एमालेबाट यो कुरा सिके हुन्छ अरुले

  • प्रेमराज सिलवाल

पार्टी अध्यक्ष स्वयं प्रमुख रहेको स्कुल विभागले भ्रातृ संगठनको केन्द्रीय सचिवालयमा रहेकादेखि वैकल्पिक केन्द्रीय सदस्यसम्मलाई विभिन्न चरण र समयमा विज्ञबाट प्रशिक्षण दिने कार्य जारी राखेको छ ।

नीति, विचार र दृष्टिकोण नभएको, सिद्धान्तद्वारा गाइडेड नरहेको, अनुशासन, प्रणालीमा नढालिएको पार्टी संगठन रत्नपार्कको भीडसिवाय केही हुन्न । जसरी बगरमा दौडिएको पानीको कुनै मूल्य हुन्न र सानो मूलको भए पनि निश्चित कुलोबाट लगेर सिञ्चाइका लागि उपयोग गर्न सकिने पानीको ठूलो अर्थ र महत्व हुन्छ त्यसैगरी पार्टीको शक्तिलाई पनि अराजक, भद्दा बन्नबाट रोक्न व्यवस्थित, लक्ष्यपूर्ण प्रशिक्षण चाहिएको हो ।

पार्टीका प्रत्येक कमिटी समाजकै एकाइबाट गएका मानिसको समूह हो भने सिद्धान्तत ः पार्टीका जुनसुकै संगठनले गर्ने कार्यक्रम पनि समाजकै उन्नति, भलाइ, सुविधाका लागि हुने भएकाले समाज र पार्टीका संगठनलाई अन्तरसम्बन्धित विषय मानिएको छ । पार्टी व्यवस्थामा भोलि निर्वाचित वा मनोनयनको माध्यमबाट स्थानीय निकाय, प्रदेश, संसद्, विभिन्न स्थानमा समाजका अगुवा मान्छे नै आउने भएकाले पनि तिनले लिने व्यावसायिक तालिमले समाजको विकास, समृद्धिमा प्रत्यक्ष÷अप्रत्यक्ष भूमिका खेलेको हुन्छ । बैठक, सेमिनार, गोष्ठी, पार्टीका आमसभाजस्ता कार्यक्रम पनि एकप्रकारको प्रशिक्षण नै भए पनि व्यावसायिक प्रशिक्षणका आफ्नै नियम हुन्छन् ।

कतिपय पार्टीले प्रशिक्षणका नाममा कार्यकर्तालाई उल्लु पनि बनाउने गरेका छन् । जस्तोसुकै उमेर, शैक्षिक योग्यता, कमिटीगत हैसियत भएकालाई तथा सामान्य नागरिक समेतलाई एकै पटक भेला गराएर कुनै सरकारी स्कुल वा स्थलमा दलको नेताले विज्ञान, खेलकुद, राजनीति, राष्ट्रिय÷अन्तर्राष्ट्रिय घटना, इतिहास, निर्वाचन, संघीयता, संविधान, मानवअधिकारजस्ता विषयमा थाहा पाएको, घोकेको, जानेको÷नजानेको, सुनेको जे–जस्तो पनि विषयमा केही घण्टा दिने पीडादायक भाषणलाई प्रशिक्षण भन्ने गरेको देखिन्छ । यस्तो प्रशिक्षण अर्थपूर्ण, प्रभावकारी बन्नुको सट्टा समय, स्रोतको बर्बादीबाहेक केही हुँदैन । माओवादी पार्टी ‘एकीकृत’ छँदा बढी प्रचलनमा ल्याइएको यो तरिकाको प्रशिक्षणले आखिर उसैलाई प्रत्युत्पादक बनायो । त्यो पार्टीको त्यस्तो उराठलाग्दो तालिम ‘केन्द्र’ सम्म आइपुग्दा पनि उस्तै देखिन्छ भने उसैबाट विभाजित बुद्धिजीवी डा. बाबुरामको ‘नयाँशक्ति’ समेत उस्तै रोगले ग्रस्त छ ।

शंकर पोखरेल उपप्रमुख रहेको एमाले स्कुल विभागले एक वर्षदेखि काठमाडौंमा सञ्चालन गर्दै आएको प्रशिक्षण एउटा उत्कृष्ट व्यावसायिक आइएनजिओले सञ्चालन गर्ने कोटीको छ । भ्रातृसंगठनको केन्द्रीय सचिवालयमा रहेका व्यक्तिबाट थालनी भएको प्रशिक्षणले अनेरास्ववियु, युवासंघ, अखिल नेपाल महिला संघ, जनसाँस्कृतिक महासंघ, मुस्लिम इत्तेहाद संगठन, पेशागत महासंघ र प्रेस चौतारी, खेलकुद महासंघलगायतलाई प्रशिक्षित गरिसकेको छ भने वैकल्पिक केन्द्रीय सदस्यसमेतलाई तालिम दिएको छ । कम्तीमा एक हप्ताको उक्त तालिम÷प्रशिक्षण प्रत्येक विषयमा दुई घण्टाको हुने गरेका छन् । प्रत्येक दिन दुई जना विज्ञले तालिम दिएकोमा विषयगत दक्षता, क्षमता र ज्ञान भएकाबाट निश्चित विषयमा तोकिएको तरिकाबाट प्रशिक्षण दिने गरिएको छ ।

पार्टी प्रशिक्षण निश्चित समयमा शुरु हुने, निश्चित समयमा सकिने, प्रश्न गर्नका लागि निश्चित समय प्रदान हुने, प्रशिक्षणपछि त्यसको प्रिन्टकपी दिइने, डिस्प्ले बोर्डमा तस्बिर र सामग्री देखाइने, मार्करले लेखेर पनि बुझाइने, प्रत्येक प्रशिक्षकको सहभागीबाट लिखित मूल्यांकन हुने, खाजा–नास्ताको पैसा सहभागी स्वयंले तिर्नुपर्ने, हलबाहिर निस्कँदा निश्चित कार्ड प्रयोग गरी जान सकिने र अर्काे गएको समयमा जानै नपाइने, तालिममा हात उठाएर मात्र बोल्न पाइने, प्रत्येक सहभागीले लेख्ने गर्नुपर्नेजस्ता विशेषता छन् । प्रशिक्षार्थीले प्रत्येक दिन पूरा समय तालिममा बस्नैपर्ने, प्रत्येकको दक्षता, योग्यतासहितको पूर्ण विवरण भर्नुपर्ने, अन्तिम दिन प्रत्येकले परीक्षा दिनुपर्ने व्यवस्था छ । यस्तो तालिमले देशको लोकतान्त्रिक पार्टीलाई मात्र होइन, त्यसको माध्यमबाट समाजलाई पनि योगदान दिन सक्छ ।

टिप्पणीहरू