प्रेमले भन्दैन पर्खाल, प्रेमले कुर्दैन प्राण « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

प्रेमले भन्दैन पर्खाल, प्रेमले कुर्दैन प्राण

प्रकाशित मिति :  ८ पुष २०७३, शुक्रबार ०७:२०


  • राजेन्द्र स्थापित

बुटा सिंहको जन्म पञ्जाबको जालन्धरनजिकको गाउँमा भएको हो । युवावस्थामा टेक्नासाथ सेनामा भर्ती भए । सन् १९३९ मा विश्वयुद्ध शुरु भयो । जर्मनीको मित्रराष्ट्र जापानले एशियामा जताततै प्रभाव जमाउन थाल्यो । भारत त्यसबेला ब्रिटेनको अधीनमा थियो । लर्ड माउण्टबेटनको मातहतमा रहेर बुटा सिंहले बर्मामा जापानसित लडे । सन् १९४५ मा विश्वयुद्ध समाप्त भएपछि सेनाको जागिर छाडेर गाउँ फर्के । गाउँमा सबै सहोदर साथीभाइको बिहे भइसकेको थियो तर उनी अझै अविवाहित थिए । उमेर ढल्किसकेकाले कसैले छोरी दिन मानेनन् । एकदिन एकजना दलालले भारु. २५ सय जम्मा पार, उत्तरप्रदेश वा बिहारबाट एक से एक सुन्दर कन्या ल्याइदिन्छु भने । बिहेको लागि पैसा जम्मा गर्न थाले ।
सन् १९४७ मा पाकिस्तान छुट्टियो । हिन्दू–पञ्जाबी–मुस्लिम समुदायबीच जताततै दंगा भयो । एक–अर्काको परम शत्रु बने । काटमार गरे । लाखौं मारिए, दसौं हजार महिला बलात्कृत भए । करिब एक करोडको सडकबास भयो । पञ्जाब पनि दुई टुक्रा भयो । एउटै परिवारका सदस्य कोही भारत र कोही पाकिस्तानमा परे । लाखौं परिवार छिन्नभिन्न भए । अधिकांश मुस्लिम समुदाय नयाँ मुलुक पाकिस्तानतर्फ लागे । जान नचाहेकाहरु पनि जातीय दंगाको कारण हिन्दूहरुबाट धपाइए । मुस्लिमहरु ज्यान जोगाउँदै रेल, बस, ट्रक जे पाइन्छ, त्यसैबाट भारत छाड्न तँछाडमछाड गर्न थाले । भोक, तिर्खा, घाम, पानीको परवाह कसैले गरेनन् । जैनाब राजस्थानमा जन्मेकी मुस्लिम युवती हुन् । उनको परिवारलगायत हजारौं मुसलमान शरणार्थी बन्न पाकिस्तानतर्फ लाग्दै थिए । जालन्धर आइपुग्दानपुग्दै दंगा भड्क्यो । सबै ज्यान बचाउँदै भाग्न थाले । त्यसक्रममा जैनाब परिवारजनबाट छुटिन् । खेतैखेत भाग्न थालिन् । पछिपछि केही युवक थिए । सन् १९४७ सेप्टेम्बरको साँझ  । ५६ वर्षीय बुटा सिंह खेतको काम सकाएर घरतिर हिँड्नै लागेका थिए, चिच्याएको आवाज सुनेर पछाडि फर्के । १७ वर्षीया युवती भाग्दै आइन् । शारीरिक रुपमा बलिष्ठ बुटा सिंह युवतीलाई लखेट्दै आइरहेका युवकको अगाडि ठिंग उभिदिए । त्यतिञ्जेलमा युवती खुट्टा समातेर ‘बचाऊ, बचाऊ’ भन्दै याचना गर्न थालेकी थिइन् ।

एकजना युवकले जैनाब नाउँकी ती युवती आफूलाई सुम्पन वा बदलामा भारु. २५ सय दिन भने । बुटाले आफूसित जम्माजम्मी १८ सय मात्र भएको बताए । घरबाट पैसा ल्याएर बुझाइसकेपछि युवकलाई चेतावनी दिए, ‘अब आइन्दा यता आउने धृष्टता नगर्नू, अन्यथा राम्रो हुने छैन ।’ उनी जैनाबलाई लिएर घर फर्के । जैनाबले कसरी एक्कासि छिमेकीहरुले उनको परिवारमाथि आक्रमण गरे, भाग्ने क्रममा कसरी ती युवकको चंगुलमा फस्न पुगिन्, बलात्कृत र कुटाइ खानुप¥यो भन्ने बेलिविस्तार लगाइन् । जैनाबको दुःखले भरिएको कथा सुनेर मन पग्लियो । दुःखी नहुन आश्वस्त पारे । सहानुभूति र प्रेम दुवै जाग्यो । एकल जीवन बिताउन बाध्य उनले सोचे, ‘भगवानले कुरा सुने, अब एक्लोपन हट्ने भयो ।’ जैनाबको निम्ति बुटा सिंह मायाको खानी बने । जैनाब छोरी–मित्र सबै बनिन् । बुटा बजार जान्थे, जैनाबका लागि कहिले लुगा त कहिले जुत्ता किनेर ल्याउँथे । जैनाब पनि बिहान–बेलुका रोटी पकाउँथिन् । दिउँसो खेतमा गएर बुटा सिंहको काममा सघाउँथिन्, राति सँगै सुत्थिन् । समय बित्दै जाँदा दुवै पतिपत्नी बन्न राजी भए । गाउँलेको उपस्थितिमा बिहे सम्पन्न भयो । एक अर्काबीच ३९ वर्षको फरक भए पनि उनीहरू सुखी थिए । ११ महिनापछि जैनाब छोरीको आमा बनिन् । पञ्जाबी परम्पराअनुरुप बुटा सिंहले सिखहरुको पवित्र पुस्तक ‘ग्रन्थ साहेब’ पल्टाए । अक्षर ‘त’ को पानामा प¥यो । छोरीको नाउँ राखे– तनवीर (आकाशको चमत्कार) ।

बुटा सिंह, जैनाब र तनवीर त सुखी थिए तर काका र भतिज तनावमा परे । उनीहरुले सोचेका थिए, बुटा सिंह आजीवन अविवाहित रहनेछन् र मृत्युपछि उनको भागमा परेको सम्पत्तिको मालिक पनि आफूहरु नै बन्न पाइनेछ । तर बुटा सिंहले बिहे गरे, परिवार बनाएपछि सम्पत्तिको लोभमा परेका काका र भतिजले षड्यन्त्र शुरु गरे । बुटा सिंहको परिवार बिगार्न विभाजनको बेला हराएका, लापत्ता भएका वा भगाइएका महिलाको खोजीमा लागेका सरकारी अधिकृतकोमा गएर जैनाबबारे सूचना दिए । बुटा सिंहले भागेकी एक मुस्लिम युवतीसँग बिहे गरेको रिपोर्ट दर्ता गराए । प्रहरी पुग्दा बुटा सिंह घरमा थिएनन् । आफ्नो लोग्नेलाई आउन दिनू भन्ने याचनाका बाबजुद प्रहरीले जैनाबलाई जबर्जस्ती ट्रकमा हालेर शरणार्थी शिविरमा लगे । साथै पाकिस्तान सरकारको मद्दतमा उनको परिवारको खोजी शुरु गरियो । बुटा सिंह घर पुग्दा छोरीलाई रोइरहेको पाए । जैनाबलाई जबर्जस्ती लिएर गएको सुनेपछि पागलजस्तै बने । जैनाबलाई जसरी पनि फर्काउने मनशायले सानी छोरी च्यापेर दिल्लीको ग्राण्ड मस्क (मस्जिद) पुगे । कपाल काटेर मुसलमान बने । नाउँ परिवर्तन गरी जमिल अहमद राखे । छोरी पनि तनवीरबाट सुल्ताना बनिन् ।

धर्म परिवर्तनपछि बुटा सिंह उर्फ जमिल अहमद पाकिस्तानी हाइकमिश्नरकोमा पुगे र भने, ‘म मुसलमान हुँ, मेरी पत्नी फर्काइदिनुस् ।’ भारत र पाकिस्तानबीच एउटा सम्झौता भएको थियो– भगाइएका, अपहरित वा हराइएका विवाहित हुन् वा अविवाहित स्त्रीलाई बिछोडिएको परिवारसँग मिलाइदिने । उक्त सम्झौताअनुरुप जैनाबलाई परिवारसँग मिलाउन पाकिस्तान दृढ थियो । त्यसकारण जमिल अहमदको निवेदन स्वीकारिएन । जैनाब पूरा ६ महिना शरणार्थी शिविरमा रहिन् । जमिल दिनहुँ भेट्न जान्थे । गम्भीर भएर बस्थे । कहिलेकाहीं छुट्टिनुपर्ने डरले अंगालो हालेर घण्टौं रोएर बस्थे । यसबीच जैनाबको परिवार पत्ता लागेको खबर पाकिस्तानले दियो । जैनाब त्यो दिन धेरै रोइन् । लोग्ने जमिललाई अंगालो मार्दै भनिन्, ‘तिमीलाई कहिल्यै बिर्सने छैन । जतिसक्दो चाँडै फर्केर आउँछु ।’ त्यति भन्दै छोरी सुल्तानालाई बोकिन् र रोइन् । एकछिनपछि सुल्ताना जमिललाई सुम्पेर पाकिस्तानतर्फ लागिन् । महिना दिनपछि जमिलले पाकिस्तान सरकारसँग प्रार्थना गरे । मुसलमानको हैसियतमा पाकिस्तान प्रवेश गर्न अनुमति मागे । यसपालि पनि प्रार्थना अस्वीकार गरियो । जमिलले भिसा (प्रवेशाज्ञा) का लागि निवेदन हाले । भिसा दिइएन । केही सीप नलागेपछि जालन्धरमा भएको घरजग्गा सबै बेचे । छोरीलाई डो¥याउँदै पाकिस्तानतर्फ लागे । त्यसबखत भारत–पाकिस्तान सीमा नाघ्न गाह्रो थिएन । जमिल र सुल्ताना पनि सजिलै पाकिस्तान पुगे । लाहोरमा उनका एक मित्र थिए, सुल्तानालाई उनैकोमा छाडेर जमिल जैनाबको गाउँ नुरपुरनजिकको बुर्की पुगे ।

त्यहाँ जमिललाई ठूलो आघात पुग्यो । पाकिस्तान पुगेलगत्तै परिवारको दबाबमा जैनाबले काकाको छोरासँग बिहे गरिसकेकी रहिछन् । जमिलले जैनाबका बाबुको खुट्टा ढोग्दै बिन्ती गरे । जैनाब फिर्ता दिन माग गरे । रोए, कराए तर सुनुवाइ भएन । उल्टै जैनाबका दाजुभाइ र नयाँ लोग्ने मिलेर कुटपिट गरे । अवैध रुपमा पाकिस्तान प्रवेश गरेको आरोपमा प्रहरीलाई सुम्पिदिए । अदालतमा जमिलले न्यायाधीशसँग अपिल गर्दै भने, ‘म पनि मुसलमान नै हुँ । पत्नी फिर्ता लान पाऊँ । हैन भने पनि कम्तीमा जैनाबलाई अदालतमा उपस्थित गराइदिनुस्, मसँग भारत फिर्ता जाने कि नजाने भनेर सोध्छु । यदि जान्नँ भनिन् भने केही भन्दिनँ ।’ न्यायाधीशलाई जमिलप्रति सहानुभूति जाग्यो । आदेश जारी गरिदिए । जैनाब एक सातापछि अदालत उपस्थित हुने भन्दै पत्रपत्रिकाले समाचार लेखेका कारण त्यो दिन अदालतभित्र र बाहिर ठूलो भीड जम्मा भयो । जैनाब बाबु, लोग्ने तथा नातेदारको ठूलो लस्करका साथ अदालतमा उपस्थित भइन् । जमिलले जैनाबलाई पाकिस्तानी भूमिमा पहिलोपटक देख्दै थिए । जमिललाई हेरेर जैनाब आँशु खसाल्दै बसिन् । जैनाब र परिवार एकातिर थिए, जैनाबबाहेकका अन्य सदस्य अर्कोतिर पत्नी फिर्ता पाउने आशा लगाउँदै बसेका जमिललाई खाइदिउँलाजत्तिकै क्रोधित भएर हेर्दै थिए । सुल्ताना पनि थिइन्, उनलाई जमिलका मित्रले लिएर आएका थिए ।

न्यायाधीशले सोधे, ‘जैनाब, के तिमी जमिलसँग भारत फर्कन चाहन्छ्यौ ?’ जैनाबले जमिल आफ्नो पहिलो लोग्ने भएको स्वीकारिन् तर परिवारका सबै सदस्य र नातेदारहरुले इशारा गरेको ग¥यै गरेपछि ‘जान्नँ’ भन्ने जवाफ दिइन् । जमिललाई ठूलो धक्का लाग्यो । पत्नीको तर्फबाट आएको अप्रत्याशित उत्तर सुनेर झण्डै ढलेनन् । एकछिनमा होस सम्हाल्दै उठे । छोरी सुल्तानाको हात समातेर जैनाब भएठाउँमा पुगे र हातमा भएको पैसाको थैली दिन खोज्दै भने, ‘ल यो छोरीलाई सम्हाल, मेरो जीवन त अब सकियो नै ।’ जैनाब चुपचाप बसिरहिन् । न पैसाको थैली लिइन्, न छोरीको हात समाइन् । उनी चुपचाप बसिरहेको देखेपछि न्यायाधीशले सोधे, ‘तिमी छोरीलाई आफैंसँग राख्न चाहन्छ्यौ कि चाहन्नौ ?’ जैनाब मात्र आँशु खसाल्दै बसिन्, बोलिनन् । परिवारका सदस्य र नातेदारले आँखा ठुल्ठूलो पार्दै ‘नाइँ’ भन्न इशारा गरेको ग¥यै गरे । जैनाबले एकछिन छोरीलाई हेरिन् । धुरुधुरु रुन थालिन् । अन्त्यमा, लामो सास फेर्दै जवाफ दिइन्, ‘नाइँ !’ जनाबको नकारात्मक जवाफका कारण न्यायाधीश पनि विवश बने । अब जहाँ चाह्यौ, जान सक्छौ, स्वतन्त्र भयौ भन्दै जमिललाई रिहाइको आदेश दिए ।

जमिललाई त्यहाँ बसिरहन मन लागेन । छोरीलाई बोकेर अदालतबाट बाहिरिए । मुस्लिम सन्तदाता गंगबख्सको दरगाह गएर रातभरि रोए । सुल्ताना त्यतैको एउटा खम्बामा टाउको टेकाएर निदाइन् । बिहान (सन् १९५७ फेबु्रअरी १९) छोरीलाई बोकेर बजारतर्फ लागे । आफूले पानीसम्म नपिए पनि छोरीलाई मीठोमीठो खुवाए । नयाँ लुगा र जुत्ता किनेर लगाइदिए । त्यहाँबाट दुवै साहदरा रेलवे स्टेशन पुगे । सुल्ताना रुन थालेपछि काखमा बसालेर माया गरे । रेल आगमनको साइरन बज्न थालेपछि हतारमा कापी र कलम निकाले । जैनाबको नाउँमा छोटो पत्र लेखे । त्यतिञ्जेलसम्ममा रेल देखापरिसकेको थियो । जुरुक्क उठे । छोरीलाई उठाएर छातीमा टाँसे । म्वाइँ खाए । छोरी बोकेरै रेलवे लिगनजिक पुगी तलतिर हाम्फाले । एकैछिनमा जमिलको शरीर रेलले छियाछिया पारिदियो । तर, धन्न, सुल्तानालाई भने सानोभन्दा सानो चोटसम्म लागेन । पछि उनलाई हाईकोर्टका एक वरिष्ठ अधिवक्ता राविया सुल्ताना कारीले लिएर गइन् । प्रहरीले जमिलको लाशको तलासी लियो । खल्तीमा रगत लत्पतिएको पत्र फेलाप¥यो । लेखिएको थियो–

‘प्रिय जैनाब,
तिमीले भीडको आवाज सुन्यौ तर त्यस्तो आवाजमा कहिल्यै इमान्दारिता र सत्यता हुँदैन भन्ने कुरो बुझ्न सकिनौ । अहिले पनि मेरो इच्छा भनेको तिमी र म सँगै बसौं भन्ने नै हो । दया गरेर कृपया मेरो लाशलाई आफ्नै गाउँको चिहानमा गाड्नु र कहिलेकाहीं आएर मेरो र छोरीको चिहानमा एउटा–एउटा फूल चढाउनू ।’
– तिम्रो लोग्ने जमिल अहमद उर्फ बुटा सिंह ।

आत्महत्याले पाकिस्तानीहरुमा सहानुभूति जाग्यो । अन्तिम संस्कार राष्ट्रिय महŒवको घटना बन्यो । मृतकको अन्तिम इच्छाअनुरुप लाश सन् १९५७ को फेबु्रअरी २२ मा बुर्कीतर्फ लगिँदा जैनाबको दोस्रो लोग्ने तथा परिवारका सदस्यले गाउँमा प्रवेश गर्नै दिएनन् । ठूलो झडप भयो किनभने शवयात्रामा दशौं हजारको सहभागिता थियो । दंगाफसाद नहोस् भन्ने हेतुले प्रहरीले शवयात्रालाई लाहोरतर्फ फर्कन दियो । लाहोरको सबैभन्दा ठूलो चिहान साहदरा बागमा पूर्ण सम्मानका साथ गाड्ने काम भयो । चिहानमा हजारौंले फूल चढाएर बुटा सिंहलाई सम्मान दिए । तर, जैनाबको परिवारको रिस त्यतिले शान्त भएन । बुटा सिंहले पाएको सम्मानले उनीहरु झन् ‘पागल’ झैं बने । गुण्डा लगाएर लाहोरमा गाडिएको शव निकाल्न लगाए । शवमाथि लाठी प्रहार गरे । नानाभाँती गाली गरे । लाश भारत फिर्ता लान माग गरे । जैनाब परिवारको उक्त बर्बरतापूर्ण कार्यबाट पाकिस्तानी रुष्ट बने । प्रहरीको सहयोगमा लाशलाई पहिलाकै स्थानमा गाडे । फूल चढाए । फेरि लाशलाई चिहानबाट झिक्न नसकियोस् भन्नाखातिर महिनौं दिनसम्म स्थानीय जनताले पालैपालो सुरक्षा दिए ।

उता पञ्जाबीको रगत मिसिएको सन्तान यथार्थमा सच्चा मुसलमान बन्न सक्दैन भन्दै जैनाबको परिवारद्वारा अपनाउन अस्वीकार गरिएकी सुल्तानाको पछि एक इञ्जिनियरसँग बिहे भयो । तीन सन्तानको आमा बनिसकेकी उनी यतिखेर लोग्नेसँग लिबियामा छिन् । सन् १९५७ मा प्रकाशित डोमिनिक लापियर र लारी कोलिन्सको पुस्तक ‘फ्रिडम एट मिडनाइट’ मा बुटा सिंह र जैनाबको प्रेमकथा र सुल्तानाको जीवनी प्रसंग उल्लेख छ । बुटा सिंह र जैनाबको प्रेमकथामा आधारित पञ्जाबी चलचित्र ‘शहिद ए मुहब्बत बुटा सिंह’ ले भारतमा राष्ट्रिय पुरस्कार जितेको थियो । सन् १९९९ मा प्रदर्शित यो चलचित्र भ्यानकुभरलगायत विश्वका धेरै स्थानमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइसकिएको छ । भारत र पाकिस्तानमा उनीहरुकै जीवनीमा थुप्रै वृत्तचित्र र पुस्तक प्रकाशित छन् । जैनाबको निधन केही समयअघि भइसकेको छ । पछिल्लो जीवनबारे जैनाबले दुःख व्यक्त गरेकी थिइन् । दोस्रो लोग्नेले घरेलु यातना दिने र भोकै राख्ने गरेको र अदालतमा जमिलविरुद्ध नबोलेमा लोग्ने र छोरीको हत्या गरिदिने धम्की दिएको बयान दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !