माथि फुटेका एमाले र माओवादी तल जुटे

माथि फुटेका एमाले र माओवादी तल जुटे

ललितपुर महानगरपालिकाको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा असहमति राख्दै आएका एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरूले आज छुट्टै भेला गरेका छन् ।

दिउँसो ३ बजेदेखि च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले जिल्ला कमिटीको आयोजनामा भेला भएको हो । भेलामा ललितपुर महानगरपालिकामा निर्वाचित एमाले र माओवादीका वडा अध्यक्ष,सदस्य तथा कार्यपालिका सदस्यहरू गरी झण्डै ४५ जनाको उपस्थिति रहेको छ । भेलाको अध्यक्षता जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले गर्नुभएको बताइएको छ ।

महानगरपालिकाको अघिल्लो साता भएको कार्यपालिका बैठक पनि तनावको अवस्था झेल्दै बल्लतल्ल सकिएको थियो । तर, अहिले नगरसभाको बैठकमा फेरि लफडा शुरु भएको हो । असार १० गतेदेखि जारी नगरसभा बैठक वडाध्यक्षहरूबीच आपसी सहमति नहुँदा पटक पटक स्थगित हुँदै आएको छ । त्यहि क्रममा १८ गते सर्वसम्मतले नीति तथा कार्यक्रमको समीक्षा गर्न पाँच दिनलाई स्थगित गरिएको थियो ।

समीक्षापछि हिजो बसेको बैठकमा पनि तनाव उत्पन्न भयो । वडाको बजेट वितरणमा पनपच्छे गरिएको, स–साना नीति तथा कार्यक्रमका लागि ठूलो मात्रामा बजेट राखिएको विषयमा वडाध्यक्षहरूबीच समझदारी नहुँदा पुनः लफडा भएको हो ।

महानगरले आर्थिक वर्ष २०७८/०७९ का लागि ५ अर्ब ५५ करोड ९५ लाख रकमको बजेट प्रस्ताव गरेको छ । रकम बाँडफाँडमा कुरो नमिल्दा तनावको अवस्था सिर्जना भएको हो ।

त्यहि विषयमा खरो ढंगले प्रस्तुत हुन एमाले र माओवादीका जनप्रतिनिधिहरूले आज दिउँसो छुट्टै भेला र छलफल गरेको बुझिएको छ ।

टिप्पणीहरू