सबलाई रुवाएर धनकुमारीको गुमनाम मरण

सबलाई रुवाएर धनकुमारीको गुमनाम मरण

जीवनको एक मात्र सत्य हो, मृत्यु । बाँकी पद, प्रतिष्ठा, धन, दौलत यी सबै भ्रम हुन् । पद र प्रतिष्ठामा रहेर फुल्नेहरूलाई के थाहा ? यी सब पिसाबको न्यानो हुन्, के शासक, के प्रशासक जुन दिन हट्छ पदबाट उसलाई गन्न छाड्छ दुनियाँले । र, पनि पदमा हुँदा मैमत्त भएर यहाँँ फुल्नेहरू धेरै छन्, के थाहा तिनलाई फुल्नु र फैलनु बिल्कुलै फरक चिज हो ।

सरकार बजेट भाषणमा उद्घोष गर्छ सडकलाई मगन्तेरहित बनाउने । महानगरपालिका, नगरपालिकाले सडक मानवविहीन बनाउने लाखौंको ठेक्का कुनै एनजिओलाई दिन्छ, यद्यपि उस्तै देखिन्छ, सडकमा सुत्नेहरूको हालत । सडक मानवको पैसाले को को मोटाए ? क–कसको गोजी भरियो ? खोज्छ कसले ?

तीन तहका सरकारहरू के उनको पालनपोषणको जिम्मा लिन सक्दैन थिए ? सम्बन्धित संस्थाका अभियन्ताहरूसँग छ यसको कुनै जवाफ ? अझै कति यस्ता धनकुमारीहरूले अकाल मृत्यु मर्नुपर्ने हो ? कसले दिन्छ यस्ता अरू धनकुमारीहरूलाई खाने, बाँच्ने र औषधोपचारको न्याय ?

यस्तै एक सडकमानव, जो सडकबाटै हाम्रो सम्पर्कमा आए र अस्ताए सडकमै । धनकुमारी हाम्रो यस ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइकियाटिकमा आउनुपूर्वको कुनै पनि जीवित तथ्य हामीसँग छैन । उनी को हुन् ? कसको सन्तान हुन् ? उनका बाबुआमा, पति, छोराछोरी वा दिदीभाइ कहाँ थिए, कहाँ छन् ? अझै ज्ञात छैन । हामीले भेट्दा मानसिक रूपमा पूर्ण विक्षिप्त थिइन् । पूरा जानकारीका लागि यस संस्थाले भरपुर कोसिस नगरेको पनि होइन । तर, थाहा पाउन सकिएन ।

केही साताअघि सभ्यताको घर नामक संस्थाबाट सूचना पायौं, उनी अब जीवित रहिनन् । यो सुनेर मन निकै अमिलियो, चिमोटियो, आफैं अवाक बनें । विचरी धनकुमारीले अन्तिम श्वास फेरेको स्थानसम्म पनि थाहा पाउन सकिनन् । कहाँ र कसरी भयो उनको मरण ? मेरालागि यो अझै अप्रत्यासित बनिरहेको छ ।

धनकुमारी केही समयअघि हाम्रोलागि परिचित त भइन् तर पूर्व अवस्था खोज्दा भने एक अपरिचिता पात्र नै रहिन् । सत्य यो थियो कि उनले जातपात, धनीगरिब, शासक र शासितले भरिएको यस संसारमा जन्म लिएकी थिइन् ।

केही दिनअघि मात्रै थाहा भयो धनकुमारीले संसार छाडिछन् । उनको प्राणान्तको सन्देश गैंडाकोटमा क्रियाशील महिला, जसले सभ्यताको घर चलाएर बसेकी छन् । तिनै सीता बहिनीले सुनाएकी हुन् ।

चितवन जिल्लाका स्थानीय सरकारमध्ये एक नगरपालिका छ, जसले गरिबी र भोकको अन्त्य, शिक्षाको उज्यालो घाम र स्वास्थ्यको ग्यारेन्टी भनेर भत्ताकोे व्यवस्था आदि आश्वासन दिएको छ तर सत्ताले पनि एक दिन मर्नुपर्छ भन्ने कुरा सायद त्यसका पदाधिकारीहरूले भुल्दै छन् । धनकुमारी हाम्रो यस घरमा आइन् । र, केही समय औषधोपचार लिइन् ।

माडी नगरपालिकाको उदात्त पहल र स्थानीय प्रहरीको सहयोगअन्तर्गत व्यक्तिव्यक्तिको लगानीमा १४ प्रतिशत ब्याजले थिचिएको हाम्रो यस संस्थाले जे–जस्तो भए पनि धनकुमारीलाई अँगाल्यो । उद्धारकहरूले नाम धनकुमारी नै बताएको थियो । उनीहरूकै भनाइमा हामीले एक सुको नलिई उनको सेवा गर्याैं । सुकेको, आधा पिइएको ठेट्नो चुरोट जस्तै थियो उनको हालत ।

धनकुमारी आउँदा फोहोर र मैलोले पुरिएको, सेता दाँत मात्र देखिने, चुसिएपछि फ्याँकिएको आँपको कोयाजस्तो जीर्ण शरीर थियो । उद्धारक टिम सुम्पिन पाएकोमा गद्गद् थियो भने हामी पनि सेवाभावले छचल्किएका थियौं । हाम्रा नर्स दिदीबहिनीले धनकुमारीको दुब्लाएका हातहरूलाई आफ्नो हातमा थामे । डायमण्ड भाइ जगल्टिएको कपाल मिलाउन कैंची लिएर तम्सिए । एक जना सेविकाको हातमा नेलकटर थियो । धेरै दिनकी भोकी थिइन् उनी ।

रोग र भोकले बेहाल धनकुमारीको केस काट्ने, नुहाइधुवाइ गरिदिने र वस्त्र बदलिदिने कार्यपछि बल्ल एक मानिसको रूप देखिएको थियो । उनको बेजान शरीर, भोकाएको पेट आशावादीपूर्ण आँखा, कम्पित ओंठ, रसाएका आँखा, चाउरिएको शरीर निरीहझैं आतंकित देखिने लगभग ४० वर्षकी धनकुमारी हाम्रो यस परिवारको सदस्यमा फेरिएकी थिइन् ।

नगरपालिकाको अनुरोधलाई मानवताले नाघ्न सकेन । भविष्यमा केही सहयोगको आशा देखाएको पनि थियो नगरपालिकाले तर त्यसपछि कुनै सोधखोज नै भएन । सेवैसेवाको आश्वासनमा माहिर जनप्रतिनिधिले त्यसपछि कुनै चासो राखेनन् । खाना, उपचार, वस्त्रादि सबै सेवा हामीले नै निःशुल्क प्रदान ग¥याैँ । ६ महिनासम्म उनले मानसिक र शारीरिक स्वास्थ्य सेवा निःशुल्क प्राप्त गरिन् ।

यसैबीच, एक जना सामाजिक अभियन्ताले हामीले गरेको सेवा र उपचारको अवस्था अनुभूत गरेर उनलाई अर्काे कुनै संस्थामा पु¥याइदिए । यसबीच धनकुमारीको शारीरिक, मानसिक स्वास्थ्यमा उत्साहजनक परिवर्तन आइसकेको थियो तर उनी आफ्नो विगत सम्झिन र अरूलाई बताउन चाहन्न थिइन् । उनलाई हामीले नै सामाजिक अभियन्ताको पहल र सहयोगमा विधिवत् अर्काे संस्थाको जिम्मा लगाएका थियौं ।

केही दिनअघि मात्रै थाहा भयो धनकुमारीले संसार छाडिछन् । उनको प्राणान्तको सन्देश गैंडाकोटमा क्रियाशील महिला, जसले सभ्यताको घर चलाएर बसेकी छन्, तिनै सीता बहिनीले सुनाएकी हुन् । तर, उनको निधनको कारण हामीलाई ज्ञात हुन सकेको छैन । हामी अचम्भित छौँ । शवदाह गर्ने गरेकी सीताले लावारिस लासको क्रियाकर्ममा मेरो सूचीमा एउटा अर्काे संख्या थपियो भनिन् ।

उनको यस परोकारी कार्यले मलाई अझ शब्दहीन बनायो । धनकुमारीको मृत्युअघि नै हामीलाई जानकारी गराइएको भए हुन्थ्योजस्तो लाग्छ । उनी यहाँ ६ महिना बस्दा पनि अपरिचित नै थिइन् । अहिले मरेर जाँदा पनि अपरिचिताकै रूपमा गइन् । न सरकारले देख्यो न त सम्बन्धित संस्थाहरूले नै ! हामीले किन पठायौं होला ? सम्झिँदा पनि गला अवरुद्ध हुन्छ, मन रुन्छ ।

तीन तहका सरकारहरू के उनको पालनपोषणको जिम्मा लिन सक्दैन थिए ? सम्बन्धित संस्थाका अभियन्ताहरूसँग छ यसको कुनै जवाफ ? अझै कति यस्ता धनकुमारीहरूले अकाल मृत्यु मर्नुपर्ने हो ? कसले दिन्छ यस्ता अरू धनकुमारीहरूलाई खाने, बाँच्ने र औषधोपचारको न्याय ? मृत्यु विषाद्पूर्ण हुन्छ । नकार्नै नसकिने एक सत्य । मानिसको अवसानसँगै जन्मिएको एउटा क्रूर सत्य । भनौं, एउटा डरलाग्दो बाध्यता । जसको फेरि पुनर्मिलनको सबै सम्भावना अन्त्य भइदिन्छ । जस्तोसुकै कठोर मानिसले पनि सहनुपर्ने यो पीडा । हरेक प्राणीले नचाहँदा नचाहँदै अँगाल्नैपर्ने यो तीतोसत्य ।

– कमल शर्मा भुसाल, ब्युटीफुल माइन्ड इन्स्टिच्युट अफ साइकियाटिक प्रालि

टिप्पणीहरू