सर्वहारा कामरेडको संलग्नतामा…

गम्भीर प्रकृतिको रोग लाग्दा पनि भारत उपचार गराउन नजाने अडान लिएका  उपराष्ट्रपति नन्दबहादुर पुनका जेठा छोरा जीतेन्द्र (फेमस) ले स्थानीय माओवादी तथा केही डनलाई साथ लिएर ललितपुरको डुकुछापमा बालुवा खानी सञ्चालन गरेका छन् । उपत्यकामा बालुवा उत्खनन प्रतिबन्धित भएका वेला माओवादी समर्थक प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माको आडमा खानी सञ्चालन थालेका हुन् ।

विगतमा कांग्रेस नेता केवलबहादुर लामाले बालुवा खानी सञ्चालनमा ल्याउन लाग्दा अवरोधमा लाग्ने स्थानीय डन र माओवादीका समानुपातिक सभासद् योगेन्द्र घिसिङलाई समेत साथमा लिएर उपराष्ट्रपति पुत्रले बालुवाखानी शुरु गरेपछि कांग्रेस र माओवादीले डुकुछाप आसपास  राज गर्दै आएका छन् । स्थानीय सुकराम लामाको नामबाट सञ्चालित व्यवसायको साइनो उच्च नेतृत्वमा जोडिएपछि जिल्ला विकास समितिलगायत निकायले आँखा चिम्लेको छ । अवैध बालुवा तथा ढुंगा उत्खननको विरोध गर्दै आएको एमालेका स्थानीय केही नेतालाई समेत आस र त्रासमा फसाएर बालुवा उत्खनन थालिएको भन्दै आसपासका स्थानीय उजुरीमा लागेका छन् । उनीहरू उजुरी गर्न आउँदा प्रजिअले जिविस वा उद्योग कार्यालयमा जानू भन्दै फर्काएको बताइन्छ ।

स्थानीय विकास अधिकारी हरि दाहाल ललितपुर आएपछि ढुंगाखानी र बालुवा तस्करीका लागि स्वर्ग भएको छ । उनी अनुगमनका नाममा खानी तथा क्रसर क्षेत्र घुमेर फर्किएपछि नख्खु खोलामा एउटा नयाँ क्रसर खोला मिचेर शुरु भएको छ भने सभासद्कै संलग्नतामा खुलेको खानीले दैनिक सयौं ट्रिपर बालुवा ओसारिरहेको छ ।

स्थानीयको लामो आन्दोलनपछि चापागाउँको टाहाखेल र लेले क्षेत्रबाट उठाइएका क्रसरको जालो विस्तारै नख्खुतिर सोझिएको हो । लेलेबाट सनराइज होम्ससँगै नख्खु निस्किएपछि रोडा–गिट्टी व्यवसायीले खोलो अतिक्रमण गर्न थालेको भन्दै स्थानीय विरोधमा देखिएका छन् । मीनकृष्ण महर्जन गोलीकाण्डको आरोपितका रूपमा केही समय थुनिएका रोडा व्यवसायी मधु डोटेलले उद्योग दर्ता र अनुमति नलिइकन चुनीखेलमुनिको नख्खुखोला किनारामा क्रसर मेसिन जडान गरेर काम थालेका हुन् । ग्रेड गर्ने मेसिन मात्रै जडान गरेको भनिए पनि फ्रेस ढुंगा फोड्ने काम भइरहेको स्थानीयले बताए । यहाँ क्रसर राख्दा जिल्ला विकास समितिले कर संकलनका लागि राखेको ढाटसमेत छल्ने काम भएको छ ।

टिप्पणीहरू