एमाले हुँ, एमाले होइन

एमाले हुँ, एमाले होइन

एमाले भएका माओवादी नेताहरूले एमालेको नामै परिवर्तन गर्ने प्रस्ताव केपी ओलीसमक्ष राख्नुभएको रहेछ । उहाँहरू के दशा बिग्रिएर खुरुक्क एमाले त हुनुभयो ।

तर, एमाले भए पनि आफूलाई एमाले भन्न भने मन पराउनुभएन । त्यसैले उहाँहरू चाहनुहुन्छ कि अब एमालेको नामै परिवर्तन होस् । एमालेको नयाँ नाम त उहाँहरूले प्रस्ताव गर्नुभएको छैन । यदि, प्रस्ताव गर्ने मौका मिल्यो भनेचाहिँ सायद ‘एकीकृत माओवादी’ भन्ने नै राख्नुहुन्छ होला ।

नाम मात्र होइन, उहाँहरूले एमालेको राजनीतिक सिद्धान्त पनि फेर्न सुझाव दिनुभएको रहेछ । जबजप्रति उहाँहरू सहमत हुनुहुन्न रे ! त्यसैले अर्कै सिद्धान्त चाहियो रे ! अर्को भनेको के ? उही प्रचण्डपथै त होला नि !

नाम फेर्ने प्रस्ताव पनि आयो, सिद्धान्त फेर्ने प्रस्ताव पनि आयो । अब बाँकी भनेको अध्यक्ष फेर्ने प्रस्ताव मात्रै हो । त्योचाहिँ कहिले आउने हो कुन्नि !

हैन, उहाँ पूर्व माओवादी कमरेडहरूले आफू एमालेमा पसेको हो कि एमालेलाई आफूभित्र पसाएको हो ? कुरो के हो हँ ?

टिप्पणीहरू