माओवादीले भन्यो, ‘बेसरोकारवालाहरुले दुष्प्रचार गरे’

माओवादीले भन्यो, ‘बेसरोकारवालाहरुले दुष्प्रचार गरे’

नेकपा (माओवादी केन्द्र) ले पार्टीको वैधानिकतामाथि उठेका प्रश्नको सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गरेको छ । माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता खारेजीको पत्र दर्ता गराएर दुष्प्रचार गरेको बताएको छ ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आज एक प्रेस वक्तव्य जारी गर्दै केही अवसरवादी, स्वार्थी,लालची,अनैतिक तत्त्वले पार्टीलाई बदनाम गर्ने उद्देश्यले यस्ता दुष्प्रचार गरेको बताएका छन् । निर्वाचन आयोगमा दर्ता गरिएको दल दर्ता खारेजीको पत्र आफैमा गलत रहेको भन्दै माओवादीले संविधान,कानून,विधि, विधानविपरित गरिएको दुस्प्रचारको पछि नलाग्न पार्टीका नेता-कार्यकर्ता, शुभचिन्तकलगायतलाई आग्रह गरेको छ ।वक्तव्यमा अनाधिकृत र बेसरोकारका निवेदन दर्ता गरी भ्रम सिर्जना नगर्नसमेत आग्रह गरिएको छ । ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता दल खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्र अवैधानिक रहेको दावी गर्दै अधिवक्ता सरोज बुढाथोकीले बुधबार दल दर्ता खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएका थिए । माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादीका नेताहरुले ०६९ सालदेखि माओवादी केन्द्रले महाधिवेशन नगरेको जिकिरसहित दर्ता खारेजीको निवेदन बुढाथोकीमार्फत दिएका हुन् ।

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग पुगेर निवेदनबारे आज थप जानकारी लिएका थिए ।

टिप्पणीहरू