पूर्वएसपीले ब्रेकको ठाउँमा एक्सिलेटर दबाउँदा…

पूर्वएसपीले ब्रेकको ठाउँमा एक्सिलेटर दबाउँदा…

नेपाल प्रहरीका अवकाशप्राप्त उपरिक्षक अर्थात् एसपी मायाहजुर शाहले मंगलबार राति धुम्बाराही पिपलबोट हुँदै धुम्बाराही ओरालो र चक्रपथमा तहल्का मच्चाएका छन् । शाहले बा.१० च ४७५५ नं को निजी कार जथाभावी हुर्ईंकाएर सडकमा आतंक मच्चाएको स्थानीयवासीले बताए ।

उनले जथाभावी हुईंकाएको कार ठोक्किएर धुम्बाराही पिपलबोट, त्यसपछिको ओरालोदेखि सरस्वती नगरसम्मका केही पसलमा भौतिक क्षति भएको छ भने बाटोमा हिँडेका सर्वसाधारणसमेत घाइते भएका छन् ।

धुम्बाराही पिपलबोटस्थित एक जना भूतपूर्व डिआईजीको घरबाट साँझ पौने ८ बजेतिर निस्केका उनले नजिकैको मासु पसलमा आफू चढेको गाडी सोझै लगेर जोतेका थिए । मासु पसलको सटर बन्द भएकाले भित्रका मानिस जोगिएको बताइन्छ ।

जथाभावी हुँईंकाएको गाडीले सडक किनारामा हिँडेकालाई समेत ठक्कर दिने र लतार्ने गरेको थियो । सबैभन्दा पहिले उनले ओरालोमा हिँडेका एक जना पुरुषलाई ठक्कर दिएका थिए ।

त्यति वितण्डा मच्चाएपछि शाह गाडीमा सुईंकुच्चा ठोक्दै चाबहिल सरस्वती नगरस्थित घर पुगेर केही बेर सम्पर्कविहीन भएको पीडितहरूले आरोप लगाएका छन् । उनीहरूले शाहले मदिरा सेवन गरेर गाडी चलाएको आरोपसमेत लगाए ।

तर,शाहलाई नजिकबाट चिन्नेहरूका अनुसार उनले सोमरस मुखमा नहालेको एक जुग भएको छ । बाह्र वर्षअघि ढाडको अपरेशन गरेपछि उनी राम्ररी खुट्टा नटेक्ने हालतमा थिए । मधुमेह र उच्च रक्तचापबाट पीडित शाहले ढाडको अपरेशनपछि मदिरापान गर्न छाडेको बताइन्छ ।

धुम्बाराहीको ओरालोमा ब्रेक थिच्न खोज्दा खुट्टाको गडबडीले एक्सिलेटर थिचेको कारण उक्त दुर्घटना भएको उनको दावी छ । दुई वटै गोडा असन्तुलित भएको मान्छेले भूलवशः एक्सिलेटर थिच्दा उक्त घटना भएको शाहले बताएका छन् । भोलिपल्ट दुर्घटनास्थलमा गएका उनलाई स्थानीयले ‘हिजो किन भागेको ?’ भनेर सोध्दा शाहले स्थानीयले छोपेर कुट्ने डरले आत्तिएर आफू भागेको,भाग्दा गोडा असन्तुलित भएर अन्यत्र पनि ठोक्किएको बताएका थिए ।

बुधबार बिहान सबेरै घटनास्थल पुगेका शाहले सबै पीडितसँग माफी माग्दै सटर बनाउन ४० हजार रुपैयाँसमेत दिएका छन् । मोटरसाइकलको लेग गार्डमा ठोकिएकालाई नयाँ लेग गार्ड किन्न ६ हजार रुपैयाँ दिएका छन् ।

मायाहजुर तत्कालीन एसएसपी मनोज शाहका भाइ हुन् । मनोजले १० लाख मानिसमा लाग्ने एक किसिमको अनौठो रोगबाट ज्यान गुमाएका थिए । एसएसपी छँदा रोग जँचाउन गाडी चलाएर नर्भिक हस्पिटल गएका उनी त्यहिँ बितेका हुन् । उनी नबितेको भए आईजीपीको लाइनमा थिए । शाह दाजुभाइ जाजरकोटे राजखलकका सन्तान हुन् ।

डिआइजी माधव थापाको घरमा पहिलो पटक पुगेका शाहले सानो छोरीले अमेरिकाको टेक्सासमा राम्रो जागिर पाएको शुभ सन्देश सुनाएका थिए । थापाको घरमा पहिलेदेखि भेटघाटमा रहेका पूर्वएसपीहरू उत्तम केसी, जसध्वज र उज्जवल कार्कीसँग एकैछिन हाँसखेल गरेर शाह पौने ८ बजे निस्केको बताइन्छ ।

थापा र शाहका छोराछोरी काठमाडौंमा सँगै पढेकाले खुशी साट्न आफ्नो घरमा आएको थापाले पनि बताउनुभएको छ । उनी हिँडेपछि अरु भूतपूर्व एसपीहरू पनि हिँडेको र आफू साढे ८ बजे सुतेको थापाले जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।

टिप्पणीहरू