शैक्षिक क्षेत्रमा कोरोनाको असर : केही मर्ज भए,धेरै बन्द हुने तयारीमा

शैक्षिक क्षेत्रमा कोरोनाको असर : केही मर्ज भए,धेरै बन्द हुने तयारीमा

शिव अधिकारी

कोरोना महामारी र त्यसपछिको लामो निषेधाज्ञाका कारण मुलुकको शैक्षिक क्षेत्र अस्तव्यस्त बनेको छ । निषेधाज्ञा आंशिक रुपमा खुलेपछि अन्य क्षेत्र सामान्य अवस्थामा फर्किंदै गर्दा शैक्षिक क्षेत्र भने अझै ठप्प छ । जसका कारण लाखौँ विद्यार्थीको भविष्य मात्र अनिश्चित बनेको छैन,समग्र शैक्षिक क्षेत्र नै तहसनहसको अवस्थामा पुगेको छ ।

पहिलो लहरको कोरोना महामारीपछि सरकारले जारी गरेको झण्डै पाँच महिना लामो लकडाउनले लामो समय बन्द भएका विद्यालयहरु वीचमा केही समय खुलेपनि अहिले पुन: बन्द छन् । पटक-पटकको निषेधाज्ञाले शैक्षिक गतिविधि नियमित हुन नपाउँदा कतिपय निजी विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन् । केही शिक्षण संस्था यसअघि नै बन्द भैसकेका छन् भने केही मर्ज हुने क्रममा छन् ।

महामारीको समयमा प्रविधिको प्रयोग गरी जेनतेन पठनपाठन गराउँदै आएका विद्यालयहरु बिभिन्न कारणले बन्द हुने अवस्थामा पुगेको एनप्याबसनका महासचिव सुवास न्यौपानेले बताउनुभयो । जनआस्थासँगको कुराकानीमा उहाँले कोरोना महामारीले थलिएको शैक्षिक क्षेत्रलाई नियमित अवस्थामा फर्काउन आफूहरुले सक्दो प्रयास गरे पनि सरकारको बेवास्ताका कारण सदाको लागि बन्द गर्नुपर्ने अवस्थामा पुगेको गुनासो पोख्नुभयो ।

शिक्षाविद विद्यानाथ कोइरालाको पनि शिक्षण संस्था बन्द हुनु दु:खद भएको टिप्पणी थियो । विद्यालय बन्द हुँदा त्यसको असर शिक्षक, कर्मचारी र विद्यार्थीमा पनि पर्ने भएकाले सरोकारवालापक्ष गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

‘विद्यालय बन्द हुँदा व्यावसायिक असर मात्र हुँदैन मनोवैज्ञानिक समस्या पनि आउँछ । शिक्षक, विद्यार्थी र समग्र शैक्षिक क्षेत्रमाथि पर्ने मनोवैज्ञानिक त्रास झन डरलाग्दो छ । त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ’,शिक्षाविद कोइरालाले भन्नुभयो ।

कोइरालाले अहिलेको अवस्थाबाट पाठ सिकेर शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाउन सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ । विद्यालयमा हुने पठनपाठनलाई भन्दा विद्यार्थीले घरमै बसेर सिक्ने कुरामा बढी जोड दिनुपर्ने उहाँको भनाइ छ । महामारीबाट उत्पन्न चुनौतीलाई अवसरमा बदल्न सके विद्यालय शिक्षालाई सामाजिक मूल्य,मान्यतासँग जोडेर सिकाई प्रक्रियालाई नयाँ ढंगले विकास गर्न सकिने उहाँले बताउनुभयो ।

कोइरालाले अहिलेको अवस्थामा शिक्षकहरुलाई तलबभन्दा कोरोना खोपका लागि संघर्ष गर्न सुझाउँदै बिना कामको तलब नलिन आग्रह गर्नुभयो । केही निजी विद्यालयले मनोमानीपूर्वक शु:ल्क लिने गरेकोमा आफ्नो पनि असहमति भएपनि शिक्षकहरुले काम नगरेको बेलाको तलब माग्नु उचित नहुने उहाँको ठहर थियो ।

लामो समयको बन्दाबन्दीले सिंगो शैक्षिक वर्ष खेर जाने चिन्ता बढिरहेका बेला कोइरालाले वैकल्पिक सिकाइलाई प्रभावकारी बनाएर पठनपाठनलाई नियमित गराउनुपर्नेमा जोड दिनुभएको छ । अहिले पनि भौतिक उपस्थितिमा कक्षा संचालन गर्ने अवस्था नरहेकाले प्रविधिमार्फत पढाइलाई निरन्तरता दिन सके शैक्षिक वर्ष खेर नजाने उहाँहरुको बुझाइ छ ।

टिप्पणीहरू