आस्थाको अवस्था हेरिदिनोस्, प्रधानमन्त्रीज्यू !

झापा गोलधापकी सात वर्षीया आस्था अधिकारी अशक्त छिन् । दिनभर कुर्सीमा बस्छिन्, दुबै खुट्टा सिधा छैनन् । कम्मरदेखि मुनिको भाग चल्दैन । छोएको, चिमोटेको, पोलेको पनि थाहा हुँदैन ।

कम्मरदेखि मुनि ‘सेन्सलेस’ भएकै कारण दिसा–पिसाब आएको पनि थाहा पाउँदिनन् । लगाएको कपडा चिसो भएपछि आमालाई बोलाउँछिन् । र, अर्को कपडा फेर्न लगाउँछिन् । अभिभावकका अनुसार आस्थाको शरीरमा मेरुदण्ड नै छैन । दिनभर कुर्सीमा राखिन्छ । निद्रा लाग्दा खाटमा सुताइन्छ । आजसम्म कोल्टे सुत्न पाएकी छैनन् । गहभरि आँसु पार्दै हजुरआमा दुर्गादेवी भन्छिन्, ‘मेरी नातिनीको संसार नै यही कुर्सी हो ।’

आस्थालाई सफा बनाएर राखेकी हुन्छिन्, आमा राधिकाले । कुर्सीमा पलेँटी कसेर बसेजस्तै देखिन्छ । तर, उनी त्यहाँबाट ओर्लिनसम्म सक्दिनन् । घरका सबैसँग गफ गरिरहन्छिन् । बोल्ने शैली बेग्लै छ । मीठो बोल्छिन् । भजन पनि गाउँछिन् । बसीबसी कम्मरदेखि माथि चलाउँछिन्, त्यो उनको अभिनय हो । सफा भएर बस्न रुचाउँछिन् । मोबाइल चलाउँछिन् । विद्यालय जाने उमेर भयो । तर, छोरीको स्वास्थ्य अवस्थाकै कारण बुबा अम्बिका र आमा राधिकाले स्कुल पठाउन सकेका छैनन् । घरमै क, ख…, ए, बी, सी, डी.. सिकाउँदै छन् ।

चिटिक्क परेका कपडा लगाएर कुर्सीमा बसेकी उनी सुन्दर देखिन्छिन् । हाँसिरहन्छिन् । आस्थाको स्वास्थ्य यतिमात्र बिग्रिएको होइन । धेरै समस्या छ । गुप्तअङ्गको भित्री भाग बाहिर निस्किएको छ, डरलाग्दो देखिन्छ । गुप्तांग स्वाभाविक स्थानभन्दा निकै माथि छ । ढाडमा पनि भित्रबाट मासुको डल्लो पलाएको छ । यो समस्या जन्मजात हो ।

एक दिनमा ५० देखि ६० वटा कपडा धुनुपर्छ, आमा राधिकाले । जाडोमा कपडा सुक्दैनन् । छोरीलाई छाडेर रात बस्ने गरी माइत पनि जान सक्दिनन् । ‘पछि म चिकित्सक हुन्छु अनि सबैलाई निको पार्छु भन्छे,’ टिलपिल आँसु पार्दै राधिकाले भनिन् ।

घर अगाडि साथीहरू खेलेको हेरिरहन्छिन्, आस्था । कहिलेकाहीँ सोच्दासोच्दै गहिराइमा पुग्छिन् । , हजुरआमालाई सोध्छिन्, ‘सबै नाच्छन्, खेल्छन्, मलाईचाहिँ किन यस्तो भएको ?’ नातिनीले त्यसो भनेका वेला साहै्र मन दुख्ने दुर्गादेवी बताउँछिन् ।
आस्था गर्भमा हुँदा आफ्नो पेट एकातिर नचलेको राधिका सुनाउँछिन् । निरन्तर चिकित्सककहाँ गएर जाँच गराइरहिन् । जब सुत्केरी ब्यथा लाग्यो, चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भने । तर, मानिनन् । उनकै जिद्दीका कारण नर्मल डेलिभरी सम्भव भयो । आस्थाको जन्म हुनासाथ चिकित्सकले ७२ घण्टादेखि नबाँच्ने भनेर घर पठाइदिएका थिए । तर, ती चिकित्सकको निष्कर्ष फेल भयो । उनी अहिले ७ वर्षकी भइसकिन् ।

आस्था तीन महिनाकी छँदा बोकेर आमा राधिका र काका कृष्ण काठमाडौँ गए । टिचिङ र कान्ति बाल हस्पिटलमा देखाए । त्यतिवेला आस्थाको अवस्था देख्नासाथ चिकित्सकले भनेका थिए, ‘ओ माइ गड ! यस्तो बच्चा देखेकै थिएनौँ, सायद भगवान्् पनि निदाउनुभएछ !’ त्यहीवेला थाहा भएको हो, आस्थाको मेरुदण्ड छैन भनेर ।

चिकित्सकले कम्मरदेखि मुनि प्लाष्टिक सर्जरी गर्नुपर्छ भनेका थिए । झण्डै १२ लाख रुपैयाँ बोकेर विदेश लैजान सल्लाह पनि दिएका हुन् । ढाडमा स्टिल राख्नुपर्ने, त्यसलाई वर्षैपिच्छे फेर्नुपर्ने बताएका थिए, चिकित्सकले । तर, उपचार सम्भव हुने कुरामा उनीहरू आफैँ विश्वस्त थिएनन् । एकपटक हामी नै प्रयास गर्छौं पनि भनेका थिए । तर, अधिकारी परिवारका लागि त्यो रकम जुटाउन सहज थिएन । अहिले पनि छैन । बुबा अम्बिका साउदीमा थिए । त्यहाँ कमाएको ६÷७ लाख रुपैयाँ छोरीको उपचारमै सकियो । अहिले सिटी रिक्सा चलाएर परिवार धान्दै छन् ।

घरमा औधि माया पाएकी छन्, आस्थाले । एक्लै कहिल्यै छोडिँदैन । हजुरआमा साथमै हुन्छिन् । ‘केही काम लगायो भने कहिल्यै नाइँ भन्दिन, गर्न खोज्छे,’ दुर्गादेवीले भनिन्, ‘तर, यसले काम गरेको हेर्नै सक्दिनँ, के हुन्छ हुन्छ ! ठूली भएपछि त हिँड्न सक्छु होला नि आमा भन्छे, केही बोल्नै सक्दिनँ ।’

पैसा भए छोरीको उपचार सम्भव छ जस्तो लाग्छ अम्बिका र राधिकालाई । तर, उपचारमा चाहिने पैसा छैन उनीहरूसँग । ‘हाम्रालागि कोही भगवान्् भएर निस्किए भने छोरीको उपचार गर्ने थियौँ,’ अम्बिकाले भने, ‘दिसा–पिसाब मात्र कन्ट्रोल भइदिए ह्विलचियरमा राखेर भए पनि स्कुल पु¥याउँथेँ छोरीलाई ।’ कहिलेकाहीँ बजार जान मन गर्छिन् । हजुरआमाले ह्विलचियरमा राखेर लैजान्छिन् ।

केही समयअघि कोही मान्छे आएर आस्थाको फोटो खिची गएका थिए । उनीहरू फेरि आएनन् । त्यो सम्झँदै हजुरआमा दुर्गादेवीले भनिन्, ‘मेरी नातिनीको फोटो देखाएर कमाउने माध्यम बनाए होलान् भनेर साह्रै डर लाग्छ बाबु !’
– लक्ष्मी काफ्ले

टिप्पणीहरू