कुर्कुरे बैंसको कच्चा प्रेम « Jana Aastha News Online
Logo
९ जेष्ठ २०७९, सोमबार
|  Mon May 23 2022
Logo
९ जेष्ठ २०७९, सोमबार
|  Mon May 23 2022

कुर्कुरे बैंसको कच्चा प्रेम

प्रकाशित मिति :  २३ मंसिर २०७३, बिहीबार ०७:५९


देखेर मात्र नहुने, लेखेरै ल्याउनुपर्ने रहेछ ! कसै–कसैको जीवनमा चोटै चोट र ठक्करै ठक्कर खान मात्र लेखेको हुँदो रहेछ । नौ महिना कोखमा राखेर जन्म दिई, १० धारा दूध पिलाउने आमा त आफ्नो हुन सकिनन् भने अरू को आफ्नो होला ? कसले, कसको दुःख हरण गर्न सक्ला ?

यस्तै लाग्छ, उनको जिन्दगी पढ्दा । भोजपुरको एउटा गाउँमा जन्मेर त्यहीँबाट एसएलसीसम्म अध्ययन सकी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएकी हुन् शर्मिला । लाहुरे संस्कृतिको प्रभावले उनका बाबु पनि अछुतो रहन सकेनन् । उनी आमाको काखैमा छँदा बुबा लाहुर गए धन कमाउन, परिवारलाई सुख, शान्ति, आनन्द दिन । तर, भयो म ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो भनेजस्तो । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति, अर्थात् बरु कुपुत्र जन्मन सक्छन् कुनै पनि आमा कुमाता हँुदिनन् भन्ने शास्त्रको भनाइ पनि फिक्का सावित हँुदो रहेछ यस्तै आमाहरूको व्यवहारले ।

बुबा बिदेसिएको मौकामा आमाको मन साटियो घरमै काम गर्न राखेको नोकरसँग । त्यहीसँग भागेपछि बाल्यकालमा माया–ममता खड्कियो । विदेशबाट फर्किएपछाडि बुबाले दोस्रो विवाह गरे । नामै त सौतेनी आमा । आफ्नो कोखबाट बच्चा नहुञ्जेल आमाले बनावटी माया दिइन् । जब उनको कोखबाट छोराछोरी पैदा भए अनि शुरु भयो हेला र टोकेसो । त्यही बुहार्तन सहन नसकी शर्मिला पुगिन् काकाको शरणमा । काकाकै घरमा बसेर प्लस टुसम्मको अध्ययन पूरा गरिन् । भोजपुरस्थित शान्त उमाविबाट प्रमाणपत्र तह पूरा गरी काठमाडौं पढ्न आइन् । त्यतिञ्जेलसम्मको सबै खर्च काकाले नै जुटाइदिएका थिए । बाँकी उच्च शिक्षाका लागि हजुरबुबाको शरण परिन् । हजुरबुबा, हजुरआमा बौद्धस्थित स्तुपानजिकै घर बनाएर बस्दै आएका थिए । त्यहीँबाट उनी चाबहिलमै रहेको पशुपति बहुमुखी क्याम्पसमा धाउन थालिन् । त्यहीँ भेट भयो पूर्णसँग ।

सुर्खेत हुँदै विराटनगर झरेका पूर्ण त्यहाँ प्लस टु सकाएर चाबहिलमा स्नातक अध्ययनका लागि भर्ना भए । पुराना स्कुले साथीका माध्यमबाट चिनजान भएको हो, शर्मिलासँग । पूर्णका साथी भूपेन्द्र । यी दुबै कक्षा दशसम्म एउटै विद्यालयमा पढे । पूर्णले विराटनगर क्याम्पसबाट प्लस टु सिध्याएर बाँकी अध्ययनका लागि काठमाडौं आए । भूपेन्द्रले विराटगरमै पाँच वर्ष एचए कोर्स अध्ययन गर्न थाले । भूपेन्द्र यसअघि नै काठमाडौं आएर पशुपति बहुमुखी क्याम्पसमा पढ्दै थिए ।

बुबा–आमाको दबाबमा विराटनगरमा एचए कोर्स गर्दै गरेका भूपेन्द्रको मन पढ्नमा रम्न सकेन । बीचमै पढाइ छोडी काठमाडौं भित्रिए । शिक्षाशास्त्र संकायमा भर्ना भए । त्यस बेलासम्म पूर्णले स्नातक उत्तीर्ण गरिसकेका थिए ।

त्यहीँ अध्ययनरत छात्रछात्राको योजना बन्यो जाडो बिदामा घुम्ने । मनकामना केबलकार रोजे । भूपेन्द्र, सुशीलालगायतको टोलीले टिकट बुकिङ ग¥यो । भूपेन्द्रले आफ्नो दाइ पनि रहेको र उनी घुम्नमा सोखिन रहेको सुनाए र उनलाई पनि घुम्न लैजाऊँ भन्ने प्रस्ताव राखे । सबै साथीले स्वीकारे । पूर्णका लागि समेत टिकट बुकिङ भयो । त्यहीबेला दुई आँखा चार भएको हो शर्मिला र पूर्णकोे । साधारण बोलचाल भयो । त्यतिबेलासम्म पूर्ण राउतले झुस्स दाह्री पालेका थिए भने कपालचाहिँ चिल्लो थियो । हजुरबुबा–हजुरआमाको सहारामा बस्दै आएकी शर्मिला पढाइसँगै काम पनि गर्दै थिइन् । चाबहिलस्थित के एल टावरनजिकै पास्कल इन्स्टिच्युटको रिसेप्सनमा काम गर्थिन् । बिहान कलेज, दिउँसो काम– यस्तैमा बितिरहेको थियो जीवन ।
पूर्ण एकोहोरो ‘प्यार’मा परिसकेका थिए । बहाना चाहिएको थियो, शर्मिलासँग भेट्नु । शर्मिलाले काम गर्ने ठाउँमा भेट्न पुगे । त्यहाँ पुगेर कोरियन भाषा (इपिएस) को कक्षा लिन थाले । आफूले मन पराएकीसँग हरेक दिन आँखा जुधाउँथे तर बोल्न सक्दैनथे । मुख खोल्न सक्दैनथे । त्यतिबेलासम्म ‘म्याडम’ भनेरै बोलाउँथे ।

कुनै समय झ्याप्प कपाल–दाह्री पालेर हिँड्ने पूर्णको भेष बदलियो । दाह्री–कपाल काटेर चिटिक्क परी हिँड्न थाले । समयक्रमसँगै उनीहरू एकअर्काका मिल्ने साथी मात्रै भएनन् । सबैभन्दा नजिकको साथी भए । बाल्यकालमा आमाको माया–ममताबाट टाढिएकी, सौतेनी आमाको टोकसो, बुहार्तन सहेकी शर्मिलाको जीवनमा आफूलाई केयर गर्ने कोही साथी छ भन्ने आभाष भयो । कलेजमा भेटघाट तीव्र हँुदै गयो । बाहिर भेट पनि हुँदै गयो । पास्कलमा दैनिकजसो भेट हुन थाल्यो । पूर्णको परिवारमा यसबारे सामान्य गाइँगुइँ चले पनि शर्मिलाको परिवारलाई थाहै थिएन । दुबै ब्राह्मण–क्षेत्री जातिका । पूर्णका फुपाजु सुर्खेतको कांग्रेस सांसद । शर्मिलाको हजुरबुबा कडा मिजासका । पहिले विदेश गएका थिए बुबा, आमा नोकरसँग हिँडेपछि दोस्री भिœयाएर अहिले स्वदेशमै छन् । यस्तै रीतमा दुबैको प्यारको सम्बन्ध करिब सात महिना चल्यो ।

कलेजमा समेत यी दुईको सम्बन्धबारे चर्चा÷परिचर्चा हुन थाल्यो । एकदिन शर्मिलाकी साथी विमला तामाङको जन्मदिन थियो । शर्मिलाले मादकपदार्थ सेवन गरिन् । पूर्ण तारन्तार फोन गर्थे शर्मिलालाई । त्यही रात पनि फोन सम्पर्क गरे । उनले आफ्नो एउटा काम गरिदिन आग्रह गरेका थिए, शर्मिलालाई । तर, शर्मिलाले प्रतिवाद गरिन् । मलाई काम लगाउने तँ को होस् भन्दै जवाफ फर्काइन् । जसलाई मन–मुटु दिएका थिए, तिनै व्यक्तिबाट यस्तो जवाफ आउँदा पूर्ण रन्थनिए । शर्मिला यसअघि पनि पटक–पटक ड्रिंक्स लिन्थिन् । पूर्णले नखान पटक–पटक आग्रह गर्थे । त्यो फोनमा पनि मदिरा सेवन गरेको विषयमा चर्काचर्की परेको थियो । गर्लफ्रेन्डबाट हप्कीदप्की खानुपरेपछि पूर्णलाई रिस उठ्यो । उनले मुख छाडे । भोलिपल्टदेखि बोल्न छाडे । एकबाट अर्काे टाढिँदै गए । शर्मिला र पूर्ण दुवैको मोबाइल र ल्यापटपमा एकअर्काका थुप्रै फोटा थिए ।

केही दिनअघि पूर्ण पास्कलमा पढ्न जाँदा टेबलमाथि भएको शर्मिलाको मोबाइल बोकेर हिँडे । शर्मिलालाई यो थाहा थिएन । अहिले त्यही मोबाइलमा भएको फोटो फेसबुक प्रोफाइलमा धमाधम अपडेट हुँदै छन् । तर, सोही घटनापछि शर्मिलाले भने सामाजिक सञ्जाल (फेसबुक) डिएक्टिभ गरेकी छन् । दुबैको कुनै अरूसँग सम्बन्ध छैन ।

उनीहरूबीच चोखो माया नै छ । तर, महिनांै दिन भइसक्यो, यी दुईबीच बोलचाल नभएको । शर्मिला उनैलाई सम्झी टोलाएर बसिरहेकी हुन्छिन् भने पूर्ण कलेज आउनै छाडेका छन् । पूर्ण शर्मिलालाई सम्झेर सामाजिक सञ्जालमा अनेक भावभंगीमा झल्कने भाव पोस्ट गर्छन् तर जसका लागि समर्पण गरी ती भाव पोखेका हुन् उनी भने सामाजिक सञ्जाल निष्क्रिय पारेर बसेकी छन् ।

–पूर्णको साथी लोकराज रुम्दाली


प्रतिक्रिया दिनुहोस !