भाले नबासेर रोकिन्छ र बिहान ! « Jana Aastha News Online
Logo
१३ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 27 2022
Logo
१३ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 27 2022

भाले नबासेर रोकिन्छ र बिहान !

प्रकाशित मिति :  २३ मंसिर २०७३, बिहीबार ०८:५७


  • संकेत कोइराला

‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने वेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटिको चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रूपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीबारे हामी दाजुभाइले सोचिरहेका थियौं । मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन । बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन । लाग्यो– यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । चिठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिठी दिँदा हात कामेका थिए । उहाँले चिठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुःख बुभेंm । यदि, म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रोसँग तयार गर्न सक्थें ।’
गान्धीको आत्मकथा

पान सिगरेटको दुकानमा रेडियोले प्रसारण गरेको सुनेँ– गान्धीको मृत्यु भयो । म ह्याण्ड ग्रिनेड लिएर पर्खिरहेको छु । एउटाले दिएर गइसक्यो र अर्कोले लिन लागिरहेको थियो । मलाई कत्रो ठूलो अँध्यारो महसुस भइरहेको थियो । गान्धीसित कत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव त्यसबखत गरेँ । मलाई त सबैथोक भताभुंग भएजस्तो लाग्यो ।
 विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त

‘मैले स्कुलभित्रै चुरोट लुकाएर पिउन थालें । फस्र्ट ब्वाईले नै खान थालेपछि अरु साथीलाई सजिलो भयो । चुरोट तान्यो, मुखभरिको धुवाँ आकाशतिर फाल्यो । वरिपरि धुवाँको कुहिरीमण्डल हेर्न मज्जा लाग्थ्यो । धुवाँलाई फोक्सोसम्म एक फन्को लगाएर नाकबाट फाल्न पाउँदा स्कुलकै दादा भएको भान हुन्थ्यो । सानैदेखि उटपट्याङ थिएँ । साथीभाइलाई डिट्ठा, हवल्दार, जमदार, सुवेदार बनाउँथें । आपूmचाहिँ बडाहाकिम बन्थें । मैले यसरी खेलाँची सभा बसालेर कतिलाई सिस्नुपानी लगाउन आदेश दिएको छु ।’

रुक्मांगद कटवाल आत्मकथा
न त कवि गनिएको हुँ न ता भाष्यकार
न त बुभ्mदछु केही काव्य संसार सार
बनिकन कवि जस्तै तैपनि फुर्ती साथ
अघि सरद छ सित्तै चञ्चले लेखनाथ ।

नेपाली साहित्यमा भूत, वर्तमान, भविष्य मात्र होइन, समय र प्रकृतिका केस्रा–केस्रा चिरफार गरेर कविता लेख्ने सिद्धहस्त कवि लेखनाथ पौड्याल जनताले ‘शिरोमणि’ को उपाधि दिइसक्दा पनि आफ्नो स्वमूल्यांकनमा भने काँचै रहेछन् । यी महान आत्माले बुद्धि विनोद, ऋतुविचार, तरुण तपसी, कालमहिमाजस्ता कालजयी कृतिमार्पmत शाश्वत सत्य मात्र प्रकट गरेनन्, गुणी व्यक्तिलाई वृक्षसँग तुलनाको जीवन्त उपमा दिएर आफ्ना कवितालाई नेपाली समाजको भाषिक स्तरमा रूपान्तरित गराए । समाजबाट उत्खनन् गरेका शब्दभाव समाजलाई नै अर्पिए । धरणीधर कोइरालाको जाग न जागजस्ता कविताले त्यसवेलाका क्रान्तिवीरहरूलाई यसरी जगायो, बन्दुकको नालमाथि विजय पाउन युवाहरू रणमैदानमा ओर्लिए । गोपालप्रसाद रिमालको आमा कविताको भावभूमि त विचित्रैको छ । जुन अहिले पनि आलै छ । राजनीतिक क्रान्ति भलै नहोस्, भानुभक्तले कविताबाटै घुस्याहा डिट्टा, बिचारीहरूको उछितो काढे । आफ्नै साथी गजाधर सोतीकी श्रीमतीको असभ्य र अशिष्ट व्यवहारलाई उनले कलमबाट बाहिर ल्याएर अरूलाई सचेत गराए । संसारमा नयाँ भनेको केही हुँदैन । नयाँ भनेको पुनर्प्रयोगको चलाखी मात्र हो । सम्पत्ति नामको राती गेडी एउटा कलम र कागज भएको एउटा कविले समाजमा यत्रो तरंग ल्याउन सक्छ । चेतनाको छालमा समाजलाई पौड्याउन सक्छ । सत्मार्ग हिँड्नेले एक्काइसौं शताब्दी मात्र होइन पाषाण युगबाट पनि उत्तिकै मार्गदर्शन पाउन सक्छ । सच्चा मानिसले कमिलाबाट पनि मिहिनेत सिक्न सक्छ । त्यो मिहिनेत सार्थक हुँदा मह जम्मा गर्न मौरीको बाटो हेर्नु पर्दैन, झारपात नै काफी हुन्छ । त्यसै भनेको होइन नि– भाले नबासेर विहान हुन रोकिँदैन ।

नेपाली साहित्यका बाचाल वादशाहहरूले सधैं सिकाइमै आफ्नो जीवन उत्सर्ग गरे । प्रकृतिको पूजा गरे । आत्माको आवाजलाई गीता, बाइबल र कुरान माने । हरेक बोलीमा साहित्यको एउटा विधा बर्साउने लक्ष्मीप्रसाद देवकोटाले जीवनको उत्तराद्र्धमा उद्घोष गरे– ‘मुनामदनबाहेक मेरा सवै कृति जलाइदिए हुन्छ ।’ बिपी कोइराला, टंकप्रसाद आचार्यजस्ता राजनेता जन्मिए । प्रजातन्त्र र राष्ट्रियताको सवालमा बिपी सधैं सतिसालभैंm उभिए । आचार्य यस्ता कूटनीतिक महारथी थिए, जसले चीन र जापानबीचको वैमनुष्यलाई शान्तिदूत भएर सामान्य बनाए । सुनको गहनाले प्रचार नखोजेजस्तै सच्चा मानिसले आफ्नो विज्ञापन खोज्दैन । तर, अहिले बजारमा बर्सिने आत्मवृत्तान्त नामका प्रायोजित विज्ञापन पढ्दा लेख्नेभन्दा पढ्नेले कुरीकुरी मान्नुपर्ने अवस्था छ । उनीहरू लुगा नलगाई जन्मिएको देखि यो सृष्टि थेग्ने जिम्मेवारी कुनै वेला आफ्नै काँधमा रहेको अर्थ लाग्ने सम्मका भाव प्रकट गर्न पछि परेका छैनन् । आत्मरतिले उनीहरूलाई नै लिलिपुट बनाउँदै लगेको छ । किताव लेख्नु, केवलकारमा चन्द्रागिरि डाँडो चढ्नु, ठूलो पिलेन चढेर एकपटक विदेशका चिल्ला सडक र समुद्रका फोटा हाली आफ्नो धरा सराप्नु प्रारम्भिक योग्यता भएका छन् । डा. रामवरण यादव, डा. बाबुराम भट्टराई, रमेशनाथ पाण्डे, रुक्मांगद कटवाल, छत्रमान गुरुङ, रेवतीरमण खनाल, सुबसेन ओली, हृषिकेश शाहकृत कितावमा बखानका थाती छन् । जुन देशको अर्थतन्त्र माइनस हुनबाट बालबाल जोगिएको छ, ती देशका बर्दीधारीले त्यागको बिस्कुन सुकाउनुको जमिन के रहन्छ ? जसरी दाम्लो जतिसुकै लामो बाटेपनि त्यसको निष्कर्ष गाँठोमा गएर टुंगिन्छ, त्यसरी नै देशमाथि लगाइएको गुनको परिणाम पनि आर्थिक विकासको सूचकांक नै हो ।

एकातिर खेताला खोजेर लेखक बनेका उपदेशकहरू आफ्नो बखानमा खस्रे भ्यागुतो भैंm फुलेका छन् भने अर्कातिर यो देशका नागरिक सरकारी सेवा लिँदा दर्ता चलानीमा समेत सलामी तिर्न बाध्य छन् । हामीलाई दरिद्र देशको त्यो नागरिक करार गरिएको छ– जुन देशको पासपोर्ट बोकेर हिँड्दा पाइला पाइलामा मर्नुपर्छ । अर्काको आँगनको दुबो हरियो देख्ने रोगले यस्ता विकृतिको उपचार गर्ने जाँगर कसैमा देखिँदैन । आँसुमा ९९ प्रतिशत भाव एक प्रतिशत पानी हुन्छ रे ! नेपालीको नियति त्यहाँभन्दा माथि उठ्ने लक्षण देखिँदैन । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई कसैले सोध्यो– ‘तपाईं साधारण मानिसबाट राष्ट्रपतिजस्तो उच्च पदमा कसरी पुग्नुभयो ?’

लिंकनले मुस्कुराउँदै जवाफ दिए– ‘मैले आफ्नो जीवनमा पाइला पाइलामा परीक्षा दिएँ, हरेक असफलताबाट केही कुरा सिकें । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै गएँ । मेरो सफलताको रहस्य यही नै हो ।’

लवाई खवाई र कागजी चिर्कटोमा पाएको प्रमाणपत्र हेर्ने हो भने हाम्रा नेताहरू एक से एक छन् । घरमा ¥याकभरि किताव राख्छन् । पुस्तक मेला, लोकार्पण कार्यक्रममा हाँप र झाँप गर्दै हजारौंको किताव किन्छन् । तर उदेकलाग्दो यिनीहरू पढ्छन्चाहिँ के ? सुसंस्कारयुक्त मानिसको गति मति यस्तै हुन्छ ? उनीहरूको जीवनमा किताबी ज्ञानको थोरै तत्वबोधले प्रवेश पाएको देखिँदैन । रामायण पढ्छन् तर महाभारत मच्चाउँछन् । हातमा गीता लिन्छन्, बाइबलको विवादमा फस्छन् । बाटो र माटोको अन्तर भेउ पाइन्न भने त्यस्तो ज्ञानको के अर्थ ? भनिन्छ– गुरुले ज्ञान बाँड्छन् अनि शिक्षकले सूचना । सायद गुरुको ज्ञान हैन, शिक्षकको सूचना हाम्रा लागि मूलमन्त्र बन्दै गएको छ । पढेर अक्षर बाँच्ने मात्रको यस्तै घामट योग्यता ग्रहण गर्ने हो भने संसारबाटै कागज कारखाना बन्द गरिदिए केही फरक पर्दैन । दूध खाएर सर्प भैंm विष निकाल्ने हो भने त्यो ज्ञानको अर्थ छैन । बरु ज्ञान भनेको त घाँस खाएर दूध दिने गाई भैंसी जस्तो पो हुनुपर्छ त ! 

यदि नेताले साँच्चै पढेकै हुन् भने या पढ्नकै लागि कितावको ठेलीले दराज भरेका हुन् भने लेखनाथको काल महिमाले किन पेट पोल्दैन ? भानुभक्तको प्रश्नोत्तरले केही गरौं भने अभिलाषा किन जाग्दैन ? धरणीधरको जागरण कविताको गद्यधाराले किन अल्छी पखाल्दैन ? माधव घिमिरेको राष्ट्र निर्माता कविता देश केक बनाउने विक्षिप्त मानसिकतामा किन परिवर्तन ल्याउँदैन ? भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को व्यंग्यले किन कसैको ह्याकुलोमा प्रहार गर्दैन ? अनि युवा स्रष्टा बुद्धिसागरको कर्नाली ब्लुज र अमर न्यौपानेको सेतो धरती कृतिले आफ्नो औकात नभुल्न किन प्रेरित गर्दैन ? जर्ज बर्नाड शाले भनेका छन्– पढ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर के पढ्नु पर्छ भन्ने कसैलाई थाहा छैन ।

सम्भवतः नेताहरू यही अभिव्यक्तिको सिकार भए । नपढेको पुस्तक, नहिँडेको बाटो, प्यास नमेटिने पानीको के स्वाद हुन्छ र जिन्दगीमा ? जतिसुकै ठूलो समुद्रमा पौडिए पनि मानिसको तिर्खा मेट्ने तागत त त्यही तिरतिरे धाराले राख्छ । समुद्रको नुनिलो पानीले तिर्खा बढाउँछ । घटाउँदैन । जतिसुकै राम्रो र आकर्षक भए पनि मानिसको अनुहार २० वर्षसम्म मानसपटलमा रहला । तर विचार २ हजार वर्षसम्म अमर रहन्छ । त्यसैले नेताहरूले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ । जिन्दगीमा जब ठुल्ठूला वस्तु मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन । अबको युग अन्त्यहीन सीमा र अन्तरीक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो । त्रिशूल, गाईको फोटो, धनुकाँड, जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्ठा हो । धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो । आत्मअनुशासन हो । यो खैंजडी बनाउने विषय होइन । हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन् । तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन् । प्रकृतिले मिलाएको सन्तुलन बिगार्न खोज्नेहरू आपैंm खरानी हुने निश्चित छ ।

नेपालमा आएका राजनीतिक परिवर्तनको स्वभाव छाते च्याउजस्तै बर्खे झरी आउनासाथ अस्तव्यस्त हुने खालको देखिने गरेको छ । रूख भए फल खान पाइने हो, तर जरैसँग रूख ढालिएपछि न भूतो न भविष्यको खाडलमा जाकिनुको विकल्प छैन । मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत समयमै आउनु जरुरी छ । नत्र यी सवै प्रयास एकमुठी खरानीका लागि घर पोल्ने निरर्थक खेल हुनेछन् ।

सत्य के हो ? इतिहासकार जानून् । तर आवश्यकताका नाममा एकपेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ ? बुझिनसक्नु छ । यो यही देश हो, जहाँ ०७ सालदेखि संविधानसभाको दुन्दुभि बजाइयो । यसै नाममा हजारौं मान्छे मारिए । नभन्दै त्यो घडी पनि आयो । आश्चर्य, जुन दिन संविधानसभाको अवसान भयो, त्यही दिन राजनीतिक नाराका नाममा समाजै प्रदूषण गर्नेगरी बाँसझाङमा कराउने रूपीहरूको स्वर बन्द भयो । यो स्वर बन्द हुनासाथ देशमा एकखाले शान्ति छायो । विशुद्ध राजनीतिमा जनतालाई सशक्तिकरण गरिन्छ । तर, नांगो आङ् र सारंगी पेटमा खेल्ने सोखका कारण उल्टो गंगाको यात्रा स्वाभाविक बन्दै गयो । फलस्वरूप राजनीति धोकासिवाय केही ठहरिएन ।

राम्रो काम गर्नेका लागि हरेक समय शुभसाइत हो । देश बनाउनेहरूले अण्डाको माया गर्ने, अम्लेट पनि खान खोज्ने आरिस गर्नु हुँदैन । एउटा पुस्ताले आफ्नो जीवन दाउमा नराख्ने हो भने अर्को पुस्ताको जीवनयापन सरल बन्नै सक्दैन । लोकतन्त्र र सुशासन एक अर्काका पर्यायवाची शब्द हुन् । साँचो लोकतन्त्रमा कसैको मानमर्दन हुँदैन । कसैबाट हुनु हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । भगवान् गौतम बुद्धले भन्नुभएको छ– ‘एकदमै निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छ ! न भोलि हुनेछ ।’ बुद्ध वाणी सम्झेर हामी उँच–नीचबाट माथि उठ्नु आवश्यक छ । त्यही भात थालमा हुन्जेल भात हुन्छ तर थालबाट झरेपछि जुठो । जिन्दावादका हात मुर्दावादमा उठ्न कतिबेर पनि लाग्दैन ।


प्रतिक्रिया दिनुहोस !