कता जाऊँ मनको पीडा पोख्न « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

कता जाऊँ मनको पीडा पोख्न

प्रकाशित मिति :  ८ पुष २०७३, शुक्रबार ०७:३७


श्रीमान््का लागि जब घरकी मुर्गी दाल बराबर हुन्छ र बाहिरफेर चोरी खान पल्कन्छन् तब  ‘घर’ रहँदैन । यस्तै उजाडताले घेरिएको जिन्दगी छ । ०५१ सालमा मागीविवाह भएको हो । श्रीमान् सेनामा कार्यरत । भर्खरै सुरु भएको थियो, माओवादी जनयुद्ध । नेपाली सेनामा कार्यरत व्यक्तिसँग विवाह गर्दा त्यो १० वर्षको रात कहिल्यै चैनले सुत्न पाइएन । कहिले कतै सेनालाई माथ्र्याे विद्रोहीले, कतै प्रहरीलाई । हरपल, हरक्षण पाइला–पाइलामा एम्बुस बिच्छ्याइएको जिन्दगी थियो । जुन समय पनि पड्कन सक्ने । जागिर खाएको १४ वर्षसम्म उहाँ छाउनीस्थित ब्यारेकमा कार्यालय । सोही समय जागिर छाडे । थाहा भयो, ब्याजसहित कान्छी भिœयाएका रहेछन् ।

नौ वर्षसम्म सम्बन्ध सुमधुर नै थियो । किराना हुँदै कस्मेटिक पसल चलाएँ । एक वर्षको फरकमा दुई छोरा जन्मिए । नैकापमा घर । आउने, जाने भइरहन्थ्यो । देवरको विवाह ०६२ सालमा त्यही समय फोन गरें । अर्कै महिलाले उठाई । उल्टै मलाई ‘मेरो बूढालाई फोन गर्ने तँ को होस् बाइफाले ?’ भन्दै हकारेपछि छाँगाबाट खसेझैं भएँ । यही विषयलाई लिएर झगडा पर्न थाल्यो । त्यो समय हाम्रो दुई वटा ट्याक्सी थियो, भाडामा चलाइएको । दिनभरि  छाउनीमा ड्युटी गरेर आउँथे । बेलुका ट्याक्सी चलाउन जान्छु भनेर निस्कन्थे । पछाडि मात्र थाहा पाइयो । उनी ट्याक्सी चलाउने बहानामा त्यतै पुग्दा रहेछन् ।

यही विषयमा झगडा हुन थालेपछि एक दिन त्यो आइमाईकोमा लैजान तयार भए । तर, मैले श्रीमतीको रूपमा नभएर भाउजूको रूपमा परिचय दिनुपर्ने सर्त राखेँ । अघिल्लो दिन बेलुका मोटरसाइकलमा राखेर त्यहाँ पु¥याएका थिए । भोलिपल्ट दाजुसँग जाँदा कोठा सरिसकेछन् ।
त्यो समयसम्म दुई छोरा कलंकीस्थित एलआरआई स्कुलमा पढ्दै थिए । सानोतिनो व्यापार कलंकी चोकमा थियो । राम्रै हुन्थ्यो कमाइ । दुई छोरा हुँदाहुँदै तिनैमाथि सौतेनी आमा हालेपछि मन त्यो घरमा रम्न सकेन । काठमाडौं खाल्डोमा बसिरहन उचित ठानिनँ । ती असत्तीको मुखै हेर्न नपर्ने स्थानमा जान्छु भनेर धरानतिर लागें । मसँग त्यो समयमा ६० हजार नगद थियो ।

दुई छोरासँगै काठमाडौं छाडेको कुरा दाजुले थाहा पाएछन् । पटक–पटक फोन गरेर माइती फर्कन भने । तर, मनले मानेन । लाग्थ्यो, आफ्नो टेन्सन आफन्तलाई किन बोकाऊँ ? यही सोचेर फर्किनँ । खै पछाडि कहाँबाट थाहा पाएर हो श्रीमान् धरान पुगे । कोठा लिएर बसेकी थिएँ । दुई छोरालाई त्यतै पढाएको थिएँ । गएर फकाए । लाग्यो, बिग्रेकै भए पनि त मान्छे सप्रन सक्छ । तर, त्यहाँ पुगेको ४÷५ महिनामै भएको पैसा सकियो । बीचमा भाइले पटक–पटक फोन सम्पर्क गरेर घर आइज भनेको पनि हो । मेरो भाग अंश तेरो नाममा गरिदिन्छु भनेको होे । तैपनि, माइत फर्किनँ । पैसा थिएन, भाइले पैसा पठाइदियो र काठमाडौं फर्किएँ । माइती गएर बस्न थालेँ । झन्डै एक वर्षसम्म माइतीमा बसेर दिन गुजारिरहेको थिएँ । यस्तैमा एक दिन जेठो छोरा घर छाडेर हिँड्यो । ऊ भागेर नैकापस्थित घरमै आउन खोजेको रहेछ । पछाडि भेटियो र थाहा पाइयो । छोराकै खुसीका लागि नैकापस्थित घरमा आएँ । तर, श्रीमान् थिएनन् । कोठा लिएर कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा कान्छी श्रीमतीको साथमा बस्दै आएका थिए । खोज्दै ट्याङ्लाफाँट पुगें । त्यहाँबाट नैकापस्थित घरमा लिएर गए । नैकापमा हाम्रो दुई वटा घर थियो । एउटा पुरानो र अर्काे नयाँ । नयाँ घर आफैंले बनाएको थिएँ । सो घरमा बस्न दिएनन् । मलाई पुरानो घरभित्र हुली लोग्ने कान्छी श्रीमतीकै पछि लागेर गए ।

बाबु–आमाको झगडाले छोराको पढाइ बिग्रियो । उनीहरूलाई एलआरआई स्कुलमा राखेर पढाउन सक्ने हैसियत थिएन । त्यहाँबाट निकालेर कंकाली सरकारी स्कुलमा पढाउन थालें । त्यहीँबाट दुई वटा छोराले एसएलसीसम्मको अध्ययन पूरा गरी हाल प्लस टु मा पढ्दै छन् । जेठो छोरा हजुरआमाको साथमा छ । ऊ मलाई नै गलत देख्छ । र, उसका हजुरआमा र काकालाई सही । कान्छो छोरा मावलीमा बसेर अध्ययन गरिरहेको छ ।

जेठो छोरो हजुरआमाले जे सिकायो त्यही बोल्ने भएको छ । सासूको ज्यादती भनिसाध्य छैन । कुट्न आउने, झम्टन आउने, भाँडाकुँडा फालिदिने दैनिकी नै भएको छ । उनीहरूको नाममा भएको पुख्र्यौली सम्पत्तिसमेत अंशबापत पाउन सकेको छैन । यो सम्पत्ति सासू र देवरले आफ्नो नाममा गरेका छन् ।

श्रीमान्ले घरपरिवारको सम्पत्ति उडाएर आफ्नो नाममा रहेको जग्गा नै बन्दकी राखेका थिए । सो जग्गाको रकम चुक्ता गरेर दिदीले आफ्नो नाममा सारेकी थिइन् । साढे तीन आना जग्गा थियो नैकापमा । यो जग्गामा केही समय नाताले देवर पर्ने अर्जुन दाहालले कमाउँदै आएका थिए । अहिले यो जग्गासमेत उनले त्यहाँका गाविस सचिवसमेत रहेका दाहालले रोकिराखेका छन् । म यहाँ छउन्जेलसम्म तैंले कुनै हालतमा पाउँदिनस् भन्छन् ।

न्याय दिएर समाजको घटना मिलाउनुपर्ने मान्छे नै घरका आफन्तले चेपेको थाहा पाएर हाकाहाकी भन्छन्, ‘तँलाई घरकै मान्छेले पेलेका छन्, मैले किन न्याय दिने ?’ अरू केही चाहिएन । सबै प्रमाण छन् । दिदीको नाममा भएको जग्गाको लालपुर्जा छ । न्यायको खोजीमा दर्जनांै पटकसम्म चन्द्रागिरि नगरपालिका कार्यालयमा धाएँ । स्थानीय नेतालाई गुहारें । तैपनि, यो चेलीको आँसु अरूका लागि हाँसोको माध्यम बनिरहेको छ । सहरका तारे होटलमा महिला हिंसाविरुद्ध १६ दिने अभियान जारी छ । तर, मजस्ता महिला आफ्नै घरकी सासूबाट अपहेलित छन् । कुनै दुरदराजमा होइन, राजधानी छिर्ने नाकामा हरेक दिन पिटिन्छु, चुटिन्छु । मेरो घर परिवारले हेला र टोकसो गरेको थाहा पाएर दिदीको नामको जग्गा गाविस सचिवले कब्जा गरेर राखेको छ । यही पीडामा गुज्रिरहेको छु । धेरै हाकिमको कार्यकक्षमा पुगेर पीडा पोखें, आँसु बगाएँ, धेरै नेतालाई नमस्कार टक्र्याएँ । तैपनि, पीडामा एक्लै छु नितान्त एक्लै । कसैले साथ दिँदैन । कहाँ जाऊँ न्याय खोज्न ?

भवानी शर्मा, नैकाप, काठमाडौं


प्रतिक्रिया दिनुहोस !