कार्यविधि मिचेर ऋण सहकारीलाई १ करोड अनुदान ?

कार्यविधि मिचेर ऋण सहकारीलाई १ करोड अनुदान ?

प्रदेश १ सरकारको कृषि मन्त्रालयले आफैँले बनाएको कार्यविधि मिचेर ऋण सहकारीलाई एक करोड रुपैयाँ अनुदान दिएको तथ्य खुलेको छ । कृषि व्यवसाय प्रवर्धन अनुदान कार्यविधि–२०७६ को उल्लंघन गर्दै भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले मोरङको रंगेली ७ स्थित ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.लाई अनुदान रकम वितरण गरेको हो ।

हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भन्ने कार्यविधि विपरित एक करोड रुपैयाँ अनुदान पाएको हो । कृषिसँग सम्बन्धित सहकारीको सट्टा बचत तथा ऋण सहकारीलाई उपलब्ध गराइएको उक्त रकम कार्यविधि विपरित देखिएको छ ।

मन्त्रालयले प्रथम पटक २०७६ साउन २४ र पुस ३ गते सार्वजनिक गरेको सूचनाअनुसार झापा,मोरङ र सुनसरी जिल्लाका हुलाकी मार्गसँग जोडिएका पालिकाहरुमा रहेका दूध उत्पादक कृषि समूह/समिति/सहकारी संघ/संस्थालाई अनुदान प्रदान गर्न प्रस्ताव माग गरिएको थियो । तर, मन्त्रालयले आफ्नै सूचना विपरित बचत तथा ऋण सहकारीलाई प्रस्ताव हाल्न लगाएर उक्त अनुदान रकम चालू आर्थिक वर्षको अन्तमा भुक्तानी गरेको छ ।

२०६६ सालमा स्थापना भएको उक्त सहकारीको रंगेली,धनपालथान, सुनवर्षी पालिका कार्यक्षेत्र रहेको छ । आफनो संरचना नभएको उक्त सहकारीले अनुदान सम्झौता पश्चात् मात्र दूध संकलन केन्द्र स्थापना गरेको हो । सम्झौताअनुसार अनुदानका लागि एक सय जना कृषकलाई गाई वा भैंसी दुईवटा हुनुपर्ने र मापदण्डअनुसार गोठ निर्माण गरेको हुनुपर्ने भनिएको छ ।

हालसम्म ५ जना पशुपालक किसानले मात्र गोठ निर्माण गरेका छन् । अन्यको हकमा घरघरमा पालेका गाईभैंसी गणना गरेर झुक्याइएको छ । मन्त्रालयका तर्फबाट अनुगमनकर्ता वरिष्ठ पशु विकास अधिकृत डा. पशुपति ढुंगाना र पशु चिकित्सक कुमारसिंह खत्रीले अघिल्लो साता बुधबार रकम भुक्तानीका लागि सचिवसमक्ष निवेदन स्वीकृत गराएर रकम समेत निकासा गराइसकेका छन् ।

टिप्पणीहरू