अब सधैं मारपिट चलिरहन्छ

  • दीपनारायण साह, एमाले सांसद, पूर्वराज्यमन्त्री

संविधान संशोधन विधेयकमार्फत प्रदेश ५ बाट पहाड अलग पार्ने कुराले देश तात्तिरहेको बेला प्रदेश दुईबाट तराईमूलका सांसदहरु भन्न थालेका छन्, ‘पहाडबाट अलग्गिनुपर्दा हामी पछुताइरहेका छौँ । पाँचलाई पनि अलग पार्ने कुरा सह्य हुँदैन ।’ यीमध्येका हुन्, महोत्तरीका एमाले सांसद दीपनारायण साह । केपी ओली सरकारमा शान्ति तथा पुननिर्माण राज्यमन्त्री थिए । महोत्तरी ५ बाट माओवादीका मो.रज्जी हैदरलाई तीन सय ३५ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । प्रभावका दृष्टिले तराईमा एमालेको सबभन्दा कमजोर जिल्ला थियो, महोत्तरी । पार्टीले जिल्लाको सांसदलाई राज्यमन्त्री बनाएका कारण त्यहाँका जनतामा विश्वास बढेको र आगामी निर्वाचनमा थप राम्रो परिणाम आउने दाबी गर्छन् दीपनारायण ।

० संविधानको संशोधन विधेयकमा उल्लेख भएजस्तो प्रदेश ५ बाट पहाडी जिल्ला अन्यत्र सार्ने कुराको विरोध किन ?

– पाँच नम्बर प्रदेशभन्दा अगाडि हाम्रै दुई नम्बर प्रदेशको कुरा गर्नुपर्छ । हामी अहिले पनि दुई नम्बरलाई चुरे र पहाडी जिल्लासँग अलग्याइएको विरोधमा छौँ । दुई नम्बर प्रदेशको संरचना जसरी बनाइएको छ, कुनै पनि दृष्टिले तर्कसंगत छैन, न्यायसंगत छैन । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याएर कसलाई खुशी पार्न खोजिएको छ ? प्रष्ट बुझिन्छ । सरकारले त्यहाँका जनतालाई खुशी पार्न यो विधेयक ल्याएकै होइन । जनता–जनताबीचमा भिडन्त सिर्जना गर्दा सरकारलाई के फाइदा छ ? त्यो कुरा सरकारले नै जानोस् । तर, जनतालाई घाटा छ । न पहाडका जनता तराईवासीबिना बस्न सक्छन्, न तराईका जनता पहाडे समुदायबिना रहन सक्छन् । पाँच नम्बर प्रदेशको कुरा मात्रै होइन, देशका सातवटा प्रदेशमध्ये कुनै पनि प्रदेशबाट पहाड र तराई अलग्याइन्छ भने हामी नेपालीको हित छैन । हामी दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु आज पनि यही कुराको चिन्ता गरिरहेका छौँ कि, अब हाम्रो प्रदेश चलाउने कसरी ?

० किन यस्तो स्थिति भयो ?

– पहिला विकास क्षेत्रका आधारमा तयार पारिएको पाँचवटा संरचना नै ठीक हुन्छ भन्ने सुझाव दियौँ । तर, सातवटा बनाइयो । दुई नम्बर प्रदेशलाई अलग मधेस प्रदेश भन्ने गरी समथर भूमिलाई मात्र छुट्याइयो । यो त्यहाँका जनताको विकास र प्रगतिमा बाधक छ । त्यसका बाबजुद पनि हामीले सिमांकन स्वीकारेका छौँ । अब कार्यान्वयनका कुरा सोच्नुपर्छ भनेर लागेका थियौँ । तर, फेरि पाँच नम्बर प्रदेश चलाएर मारपिट चलाउन खोजिँदैछ । अहिलेको सातवटा प्रदेशका कुनै पनि भूभाग एक इञ्च पनि तलमाथि गर्नुहुँदैन । यदि भयो भने संघीयता लागु हुँदैन, सधैँ मारपिट मात्रै चलिरहन्छ ।

० गर्नुपर्ने के हो त ?

– यो सरकारको बुद्धि छ भने तुरुन्त संशोधन विधेयक फिर्ता लिनुपर्छ । तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । अहिले जे भइरहेको छ, यो अरुको इशारामा भइरहेको छ । इण्डियाले खुलेआम नै यस्तो  गर, त्यस्तो गर भन्नु राम्रो होइन ।

० संशोधन विधेयकको पक्षमा तपाईं एमाले सांसदहरुले अलग्गै भेला बोलाएको हल्ला भयो । तर, भेला किन भएन ?

– मलाई बडो अचम्म लागिरहेछ कि, नभएको कुरामा कसरी हल्ला भयो ? मलाई भीम रावल कमरेडले पनि सोध्नुभयो । जो कुरा गरेकै छैन, हल्ला कसरी भयो ?

० नगरे पनि गर्ने सल्लाह थियो कि ?

– प्रदेशबाट पहाड छुट्याएको कारण हामी नै पछुताइरहेका छौँ । अब अर्को प्रदेशबाट पहाड छुट्याएकोलाई समर्थन कसरी गर्ने ? एमाले फुटाउने र तराईका एमाले सांसदलाई अलग गराउने हल्ला पनि मैले सुनेँ । यो सबै काम देशभित्रबाट भएको होइन, बाहिरबाट भएको हो । नभएको हल्ला चलाएर जनतालाई भ्रममा पार्ने काम भएको हो । दुई नम्बर प्रदेशबाट सांसद भएका विभिन्न पार्टीका साथीहरुबीच हाम्रो प्रदेशमा सिन्धुलीको केही भाग समेट्न पाए हुन्थ्यो भनेर छलफल चलेको थियो । यदि दुई नम्बर प्रदेशलाई मात्र त्यसो गर्न सकिँदैन भने सिंगो सात प्रदेशभित्र हिमाल, पहाड र तराईको संयोजन गरियोस् । यदि त्यसो गरिँदैन भने सातवटा प्रदेशलाई यथावत राखियोस् ।

० तराईमा पहाडे समुदायको आवश्यकता किन ?

– विगतमा मधेस आन्दोलनका कारण जहाँ–जहाँबाट पहाडेमूलका साथीहरु विस्थापित हुनुभयो, ती क्षेत्र विकासमा पिछडिएका छन् । त्यस्ता ठाउँमा व्यापार पनि चौपट छ । सबै वर्ग मिसाएर बनाएको पहिलेको सामाजिक संरचना राम्रो थियो ।

० तर, यसलाई त महेन्द्रवादी चिन्तन भनिन्छ नि !

– महेन्द्र राजाले त धेरै कुरा सोचेर त्यस्तो बनाएका रहेछन् । उनले गरेको राम्रो कामको अनुशरण गर्नुपर्छ । हामीलाई कुन राजा राजौटाले के गरेको थियो होइन कि कुन सिस्टमले विकास हुन्छ– त्यो चाहिएको छ । हामीले पञ्चायत शासन ढलाएको र बहुदल ल्याएको विकासका लागि हो । न कि, भएको विकास र एकतालाई तोड्नको लागि । यदि राजा रजौटाले गरेको काम भनेर विरोध गर्ने हो भने हाम्रो देशको एकीकरण पनि पृथ्वीनारायण शाहले गरेका हुन् । के अब पृथ्वीनारायणले बनाएको देश भनेर हाम्रो देश नै विघटन गरिदिने ?

० नागरिकताको प्रावधानमा के भन्नुहुन्छ ?

– हाम्रो श्रीमती इण्डियाको हो । बिहे गरेर ल्याएपछि अंगीकृत नागरिकता पाएको थियो । हाम्रो छोराले बंशजको नागरिकता पायो । फेरि छोराले इण्डियामा बिहे ग¥यो । हामीले बुहारीलाई अंगीकृत नागरिकता दियौँ । छोरा अहिले पनि सर्भिस गर्दैछ । जब इण्डियाबाट आएको बुहारीलाई तुरुन्तै बंशजको आधारमा नागरिकता दियौँ भने विस्तारै विस्तारै पराधिन हुनेछौँ । इण्डियामा के छ ? जब सोनिया गान्धी प्रधानमन्त्री बन्ने हल्ला चल्यो, अहिलेको विदेशमन्त्री सुष्मा स्वराज अनसन बसेर विदेशी बुहारीलाई प्रधानमन्त्री बनाउनुहुँदैन भनेको होइन ? आफ्नो देशमा त्यस्तो सिस्टम राख्ने, हाम्रो देशमा के गर्न खोजेको ?

० भारतले पनि संशोधनको पक्षमा विज्ञप्ति निकालेको छ । यसलाई के भन्नुहुन्छ ?

– गलत काम हो । हाम्रो संविधान, हाम्रो संघीयता र हाम्रो राजनीति हामीले चलाउने हो ।

० अनि, नेपाली नेताहरु दूतावासमा भात खान गएको सुन्नुभयो ?

– भोट हालेका जनताको घरमा के भइरहेछ ? त्यता मतलब छैन । एम्बेसीमा लञ्च खान जाने ? त्यस्तो नेतालाई जनताले जवाफ दिन्छ । हामीले केही भन्नुपर्दैन ।

० तराई–मधेसमा एमाले सकियो भन्छन् । कति सत्य हो ?

– यो हल्ला त्यतिबेला पनि चलेको थियो, जतिबेला अशोक राईहरु एमाले छोड्दै हुनुहुन्थ्यो । एमाले मधेसविरोधी, पहिचानविरोधी पार्टी हो भनेर । २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन भयो । परिणाम के आयो ? टाढा जानुपर्दैन, महोत्तरी जिल्लामा पहिलोपटक एमालेले दुई सीटमा शानदार जित हासिल ग¥यो । पहिलाको कुनै पनि चुनावमा जितेको थिएन । ‘कुत्ता भुके हजार, एमाले चले बाजार’ भनेको यही हो । तराईमा समस्या के छ कि, हामीलाई समयमा आफ्नो कुरा भन्ने मौका मिल्दैन । तर, हामी जनतालाई ढिलो भए पनि आफ्नो कुरा भन्छौँ । राम्रो कुरा जनतालाई बुझाउन टाइम लाग्छ । जब केपी ओली प्रधानमन्त्री हुुनुभयो, तब मधेसलाई दिनुपर्ने कुनै पनि विकास र अवसरबाट वञ्चित गर्नुभएन । सिञ्चाईको कार्यक्रमलाई बजेटमा हालेर लगिएको छ । मधेसबाट चुनाव जितेको मधेसवादी पार्टीको कुन नेताले के काम ग¥यो र हामीले के काम ग¥यौँ, हिसाब किताब गरौँ । म दावा गर्छु, हामीले गरेको जति काम कुनै मधेसवादी भन्ने दलको सांसदले गरेको छैन ।

० अहिलेको सरकारको मूल्यांकन कसरी गर्नुहुन्छ ?

– यो कुनै सरकार नै होइन । यो देशमा गडबडी मच्चाउन बनाइएको भाँडमण्डली हो । विदेशको लबीमा चल्ने यो सरकारमा बसेका प्रधानमन्त्री र मन्त्रीहरुले आफूलाई नेपाली हुँ भन्ने कुरा आजसम्म सोचेका छैनन् ।

० प्रचण्डले स्थानीय निकायको निर्वाचन गर्ने भनेका छन् । पत्याउनुहुन्छ ?

– मरिगए पनि कुनै निर्वाचन हुनेवाला छैन । गराइदिन्छु भन्दैमा निर्वाचन भइहाल्छ ? प्रचण्ड र कांग्रेस नेतृत्वको सरकारबाट निर्वाचन हुन सम्भव छैन । एमालेको सरकार नबनी यो देशमा केही हुनेवाला छैन । आजसम्म मिति नतोकी निर्वाचन गर्छु भनेर मात्र हुँदैन । जनताले यो सरकारलाई पत्याउन छाडिसकेका छन् । जनताको विश्वास नभएको सरकारले धेरै दिन कुर्सीमा बसिरहनुहुँदैन ।

टिप्पणीहरू