि मिलिहालौं, आजको दिन कटाउन हुँदैन भन्ने आशयले बिहान कोटेश्वरस्थित नेपाल निवासमा प्रस्तुत भएपछि केन्द्रीय समितिको बैठक अनिश्चित भएको हो ।

यसअघि नेपालपक्षीय नेताहरुले आइतबार स्थायी समिति,कार्यदल सदस्य र माननीयहरुबीचको सामूहिक बैठक डाक्नुपर्ने माग गर्नुभएको थियो । हिजो राति भएको स्थायी समितिको भर्चुअल बैठकमा पनि उक्त माग उठेको थियो ।

नेपालपक्षको स्थायी समितिको बैठकअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गरिएको भनिएको सहमतिको ड्राफ्टमा सामान्य संशोधन गरेर बालुवाटारले नेपाल समूहमा पठाएको छ । तर, दिउँसोसम्म उक्त समूहका अधिकांश नेता तथा सांसदलाई सोबारे केही जानकारी गराइएको छैन । बिहान कार्यदलका सदस्यहरु संशोधित ड्राफ्ट बोकेर नेता नेपालकोमा पुग्नुभएको थियो ।

सहमतिको ड्राफ्टमा अदालतमा गरिएको दस्तखतबारे बालुवाटारले खासै चासो नदिएको अर्काथरिले भन्दै आएका छन् । पार्टीमा संस्थागत निर्णयको आधारमा अघि बढ्ने भनेर लेखेपछि भोलि संसद पुनस्र्थापना भएको अवस्थामा स्वतः शेरबहादुरको पक्षमा भोट हाल्न नमिल्ने पक्का हुनेछ ।

२०७५ जेठ २ गतेअघिको केन्द्रीय समिति भनिए पनि त्यसमा थपिएका ४१ जना मनोनित समेत हो भनिएको छ । त्यसरी मनोनित गरिएका धेरै नेता एमालेको नवौं महाधिवेशनमा पराजित हुनुभएको थियो । फागुन २३ गतेपछि एमाले प्रवेश गर्नुभएका पूर्वमाओवादी नेताहरुलाई समेत पार्टीमा सेमेटेपछि त्यसले जेठ २ गतेअघिको अवस्थाको कतैबाट पनि पुष्टि नहुने बताइन्छ ।

कार्यदलमा अमूर्त भाषामा लेखिएको सहमतिको ड्राफ्टमा चित्त बुझाउने नेताहरुलाई विभिन्न आश्वासन दिइएको उतैबाट हल्ला चलाइएको छ । ‘कसैलाई मुख्यमन्त्री,कसैलाई कार्यवाहक अध्यक्ष,गृहमन्त्री र अर्थ मन्त्रीको आश्वासन दिइएपछि उहाँहरु नरम हुनुभएको,’ स्रोतले दाबी गरेको छ ।

यसैबीच अध्यक्ष ओलीले दिउँसो ४ बजेदेखि एमाले स्थायी समिति बैठक बोलाउनुभएको छ । कार्यदलमा भएको सहमतिलाई स्थायी समितिको बैठकले अनुमोदन गर्ने भनिए पनि सहमति नहुँदै बोलाइएको स्थायी समिति बैठकको बारेमा शंका गर्नेहरु पनि छन् ।

टिप्पणीहरू