पुनः एमाले

अहिले फेरि एमाले प्रवेशको लहर छ । देशका विभिन्न ठाउँबाट सयौं कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन् । कोही पहिले छाडेर गएकाहरू फर्किरहेका छन् । कोहीचाहिँ अरू पार्टी छाड्दै आइरहेका छन् ।

त्यसो त चैत लाग्न लाग्यो कि एमाले प्रवेशको लहर शुरु भइहाल्छ । यो अहिलेको कुरा होइन । उहिल्यैदेखि चल्दै आएको छ ।

तैपनि, अहिले जो एमाले प्रवेशको लहर चलिरहेको छ । त्यो भने अलग्गै खालको छ । एक पुराना कार्यकर्तासँग अस्ति प्रवेश कार्यक्रममै भेट भयो । उनी पुराना एमाले कार्यकर्ता हुन् । एकचोटि छाडेर गइसकेका । अहिले फेरि फर्केर आएका । सोधेँ, ‘के छ कमरेड, किन फर्किनुभएको ?’
उनले भने, ‘एमाले फेरि पुरानै स्थानमा आइपुग्यो नि, त्यही भएर पुरानै पार्टीमा फर्केको ।’

‘ए…। तर, यो पुरानो स्थान भनेकोचाहिँ के हो नि कमरेड ?’ कुरा नबुझेर सोधेँ ।

उनले स्पष्ट गरे, ‘एमाले भनेपछि पहिले–पहिले खुबै सडकको बार तोड्ने, इँटा हान्ने काममा नामी थियो । हामी पनि खुब रमाउँथ्यौं । बीचमा एकपटक यस्तो सबै काम छाड्यो । एमालेले उपद्रो छाडेपछि मैले पनि पार्टी छाडेँ । के काम त्यस्तो पार्टीमा बसेर । तर, अहिले फेरि पार्टी पुरानै लाइनमा फर्केको छ । ठाउँ–ठाउँमा पुनः डाङडुङ शुरु गरेको छ । त्यही भएर म पनि पुरानै पार्टीमा फर्केको । म पनि अब एमालेमै बसेर देशमा केही गर्न चाहन्छु । ठीक गरिनँ त कमरेड ?’

‘ओहो, बहुत ठीक गर्नुभयो,’ मैले तारिफ गरेँ । डाङडुङबाट प्रभावित भई एमाले प्रवेश गरेका एक डाङडुङवादी कार्यकर्तासामु योबाहेक अर्थोक भन्ने हिम्मत पनि ममा थिएन ।

टिप्पणीहरू