जित्ने अर्जेन्टिना,गाली खाने डा.बाबुराम

जित्ने अर्जेन्टिना,गाली खाने डा.बाबुराम

दक्षिण अमेरिकी राष्ट्रहरूको फुटबल प्रतियोगिता कोपा अमेरिकाको आज बिहान भएको फाइनलमा ब्राजिललाई हराउँदै अर्जेण्टिनाले उपाधी जितेको छ । २८ वर्षपछि उक्त उपाधी जितेको अर्जेण्टिना र उसको विश्वविख्यात खेलाडी तथा टिम क्याप्टेन लियोनल मेसीलाई सबैले बधाई दिएका छन् ।

घरेलु मैदानमा पराजित ब्राजिल र उसको चर्चित खेलाडी नेयमारप्रति पनि धेरैले सहानुभूतिका शब्द खर्चेका छन् । नेपालमा ब्राजिल, अर्जेण्टिना तथा मेसी र नेयमारका थुप्रै समर्थक छन् । त्यहि क्रममा पूर्व प्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले केहीबेर अघि गर्नुभएको ट्वीटमा मेसी र नेयमार दुबैलाई जितेकोमा बधाई दिनुभएको छ । तर वास्तविकता चाहिँ अर्जेण्टिनाले शून्यको बिरुद्ध १ गोलले जितेको हो भने ब्राजिलले प्रतियोगिता हारेको हो ।

हारेको मुलुक र उसका खेलाडीलाई समेत जितेको भन्दै दुबैलाई बधाई दिएपछि सामाजिक सञ्जालमा डा. भट्टराईको चर्को बिरोध भएको छ । भण्डारी रामचन्द्रले लेखेका छन्, ‘राजनीति जस्तै यहाँ नि गर्दिनी पार्टी मात्र चेञ्ज गर्ने मान्छे हजुर..बधाई त विजेतालाई दिनुपर्यो नि । आफूले २, ३ वटा अध्यक्ष राखेजस्तै फुटबलमा नि गर्दिनि ।’

त्यसैगरी निरञ्जनले पनि डा. भट्टराईको आलोचना गर्दै लेखेका छन्, ‘तिम्रो दोधारे नीति र जता पनि ठिक्क पार्ने बानीले जनता दिक्क भैसके बूढा..।’

रातिको खेलमा अर्जेन्टिनाका एन्जल डी मारियाले २२ औं मीनेटमा गरेको गोल नै निर्णायक भएको हो । लामो समयसम्म उपाधि हात पार्न नसकेको अर्जेण्टिना र मेसीलाई पछिल्लो जीतले राहत दिलाएको छ ।

अर्जेन्टिना कोलम्बियालाई पेनाल्टीमा हराएर फाइनलमा पुगेको थियो भने ब्राजिलले पेरुलाई हराएको थियो ।

टिप्पणीहरू