कोरोनाले लानेमा अधिकांश ४० वर्षमाथिका

कोरोनाले लानेमा अधिकांश ४० वर्षमाथिका

कोरोनाका कारण धादिङमा ७४ जनाले ज्यान गुमाएका छन् । २०७७ सालको पहिलो लहरको महामारीमा १७ जना बितेका थिए । २०७८ को दोस्रो महामारीमा भने ५७ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ६० जना पुरुष र १४ जना महिला छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार महिलाभन्दा पुरुषको संख्या ५ गुणाले बढी छ । अधिकांश ४० वर्षमाथिका छन् । ६० वर्षमाथि वृद्ध उमेरका ३३ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । ४० वर्षमुनिका ज्यान गुमाउनेको संख्या ९ छ । कोभिडका कारण धादिङमा बालबालिकाले भने ज्यान गुमाउनुपरेको छैन ।

कोभिड संक्रमणबाट खनियाबास गाउँपालिकाबाहेक सबैले मानवीय क्षति व्यहोर्नुपरेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए । ज्यान गुमाउनेमा नीलकण्ठ र धुनिबेंसी नगरपालिकाका धेरै छन् । सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाका २० जना र धुनिबेंसीका १३ जनाले ज्यान गुमाएका छन् ।

असार १८ गतेको तथ्यांकअनुसार धादिङमा ५ सय ६४ जना सक्रिय संक्रमित उपचाररत छन् । एन्टिजेन र पिसिआर प्रविधिमार्फत ६ हजार ९ सय ५ जना कोरोना संक्रमित थिए । ६ हजार २ सय ३५ जना संक्रमण निको भएर सामान्य अवस्थामा फर्किएका छन् ।

१४ हजार ५ सय २२ वटा स्वाब संकलन भएकोमा ६ हजार ८ सय ७३ वटा स्वाबको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । कति व्यक्तिलाई पोजिटिभ भयो एकिन छैन ।

टिप्पणीहरू