कार्यदललाई कुरा टुङ्ग्याउन कठिनाइ

कार्यदललाई कुरा टुङ्ग्याउन कठिनाइ

एमालेको आन्तरिक एकता कायम गर्न गठित कार्यदलले तयार पारेको मस्यौदामा उल्लेख भाषाप्रति वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएपछि आज सार्वजनिक गर्ने भनिएको सहमतिको दस्तावेज बिहान ८ बजे सार्वजनिक हुनबाट तत्काल रोकिएको छ । मस्यौदामा अदालतको फैसलालाई प्रभावित पार्ने भाषा प्रयोग भएको भन्दै नेता नेपालले आपत्ति जनाएपछि तत्कालका लागि सहमति रोकिएको हो ।

केही दिनयता लगातार बसिरहेको कार्यदलको बैठकले हिजो साँझ सहमतिको मस्यौदा तयार गरेको बताइएको थियो । सहमतिलाई अन्तिम रुप दिएर आज सार्वजनिक गर्ने कार्यदलका सदस्यहरुले बताएका थिए ।

तर,आफूपक्षीय कार्यदलका सदस्यहरूसँग आज बिहान आफ्नै निवासमा छलफल गर्नुभएका नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने गरी आफूले कुनै सम्झौता नगर्ने प्रष्ट अडान राखेपछि कार्यदलको बैठक फेरि बसेको छ । आजको बैठकले भाषा परिमार्जन गरेर सहमतिलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले बताए ।

बुझिएअनुसार अदालतको फैसलालाई प्रभाव पार्ने भाषा हटाउने र ओलीकै बराबरी अधिकार हुने गरी दुईपक्षीय शक्ति बाँडफाँडमा कुरा नमिल्दासम्म नेता नेपाल हस्ताक्षर गरिहाल्ने पक्षमा हुनुहुन्न । बिहानको छलफलमा पनि नेता नेपालले त्यहि बटमलाइन सुनाएपछि अहिले सिंहदरबारमा बसिरहेको कार्यदल वैठक त्यसैमा केन्द्रित भएको बताइएको छ । कार्यदलले सहमति सिफारिस गर्ने हो,अन्तिम रुप दिने दुई नेताले हो ।

नेपाल पक्षका अधिकांश नेता अध्यक्ष ओलीले विगतमा पटक-पटक धोका दिएकाले हतारमा सहमति गर्न नहुने पक्षमा छन् । सहमतिपछि पनि ओलीबाट हिजोजस्तै धोका हुँदैन भन्ने कुराको ग्यारेन्टी खोजिएको एक नेताले बताए । त्यसका लागि ओली र नेपालकै तहमा छलफल हुनुपर्ने र विधान संशोधन गरी दुई अध्यक्ष राखेर कुनै पनि निर्णय गर्दा दुवै अध्यक्षको हस्ताक्षर अनिवार्य गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओली भने नेपाल पक्षको उक्त मागमा सहमत भैनसकेको बुझिएको छ । पावर सेयरिङ्गमा कुरा नमिले एमाले विवाद तत्काल समाधान हुने देखिंदैन । यद्यपि कार्यदलका सदस्यहरुले भने आजै सहमति गरेर हस्ताक्षर हुने दाबी गरेका छन् ।

टिप्पणीहरू