एमालेमा अहिलेसम्मको प्रगति के,अब हुने के ?

एमालेमा अहिलेसम्मको प्रगति के,अब हुने के ?

आज बिहान आठ बजे एमालेको विवाद मिलाउन गठित कार्यदलले सबै पक्षसङ्ग सहमति लिएर सार्वजनिक गर्ने भनिएको एउटा खेस्रा हिजो साँझदेखि दुबै पक्षबीच घुमिरहेको छ । त्यहि खेस्रा जस्ताको तस्तै पारित गर्न माधव नेपाल पक्षले अनिच्छा देखाएको बुझिएको छ । स्रोत भन्छ,‘ड्राफ्टमा काइते भाषा छ ।’

हिजो राति ७ देखि ११ बजेसम्म चलेको नेपाल पक्षको भर्चुअल स्थायी समिति बैठकमा जानकारी गराइएअनुसार बालुुवाटार पूर्णरुपमा २०७५ जेठ २ गतेअघिको अवस्थामा जान मानेको देखिँदैन । गत फागुन २३ गतेपछिका एकल निर्णयहरु खारेज हुनेवारे पनि त्यसमा उल्लेख छैन ।

अदालतको मुद्दाको सन्दर्भमा फैसलापछि विधिसम्मत र संस्थागत निर्णय गरेर जाने भन्ने भाषा परेको छ । त्यसलाई बहुमतले निर्णय गर्ने र मुद्दा हाल्नेहरुलाई पेल्दै जाने रणनीतिका रुपमा अर्को पक्षले बुझेको छ ।

“हिजो राति ७ देखि ११ बजेसम्म चलेको नेपाल पक्षको भर्चुअल स्थायी समिति बैठकमा जानकारी गराइएअनुसार बालुुवाटार पूर्णरुपमा २०७५ जेठ २ गतेअघिको अवस्थामा जान मानेको देखिँदैन । गत फागुन २३ गतेपछिका एकल निर्णयहरु खारेज हुनेवारे पनि त्यसमा उल्लेख छैन ।”

सहमति जुटाउन आज बिहान कार्यदलका नेपालपक्षीय सदस्यहरु वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुग्नुभएको छ । त्यहि ड्राफ्ट देखाउन उहाँहरु बिहानै जनै खटिराले बिमार रहनुभएका नेपाल निवास जानुभएको बताइन्छ । कार्यदलबाट सुझावको रुपमा आउने सहमतिलाई मान्ने वा नमान्ने सम्बन्धित नेताहरुको क्षेत्राधिकार भएकोले दुई नेता बसेर मन नमाझी यसै होला भन्न सकिन्न ।

हिजो माधवपक्षीय कार्यदल सदस्य र स्थायी समितिको बैठक साँझ ७ बजेदेखि राति ११ बजेसम्म भएको थियो । त्यहाँ सबैले आफ्ना धारणा १० मीनेटका दरले राख्नुभयो । कार्यदलका सदस्यहरुले अहिले यतिमै सहमति गरेर जाऊँ,भित्रै गएर लडौँ भनेको तर पुराना नेताहरुले चाहिँ यावत उदाहरण दिँदै अहिलेको समस्याबाट उम्किएका ओलीले धोका र आश्वासनको आफ्नो सनातन धर्म नछाड्ने कुराको ग्यारेन्टी खोजेको बुझिएको छ । कार्यदलका सदस्यमध्ये रघुजी पन्तको धारणा अरुकोभन्दा फरक रहेको छ ।

“फैसलापछि विधिसम्मत र संस्थागत निर्णय गरेर जाने भन्ने भाषा परेको छ । त्यसलाई बहुमतले निर्णय गर्ने र मुद्दा हाल्नेहरुलाई पेल्दै जाने रणनीतिका रुपमा अर्को पक्षले बुझेको छ । “

पन्तले अदालतको मुद्दाको बारेमा नबोलौं भन्दै आउनुभएको छ । त्यसमा सहमति नभएपछि कार्यदलको बैठकबाट समेत उहाँ निस्कनुभएको थियो । कार्यदलको सहमति प्रस्तावमाथि अब नेपालपक्षीय नेताहरुले केन्द्रीय समितिका सदस्यहरुसँग पनि थप वार्ता र सम्वाद गर्नुपर्ने आवाज उठाउनुभएको छ ।

कार्यदलको सहमतिपछि हिजै राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हस्ताक्षर हुने भनेर प्रचारसमेत गरिएको थियो । नेपालपक्षीय एक जना केन्द्रीय सदस्यका अनुसार आज कार्यदल सदस्य,स्थायी समिति,केन्द्रीय कमिटी र सांसदहरूको संयुक्त बैठक गर्नुपर्ने आवाज उठेको छ । उहाँहरुको मागलाई नेता नेपालले समेत हिजो ‘हुन्छ’ भन्नुभएको थियो ।

अहिले यतिमै सहमति गरेर जाऊँ,भित्रै गएर लडौँ भनेको तर पुराना नेताहरुले चाहिँ यावत उदाहरण दिँदै अहिलेको समस्याबाट उम्किएका ओलीले धोका र आश्वासनको आफ्नो सनातन धर्म नछाड्ने कुराको ग्यारेन्टी खोजेको बुझिएको छ ।

उनै केन्द्रीय सदस्यका अनुसार कार्यदलमा रहनुभएका सदस्यहरूले सोझै अध्यक्ष ओलीसहितको स्थायी कमिटीमा जाने निधो गर्नुभए पनि अरु नेताले नमान्ने देखिएपछि सकभर आजै केन्द्रीय कमिटीको बैठकसमेत बस्नुपर्ने आवाज उठेको हो ।

टिप्पणीहरू