राप्रपामा रेखा

आखिर माओवादीको सबैभन्दा ठूलो आकर्षण पनि फुस्केर गयो । अब त्यो पार्टीप्रति मेरो कुनै आस्था रहेन । अध्यक्ष प्रचण्ड त्यत्रो बिग्रँदा पनि रेखा थापा त छिन् नि भनेर बसिरहेको थिएँ । अब रेखा थापाले पनि पार्टी त्याग गरेपछि मैले पनि माओवादी त्याग्ने सोचिरहेको छु ।

यो मैले होइन माओवादीकै एक अत्यन्त आस्थावान् कमरेडले हिजो मलाई भनेको । बरु बाबुराम भट्टराईले पार्टी छाड्दा उनी यति निराश भएका थिएनन् जति कि रेखा थापाले पार्टी छाड्दा भएका छन् ।

अन्ततः रेखा थापा पनि कमल थापातिर लागिन् । अस्ति उनले माओवादी छोडेर राप्रपा ‘ज्वाइन’ गरेकी हुन् । रेखा थापा राप्रपातिर लाग्दाको सिधै असर डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई पर्ने सम्भावना छ । किनकि नयाँ शक्तिकी हिरोइन करिश्मा मानन्धर रेखा थापा जतिको नयाँ होइन । बाबुरामसँग पार्टी नयाँ भए पनि हिरोइन भने नयाँ थिएनन् । नयाँ हिरोइन त अहिले राप्रपातिर छन् ।

त्यसैले करिश्माको मुख हेरेर (अथवा हेर्न) जति पनि कार्यकर्ता नयाँ शक्तिमा लागेका थिए, ती सबै रेखा थापालाई हेर्न राप्रपातिर लाग्ने सम्भावना बढेको छ । डाक्टर सा’ब, होश गर्नुस् है ! स्थिति खराब छ ।

टिप्पणीहरू