शिलाकी जवानीमा कम्मर मर्काउँछिन् माते

विराटनगर–१ पोखरियामा केशव र यशोदा पौडेलकी कान्छी छोरी आरती १० वर्षदेखि पाथीभरा माताको नामले चर्चित छिन् । कक्षा ५ मा पढ्दै गर्दा माताको अवतारमा जन्मिएको भनेर आमाबाबु र छरछिमेकबाट घोषणा गरिएकी उनले १० वर्षदेखि (हाल युवती) अरूको ग्रहदशा र भाग्य पनि हेर्ने गरेकी छन् । उनलाई साक्षात् पाथीभरा माता मानेर दर्शन गर्न जाने, ढोगभेट गर्नेको अझै लर्को लाग्ने गरेको छ ।

साँझ–बिहान आरती गराउन घरमा मन्दिरसमेत बनाइएको छ । पाथीभरा माताका नामले शक्तिपीठ घोषणा गर्दै उनको घरमा ठुल्ठूला यज्ञसमेत लगाइँदै छ ।

तर, बालिकाबाट युवती बन्दै गएकी ती माता कहिले वनभोज कार्यक्रममा शिलाकी जवानीमा छमछमी डान्स गरिरहेकी हुन्छिन् भने कहिले सांगीतिक कार्यक्रममा गायिका बनेर करुण रसका गीत गाइरहेकी भेटिन्छन् । चार वर्षपहिले वनभोजमा शिलाकी जवानी गीतको धुनमा छमछमी नाचेको समाचार जनआस्थाले लेखेको थियो । वनभोज कार्यक्रममा आमा यशोदा र मन्दिर व्यवस्थापन समितिका मानिससँगै उनी नाचेकी थिइन् ।

१९ मंसिरमा गुरुकुलमा तिनै माता स्वर्गीय स्वरसम्राट् नारायण गोपालको २६ औं स्मृति दिवस पारेर मायाप्रीति र विरहले भरिएको ‘तिमीलाई म के भनूँ, जुन भनांै कि फूल भनौं’ बोलको गीत गाउँदै गरेको अवस्थामा भेटिइन् । स्वर संगम संगीतालयका विद्यार्थीले उक्त कार्यक्रम राखेको थियो । २० जना नयाँ पुराना विद्यार्थीले नारायण गोपालका कालजयी गीत गाएका थिए ।

यस्तैमा उद्घोषकले एउटा कालजयी गीत गाउन पाथीभरा मातालाई बोलाए । माताले नारायण गोपालका विरहका गीत गाउने भन्ने सुन्दा दर्शकदीर्घामा हलचल मच्चियो । तर, सधँै अरूलाई फूल–अक्षताले पूजा गराउने र टाउकोमा हात राखेर आशीर्वाद दिने अनि ग्रहदशा हेरिदिने पाथीभरा मातादेवी उर्फ आरती पौडेल मञ्चमा गएर बसिन्, सबै छक्क परे । केहीले मञ्चमै गएर माता दर्शन भन्दै ढोगे । युवा उमेरकी माताले चाहिँ अलि लजालु हँुदै नारायण गोपालको विरही मायापिरतीको एउटा कारुणिक गीत सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।

विराटनगर उपमहानगरपालिका–१ कुशल टोलस्थित श्री पाथीभरा शक्तिपीठमा १० वर्षदेखि साक्षात् माता भनेर देवीको अवतार घोषणा गरिएकी ती माताले सांगीतिक कार्यक्रम गएर मायापिरतीका गीत गाउन हुन्छ कि हुँदैन र वनभोज कार्यक्रममा सर्ट–प्यान्टमा शिलाकी जवानी भन्दै कम्मर मर्काइ–मर्काई छमछमी नाच्न हुन्छ कि हुँदैन ? अरूलाई कडा नियम लगाएर देवीको साक्षात् अवतार घोषणा गरिएकी माताको सार्वजनिक जीवन कस्तो हुनुपर्छ त्यो धर्मका ज्ञाताले व्याख्या गरून् वा एक युवतीलाई उसको इच्छा, आकांक्षा र रुचि मारेर शिक्षामा समेत बाधा पु¥याई जबरजस्ती माता बनाएर राख्नु शोषण हो कि होइन, अधिकारकर्मीले नै खोजीनीति गरून् ।

टिप्पणीहरू