लोडसेडिङ नभएर दुःख

राजधानीमा अचेल लोडसेडिङ छैन । त्यसो त राजधानीमा सुखशान्ति पनि छैन । चैन छैन । सुरक्षा छैन । शुद्धता छैन । तर यो जम्मै ‘छैन’ हरूलाई राजधानीले पचाइसक्यो । पचाउन नसकेको चाहिँ ‘लोडसेडिङ छैन’ मात्रै हो । अहिले जता हेरे पनि यही कुरा छ– आहा, अहिले त लोडसेडिङ छैन है ?

राजधानीमा लोडसेडिङ गएपछि खुशियाली आएको छ । लोडसेडिङ गयो, खुशियाली आयो । लोडसेडिङ गएर पनि खुशियाली नआएको चाहिँ मेरा मित्र भजनलाई मात्रै हो । मंसिरको महिना । भजनको बिहे पनि यही महिना भएको थियो ।  एक सातापछि भजनसँग भेट भयो । बिहेपछि त बहुत खुशी हुनुपर्ने हो । तर अनुहार निन्याउरो थियो । सोधेँ, ‘के भयो भजन, बिहेपछि पनि उदास छौ ?’

भजन झनै उदास देखियो । भन्यो, ‘बिहे गरेर के गर्नु यार ! लोडसेडिङ नभएर हैरान छ ।’

‘किन ?,’ मैले आश्चर्य मान्दै सोधेँ, ‘तिमीहरू भाग्यमानी रहेछौ । भर्खर भर्खर बिहेको बेला देशमा सोह्र सोह्र घन्टा लोडसेडिङ थियो । अहिले त रातभरि झिलिमिली बत्ती बलिरहन्छ । बिहे गर्नुको के  अर्थ ?’

निराश भजन, पुनः निराश हुँदै गयो । बिचरा नवविवाहिता ! लोडसेडिङ नहुनुबाट पीडित रहेछ !

टिप्पणीहरू