असंख्य सरस्वती र रुपाका आर्तनाद

असंख्य सरस्वती र रुपाका आर्तनाद

– टीकाराम सुनार

नेपाली समाजको सबैभन्दा सुन्दर पक्ष विविधतामा एकता र सहिष्णुता नै हो । शान्तिप्रियता, सामाजिक सद्भावप्रतिको चेतना एकता र सहिष्णुताका आधार हुन् । १२६ जातजाति, १२३ भन्दा बढी भाषाभाषी, तिनका मौलिक संस्कार र रहनसहन साँच्चै लोभलाग्दा छन् । तर, यसैभित्र मौलाइरहेका विभेद्लाई समयमै निमिट्यान्न पार्न नसक्दा सबैले लज्जित हुनुपरेको छ ।

लिच्छविकालपछि मल्लकाल (जयस्थिति मल्लले संहिताकरण गरेको सन् १३६०–१३९५), मल्लकालपछि राणाकाल (जंगबहादुर राणाले मुलुकी ऐन १९१० बनाएको) मा कमजोर हुनुको सट्टा झन् बलियो हुँदै गएको विभेद्को पर्खाललाई अहिले पनि भत्काउन सकिएको छैन । कोठादेखि कोटा र प्रेमदेखि विवाहमा विभेद भयो भनेर बेलाबेला सार्वजनिक हुने घटनाले यसको जरा अहिले पनि कमजोर हुन नसकेको भान हुन्छ । फलस्वरूप राज्य र राज्य सञ्चालनमा हस्तक्षेप गर्न सक्ने बलशाली पक्षले निर्माण गरिदिएको यो समस्याबाट विभेद भोग्ने पक्ष मात्रै होइन, सरस्वती प्रधानजस्ता पक्ष पनि जानिनजानी प्रताडित भइरहेका छन् ।

वर्ण व्यवस्थाको पिँधमा रहेका कथित अछुतहरूमध्ये कसैले जात बदलिरहेका छन्, कसैले धर्म । कसैले ठाउँ बदलिरहेका छन्, कसैले कर्म (काम, व्यवसाय) ।

वर्ण व्यवस्थामा आधारित जातीय संरचनाका कारण देखिने गरी दलित र त्यसमा पनि छुवाछुत भोग्ने पक्ष पीडामा छ । तर, नदेखिने गरी हरेक जातभित्रका कमजोर उपजात पक्षधरहरूले पनि यसको पीडा भोग्नुपरेको छ । त्यसैले यो व्यक्तिको रुपमा रूपा सुनार, सरस्वती प्रधान वा कुनै एक अमूक व्यक्ति वा पक्षको मात्रै नभई राज्यको चरित्रले निर्माण गरेको आमसमस्या हो ।

वर्णव्यवस्थामा आधारित जात व्यवस्थामा पीडित पक्षले यसबाट उन्मुक्तिका लागि चित्कार गरिरह्यो तर विद्रोहको बाटोमा हिँड्न सकेन । एउटा समुदाय लामो समयसम्म विभेद, उत्पीडन, बहिष्करण र हिंसाको शिकार भइरह्यो । उसलाई जातकै आधारमा धारा, पाटीपौवा, सार्वजनिक स्थल, मठ, मन्दिर, शिक्षालयमा अवरोध भइरह्यो । कालान्तरमा जातीय विभेदजस्तो अमानवीय व्यवहार जीवन पद्धति नै बन्यो ।

कानुनको अनभिज्ञता क्षम्य हुँदैन । तर, लाखौं खर्चेर शहर बजारका होटल तथा निश्चित केन्द्रमा कथित बौद्धिक वर्गहरूले कार्यपत्र प्रस्तुत गर्ने र विचार मन्थन गर्ने ढाँचाले शहर बजारकै सरस्वती प्रधान वा गाउँका अरू थुप्रै पक्षलाई किन प्रभाव पार्न नसकेको ? काठमाडौं वा शहरका तारे होटलमा गरिने बहस, काठमाडौंका रंगिन वा ठूला भनिएका पत्रपत्रिकामा छापिने विचार विमर्श वा टेलिभिजनमा गरिने यस्ता बहसका लक्ष्यित वर्ग छुवाछुत पाल्ने, हुर्काउने वा भत्काउनेमध्ये को हुन् ? यस्ता सवालमा पनि बहस गर्ने कि नगर्ने ?

कसैले कोठा नदिएको वा नपाएको, कसैले ज्यान गुमाएको वा ज्यान गुमाउन बाध्य पारेको अवस्थापछि मात्रै विभेद छ भनेर थाहा पाउने, त्यसपछि मात्रै आफ्नो योजना बनाउने सरकार र सरोकारवालाले अब आफ्नो शैली पनि बदल्न जरुरी छ । अहिले पनि कसैले थरको आधारमा हीनताबोध गर्ने र कसैले गर्वबोध गर्ने अवस्था कायमै छ । अर्थात् जातीय श्रेष्ठताको विनिर्माण गर्न सकिएको छैन ।

वर्ण व्यवस्थाको पिँधमा रहेका कथित अछुतहरूमध्ये कसैले जात बदलिरहेका छन्, कसैले धर्म । कसैले ठाउँ बदलिरहेका छन्, कसैले कर्म (काम, व्यवसाय) । यो जात व्यवस्थाले सिर्जना गरेको पीडापछिको छट्पटाहट हो । जात व्यवस्थाबाट उन्मुक्तिको चाहना हो । तैपनि, हाम्रो सामाजिक बनावटलाई जहाँ गए पनि जातीय श्रेष्ठतामाथि निर्मित छुवाछुतको कुसंस्कारले घेरिरहेको छ । देश छाडेर अमेरिका वा युरोप गएकादेखि, एउटा धर्म छाडेर अर्को धर्म संस्कार अँगालेकाहरूसम्मले बेलाबेला व्यक्त गर्ने अनुभवले यो कुरा प्रष्ट हुन्छ । यसर्थ जातीय श्रेष्ठताको मान्यता विनिर्माण गर्न नसक्नु हाम्रो समस्या हो र यो त्यति सजिलो पनि छैन ।

हामी लामो समयदेखि विभेद अन्त्यको बहसमै छौं । तर, ती बहसले जन्म होइन कर्म प्रधान हो । जात होइन, व्यक्तिको मिहिनेत र परिश्रमले निर्माण गरेको पहिचान र संस्कार ठूलो हो भन्ने कुरा कति स्थापित गर्न सक्यौँ ! कतिपय दलितले कथित गैरदलित साथीभाइसँग रेष्टुरेन्टमा पैसा खर्च गरेर सँगै चिया, कफी, ह्विस्की, पार्टीहरूमा डिनर र लञ्च खानु नै परिवर्तन हो भन्ठान्यौं । कतिपय गैरदलितले अभिभावकलाई आदरको नाममा होस् या संस्कारको नाममा घरघरमा छुवाछुत वा जातीय श्रेष्ठताको भावना पालिरहने तर रेष्टुरेण्ट वा पार्टीमा सँगै बसेको, खाएकोलाई परिवर्तन ठानिरह्यौं । पुस्ता बदलिँदै गयो तर सोच बदलिन सकेन । र त, जात व्यवस्थामा जन्म वा जातका आधारमा श्रेष्ठता नाप्ने सोचको विनिर्माण हुन सकेन ।

तर, जातीय व्यवस्था र यसमा रहेको मान्यताको विनिर्माणमा दलितको प्रयासभन्दा गैरदलितको भूमिका निर्णायक हुन सक्छ । अब दलितहरूको सालिनताले भन्दा गैरदलितको आक्रामक पहलकदमीले स्थापित सामाजिक सद्भाव निर्माण गर्न लागौं । जातीय श्रेष्ठताको मान्यता विनिर्माण गर्न दलित, गैरदलित सबैले हातेमालो गरौं ।

दलहरूमा सामाजिक रूपान्तरणको चेत

आजको समस्याको कारण व्यक्ति मात्रै होइन, त्योभन्दा बढी प्रवृत्ति हो । हामी व्यक्ति–व्यक्तिमा रूपान्तरण खोज्न अल्झियौं भने परिवर्तनका लागि अझै युग कुर्नुपर्ने हुन सक्छ । व्यक्ति व्यक्तिलाई ङ्याकिरहने कार्यले हामीलाई गन्तव्यमा पु¥याउन अवरोध मात्रै गर्छ । उसै त हामी विभेद अन्त्यको लडाइँमा धेरै ढिला भइसकेका छौं ।

हिजोसम्म राजनीतिक दल लोकतन्त्र, आर्थिक विकास र समृद्धिको नारामा लागे । विकास भनेको सडक, पुल, पुलेसा, भौतिकपूर्वाधार मात्रै हो भन्ने ठानियो । तर, त्यसले मात्रै हाम्रो समाजको विकास र समृद्धिको चाहनालाई प्रतिनिधित्व गरेन र गर्दैन पनि । समाजमा हुने विभेद, असमानता, जातीयताको नाममा बनेका पर्खालहरू कायमै राखेर हुने विकासलाई विकास भन्न सकिँदैन । यसकारण राजनीतिक दलले सामाजिक, साँस्कृतिक रूपान्तरणलाई पनि आफ्नो मूल एजेण्डा बनाउन् । अब समाज, राज्य र सरकारको विभेदरहित चरित्र निर्माणमा दलहरूले आफूलाई क्रियाशील बनाउन लागुन् । विभेदमा परेका जातजातका नाममा संगठन बनाउने तर उनीहरूका मूलभूत समस्याबाट पार्टीलाई टाढा राख्ने चरित्रबाट दलहरू मुक्त हुनुपर्छ र कम्तीमा जातीय विभेद अन्त्यका लागि मूल पार्टी नै क्रियाशील बन्नुपर्छ ।

थर बदल्ने पक्ष सदियौंदेखिको उत्पीडनबापत क्षतिपूर्ति पाउनकै लागि थर प्रमाणित गर्न बाध्य छ । समाजमा कसैले जातमा गर्वबोध गर्ने अवस्था कायमै छ । सोच बदलिएको छैन । उत्पीडित समुदायको सशक्तिकरणमा ठोस प्रगति भएको छैन । भएका प्रयासमा टाठाबाठाकै हालिमुहाली छ ।

राज्यको चरित्रले अहिले पनि समाजको प्रभुत्वशाली एउटा समूहले दिने र अर्को कमजोर समूहले माग्ने अवस्था अन्त्य गर्न सकेको छैन । यो पुरातन विभेदकारी व्यवस्थाले निर्माण गरेको राज्य संरचनाको निरन्तरता नै हो । समावेशी भन्ने तर असमावेशी काम गरिरहने यो संरचना, सोच र व्यवस्थाको चरित्रलाई नै विनिर्माण गरौं । राज्यले चाहेमा नहुने केही छैन । उसले धर्म, संस्कार परिवर्तनका लागि प्रभुत्वशाली समूहलाई परिचालन गरेर आफ्नो भूमिका बढाउन सक्छ र सक्नुपर्छ ।

टिप्पणीहरू