कसलाई भनुँ मेरो कुरा, सुन्छ कसले ?

  • रेशम चौधरी, कैलाली घटनापछि फरार पात्र

थरुहट प्रदेश माग्दै ०७२ भदौमा कैलालीको टीकापुरमा प्रदर्शन भयो । तर, शान्तिपूर्ण प्रदर्शनले एकाएक दोहोरो भिडन्तको रुप लिएपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका सुरक्षाकर्मी, निर्दोष बालकसहित केही सर्वसाधारण हताहत भए । थारु अधिकारकर्मीका रुपमा सक्रिय स्थानीय होटल व्यवसायी तथा एफएम सञ्चालक रेशम चौधरी उक्त घटनाका मुख्य योजनाकारको रूपमा चर्चामा आए । संकटकालताका सेनापति प्रज्वलसमशेर र पत्नी सिन्धु राणालाई आफ्नै बाबु–आमा मान्थे । टिकापुर काण्डमा सुरक्षाकर्मी र सर्वसाधारण हत्याको अभियोग रेशममाथि छ । अहिले प्रहरीको सूचीमा ‘फरार’ छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा बेरोतोक उनले होटल ताजमा भेटे । भारतबाट फर्किएपछि प्रधानमन्त्रीले उनीमाथिको मुद्दा फिर्ता लिने प्रक्रिया थाले । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दिवंगत प्रहरीका श्रीमतीहरुलाई गृहमन्त्री विमलेन्द्र निधिको घेराउमा पठाए । त्यसपछि मुद्दा फिर्ता लिने प्रक्रिया रोकिएको छ । उनै रेशम सामाजिक सञ्जालमार्फत जनआस्थाको सम्पर्कमा आएका छन् ।  

० कहाँ हुनुहुन्छ ?

– भारतमा निर्वासित जीवन बिताइरहेको छु । कहिले कता, कहिले कता भौँतारिन्छु । जसोतसो गुजारा चलेकै छ । जीवनमा कहिल्यै नभोगेको कष्ट भोगिरहेको छु ।

० कैलाली घटनामा प्रहरीलाई भाला रोपेर मार्नेजस्तो जघन्य कसुर छ । वास्तविकता के हो ?

– टीकापुरभन्दा तीन किलोमिटर पर घटना भएको हो । मेरो राजनीतिक उचाइ र क्षमता दिनप्रतिदिन बढिरहेको देखेर नै केही इष्र्यालू प्रवृत्तिका नेताको दबाबमा यो सब भएको सुनेको छु ।

० कैलाली घटनाका आरोपितहरुको मुद्दा प्रधानमन्त्रीले फिर्ता लिन चाहेका थिए । तर, आइजीले मानेनन् भन्ने सुन्नुभयो ?

– टीकापुर घटनालगत्तै गठित देवीराम शर्मा आयोगको रिपोर्ट किन कार्यान्वयन गरिएन ? त्यो समिति त २४ घण्टाभित्रै गठन गरिएको हो नि !

त्यसले ल्याएको प्रतिवेदन घटनाको वास्तविकतासँग मिल्दो पनि छ । प्रहरी महानिरीक्षकलाई त प्रधानमन्त्रीले अँठ्याउन सक्नुपर्ने हो नि ! देश नेताले चलाउने हो, कर्मचारीले होइन ।

० न्यायका लागि कस्तो पहल हुँदैछ त ?

– रेशम निर्दोष हो भनेर अदालतमा गुहार माग्न गएका मेरा साथी पनि पुर्पक्षको लागि जेल चलान भएका छन् । नखाएको विष त लाग्दैन होला नि † ममाथि सबैको पूर्वाग्रह भयो, मैले भाग्दै हिँड्नुपरेको छ । तर, म निर्दोष हुँ भन्ने साथीहरुको गल्ती के हो ? सरकारले एकपक्षीय रूपमा मात्रै दमन ग¥यो । भदौ ८ गते, जतिबेला कफ्र्यु लागेको थियो, त्यसबेला थारुहरुको ८८ वटा घरमा आगो लाग्यो । आगो लगाउने सबैको पहिचान हुँदाहँुदै पनि उनीहरुलाई त्यसै छाडिएको छ । यसले पनि थारुहरु धेरै चिढिएका छन् ।

० प्रधानमन्त्रीलाई होटल ताजमा कसरी, कुन माध्यमबाट भेट सम्भव भयो ?

– मैले आफ्नो देशको प्रधानमन्त्री भेट्न कुनै स्रोत खोज्नुपर्दैन । गएँ । नमस्ते गरेँ । आफ्नो पीडा राखेँ । उहाँले ‘यस्तो राजनीतिक समस्याको समाधान छिटो हुन्छ’ भन्नुभयो ।

० कैलाली घटनाका बेला तपाईंलाई सशस्त्रका एसपीले विशेष रेस्क्यु गरेर बाहिर लगे भनी समाचार आए । सशस्त्रसँगको कनेक्सन कस्तो हो ?
– स्थानीय अगुवा भएको कारण सबैसँग चिनजान हुनु स्वभाविक थियो । दुबै प्रहरी संगठनबीचको असमझदारी मात्र हो ।

० तपाईं आबद्ध रहेको सद्भावना पार्टीबाट के पहल भइरहेको छ ?

– लागेको, पुगेको पहल त भएको छ । तर, सुन्नुपर्ने निकाय यति एकोहोरो छ कि, जतिसुकै दुहाई दिए पनि कान थुनेर बस्ने । जातीय आधारमा भोट माग्नेहरुले स्वार्थको राजनीति गर्छन् ।

० पहिला त तपाईं एमाले होइन र ?

– टीकापुरबाट फाटेको चप्पल लगाएर काठमाडौं पुग्दा लाग्यो कि, गरिबको साथी एमाले नै हो । आरआर क्याम्पस भर्ना भएँ । अखिलको विभिन्न कमिटीमा काम गरेँ । स्ववियु सदस्य भएँ । शंकर पोखरेल, रामनाथ ढकाल, योगेश भट्टराई, रवीन्द्र अधिकारी, राजेन्द्र राई, हिक्मत कार्की, यज्ञराज सुनुवारजस्ता नेताहरुले पनि पत्याएकै थिए । गीत, संगीतको काममा लागेँ । रेडियो सगरमाथामा कार्यक्रम चलाएँ । तर, फर्किएर टीकापुर आउँदा त्यहाँका एमालेले मलाई मण्डले बनाए, राजावादी भने । कमैयालाई राहत बाँड्दा र राम्रो–राम्रो काम गर्दासमेत एमालेका साथीहरुले मलाई आफ्नो भनेनन् । त्यसपछि राजनीतिप्रति नै वितृष्णा जाग्यो । कार्यकर्तासँगै संगीतकर्मी र रेडियोकर्मी पनि थिएँ । रिसोर्ट खोलेँ । एफएम खोलेँ । रिसोर्टमा नारायण गोपाल, गोपाल योञ्जन, अरुणा लामादेखि रामकृष्ण ढकाल, यम बरालसम्मका कलाकारको नाममा फूल रोपेँ, रुख रोपेँ । आज पनि ती रुखमा उनै कलाकारको नाम छ । तर, जब देशमा समावेशीताका चर्काचर्का कुरा हुन थाले, लाग्यो मेरो समुदाय युगौँदेखि दासताको जञ्जिरमा बाँधिएको छ । हुनेखानेहरुले पनि पहिचानको कुरा उठाए । हामी त अर्काको घरमा कमैया–कमलरी बसेका थारु ! हाम्रा कुरा एनजिओहरुले पैसा कमाउनका लागि उठाए । तर, वास्तविकतामा मुक्तिको पहल ज्यादै कम भयो । यस्तो अवस्थामा थारु समुदायको अधिकारप्राप्तिको अभियानमा कुनै न कुनै छाता ओढेर अघि बढ्नै पर्ने भयो । त्यस्तो बेला चुनाव उठ्नका लागि सद्भावना पार्टीको टिकट लिएँ । तर, म ‘मधेसी’ होइन । थारु नै हुँ । थारु समुदायको अधिकारका बारेमा हामीले पार्टीभन्दा माथि उठेर सोच्नुपर्छ, बोल्नुपर्छ ।

० अहिले पनि प्रदेश सिमांकनको कुरा आएको छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्ने कुराले तनाव भइरहेको छ । कस्तो लाग्छ तपाईंलाई ?

– प्रादेशिक विभाजनमा पहिचानसहितको संघीयता हाम्रो माग हो । हिजो कालापानीमा मृत्युदण्डका निमित्त पठाउँदा त्यहीँको भूमिमा बसोबास गरिरहेका, फरक पहिचान भएका सोझा मूलवासीको राज्यसँग प्रत्यक्ष सहभागिता होस् भन्ने हाम्रो चाहना हो । न्यायिक सहभागिताको आवाज उठाउनेबित्तिकै देशद्रोहीको मुद्दा लगाएर निर्बासित हुन बाध्य तुल्याउने ? थारुको सबभन्दा धेरै जनसंख्या कैलाली जिल्लामा छ । कैलाली, कञ्चनपुर थारूबहुल क्षेत्र हो । यसलाई थारू क्लस्टरबाट छुट्याउनै मिल्दैन ।

० प्रदेश पाँचको विवादलाई कसरी बुझ्नुहुन्छ ?

– संघीयताको मुख्य आधार पहिचान र सामथ्र्य हो । थारुबहुल क्षेत्रलाई एउटा क्लष्टरमा राख्ने कुरामा बेइमानी भएकै हो । सामथ्र्यका लागि प्रदेशको सिमांकनमा पहाडी भूभाग पर्छ भने हाम्रो आपत्ति छैन । अहिले त बर्दियासम्म मात्रै भनिएको छ । हामी कैलाली र कञ्चनपुरलाई थारु समुदायको राजधानी मान्दछौँ । किन त्यसलाई अलग राख्न खोजिँदैछ ?

० थारु र मधेसी एक होइनन् । तर, कैलालीले किन मधेस बहुल जिल्लाहरुसँग मिल्नुपर्ने माग भएको ?

– थारुहरुको आफ्नै पहिचान छ । त्यस्तै मधेसीहरु पनि आफ्नै पहिचानको लागि संघर्ष गर्दैछन् । हाम्रो मागमा उनीहरुको समर्थन छ । राज्यका शासकले न्याय दिएको भए यो अवस्था हुँदैनथ्यो । हाम्रो माग भनेको नवलपरासीदेखि कञ्चनपुरसम्म थारुबहुल क्षेत्रको पहिचानसहितको प्रदेशको हो । नेपालका असली राष्ट्रवादी भनेकै थारु हुन् । थारुले देश बिखण्डनको कल्पनासमेत गर्न सक्दैन । भोलि परिआएको बखत देश जोगाउने नै थारु हुन् ।

० सिके राउतले चलाएको पृथकतावादी आन्दोलनलाई के भन्नुहुन्छ ?

– म कहिले पनि सिके राउतको कल्पना गर्न सक्दिनँ । म देशमा आउँछु, तर कानुनी लडाइँ लड्ने बाटो दिनुपर्छ । जबर्जस्ती आरोप लगाएर निर्वासनमा पठाउन बाध्य बनाउनेलाई पनि कारवाही हुनुपर्छ ।

० भूमिगत जीवन कसरी बित्दैछ ?

– दशैं आयो, तिहार आयो, माघी आउँदैछ । घरमा बालबच्चा छन् । कमाएर ल्याउने बाबु देश छोडेर हिँडेको छ । मेरा जहान, परिवारको पनि पेट छ । उनीहरुको पनि खुशी हुन पाउने अधिकार छ । तर, मेरा यी सब कुरा आज लुटिएका छन् । म इण्डियामा कहिले कोसँग, कहिले कोसँग मागेर, हात जोडेर खाँदै, बस्दै हिँडेको छु । जाडो शुरु भयो । घरमा ५५ वटा ज्याकेट छन् । तर, यहाँ सात–आठ सयको ज्याकेट किन्यो, दुई दिन लगायो । धुने ठाउँ पाइँदैन । अनि, त्यो फालेर अर्को किन्यो । एउटा जुत्ता दुई महिना लगाएपछि फाट्छ । अब त किन्ने पैसा पनि छैन । घरबार, व्यवसाय सब चौपट । मान्छेको जीवनमा योजस्तो कष्टको दिन अर्को के होला ? देशलाई माया गर्छु भन्ने म सोझो थारुको छोरो देशबाट भागेर हिँड्नुपरेको छ ।  

० राजनीतिक तहमा को–कोबाट भनसुन गराइरहनुभएको छ ?

– अदालतमा न्याय माग्न गएका शुभचिन्तक जेलमा छन् ।

० सरकारले मुद्दा फिर्ता लिएन भने आत्मसमर्पण गर्नुहुन्छ ?

– सरकारले मुद्दा फिर्ता लिनैपर्छ । लिएन भने निर्दोष हौँ भनेर न्यायिक लडाइँ लड्ने मौका पाउनुपर्छ ।

० संगीत र सञ्चारका कामबाट किन राजनीतिमा लाग्नुभएको ?

– म राजनीति गरेर नेता हुने मान्छे नै होइन । अनेरास्ववियुमा काम गर्दा पनि आफूलाई कलाकार भनेरै चिनाउँथे । सत्य कुरा के हो भने, समावेशिताको राजनीति अहिले फेसन भएको छ । तर, संगठन प्रणालीभित्र समावेशिताको अभ्यास गर्ने पहिलो राजनीतिक शक्ति भनेको एमाले नै हो । म कैलालीको थारुको छोरो, क्याम्पस पढ्न काठमाडौं बस्दा थारु समुदायको समावेशिताका लागि अखिलले ठाउँ दियो । तर, मेरो मूलकर्म संगीत र सञ्चार नै हो । आज परिस्थितिले निर्वासित बनायो । भोलि मेरो पनि दिन आउला । त्यसबेला एकपल्ट जम्जमाएर जनतासँग अधिकारको गीत गाउँदै हिँड्न मन छ ।

टिप्पणीहरू