बैठकमा नेता यसरी बाझ्छन्

केपी ओलीले प्रचण्डलाई सोधे, ‘प्रतिपक्षीहरु प्रतिगमनको हतियार बने भनेर तपाईंले प्रधानमन्त्रीको हैसियतले भन्या कि पार्टी अध्यक्षको नाताले ? यो कुरा पहिला प्रष्ट पार्नुस् ।’ उपाध्यक्ष वामदेव गौतमले आइतबार युवा संघको एक विभागले आयोजना कार्यक्रममा गरेको भाषणलाई उद्धृत गर्दै प्रचण्डले भने, ‘वामदेवजीले संघीयता नै खारेज भइसक्यो भन्नुभा’छ !’

ओलीले वामदेवको डिफेन्ड गर्दै भने, ‘उहाँले खारेज होइन, सुधार गर्नुपर्छ भन्नुभा’हो । अपव्याख्या गर्ने ?’ अनि, वामदेव आफैँ बोल्न थाले, ‘के यो संघीयता भनेको क्रान्तिको विषय हो ? पुँजिवादी अधिकारहरु राजधानी केन्द्रित भए । त्यसलाई सुधारेर विकेन्द्रिकरण गर्ने हो, संघीयता भनेको । यसका आफ्ना मोडल छन् । पाँच–सातवटा देशमा राजासहितका संघीयता छन् । पाकिस्तानमै पनि संघीयता छ ! तर, त्यहाँ कतिचोटि सैनिक शासन लागु भइसक्यो ? यो भनेको फौजी शासक, राजादेखि सबैलाई टाकटुक पार्ने व्यवस्था भयो ।’ रुसका प्रत्येक गणराज्यपिच्छे आफ्ना राष्ट्रपति र अलग्गै संविधान छन् । तर, ती सबलाई कन्ट्रोल गर्छ कसले त भन्दा पुटिनले ! भारतमा पनि २९ वटा राज्यलाई राष्ट्रपतिले गभर्नर (राज्यपाल) मार्फत चलाउँछन् । हामीले चाहिँ कतैको कुरा सिक्दै नसिकी, यसरी लादेर बनाउनुहुन्छ ? हाम्रो अनुकूलको संघीयता बनाऔँ भनेर भन्न नपाइने ?’

यस्तो गलफत्ति चलेको हो, सोमबार अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रस्थित सभामुखको कार्यकक्षमा । तीन दलका ठूला नेताबीच संसदीय गतिरोध अन्त्य गर्नेबारे छलफल चलिरहँदा कांग्र्रेस सभापति शेरबहादुर देउवाले बबाल गरे, ‘पाँच नम्बरको सिमाना यताउता गर्दैमा कहाँ राष्ट्रघात हुन्छ ?’ भन्दै । वामदेवले बोल्न खोज्यो कि, हल्ला गरेर बोल्न नदिने कराउने ‘देश कसरी टुक्रिन्छ ? हाम्रो क्षेत्रमा थारुहरु पछि आएका हुन् !’ वामदेवले भने, ‘थारुको माग के छ, तपाईंलाई थाहा छ ? कैलाली, कञ्चनपुर दिनुहुन्छ ?’ देउवाले भने, ‘कहाँ दिन्छु ? देश कसरी टुक्रिन्छ ?’ वामदेवले भने, ‘मैले सारा थारूसँग कुरा गरेँ । उनीहरु पाँच नम्बरमा मिसिन तयार छन् । राप्ती र लुम्बिनीका तीन जिल्लालाई ठीकै भा’थ्यो । किन जबरजस्ती टुक्र्याउनु प¥यो ? त्यसोभए कैलाली, कञ्चनपुर दिनुस् न त !’

देउवा फेरि कराए, ‘त्यसरी कहाँ हुन्छ ? हुँदैन !’ यसरी देउवासँग एमालेहरुको घच्चाघच्ची नै प¥यो । एमालेको भनाइ संविधान संशोधन विधेयक थाती राखौँ, निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाऔँ भन्ने थियो । सरकारले प्याकेजमा दुबै विषय छिराएर ल्याउन खोजेको र गोलमटोल पारामा अनुमोदन गराएर जाने दाऊ रचेको एमालेको आरोप थियो । एमालेले चुनाव चाहेन, कानुन ल्याउन दिएन भन्ने पारेर भ्रम फैलाउने प्रधानमन्त्रीको अभिव्यक्तिबारे पनि कुरा चल्यो । देउवाको भनाइ थियो, ‘हिजो तपाईं–हामी मिलेर यो सीमा हेरफेरको कुरा ल्याएको होइन र ?’ एमालेहरुले भने, ‘तपाईंहरुसँग अरु तर्क छैन ? हिजो ल्याएको, हिजो ल्याएको मात्र भनिरहने ? हो, हिजो ल्याएको हो । राष्ट्रघात हुन्छ भनेर पछि हटेको हो !’

सोही भेटघाटमा प्रचण्डले भनेका छन्, ‘संशोधन प्रस्ताव पास नभए पनि मलाई चिन्ता छैन । मधेसी आउन्, नआउन्सँग पनि मलाई मतलब छैन । तर, छिर्न त दिनुस् न ! फेल हुन्छ भन्ने त मैले पनि बुझ्या छु †’ प्रचण्डको यही भनाइले पनि बुझ्न मुस्किल छैन, उनी संशोधन प्रस्ताव अघि बढाइनुपर्ने चाहनामा हैन, बाध्यतामा छन् ।

टिप्पणीहरू