कार्यदलको निर्णय होला र कार्यान्वयन ?

कार्यदलको निर्णय होला र कार्यान्वयन ?

एमाले विवाद समाधानका लागि गठित कार्यदलको क्षेत्राधिकार र त्यसको भूमिकाप्रति नेताहरुले प्रश्न उठाएका छन् । पार्टी एकताका लागि केही दिनयता लगातार कार्यदलको बैठक बसिरहेका बेला वरिष्ठ नेता माधव नेपाल समूहका केही नेताले कार्यदलको हैसियतलाई लिएर प्रश्न गरेका हुन् ।

युवा नेतृ रामकुमारी झाँक्रीले कार्यदलले पार्टी एकता गराउने हैसियत नै नराख्ने दाबी गरेकी छन् । हिजो एउटा राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै झाँक्रीले अध्यक्ष केपी ओलीले नचाहँदासम्म पार्टी एकता नहुने हुँदा कार्यदलको बैठक अर्थहीन भैरहेको बताइन् ।

‘कार्यदलले पार्टी एकता गर्ने नगर्ने हैसियत र ल्याकत राख्दैन । अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूले चाहे मात्र एकता हुन्छ,नत्र हुँदैन”,उनले भनिन् । नेतृ झाँक्रीले ओलीका सबै शर्त स्वीकार गरेर एकता सम्भव नहुने भन्दै कार्यदलले त्यस्तो प्रस्ताव तयार गरे माधव नेपालसहितको ठूलो पंक्तिले अस्वीकार गर्ने चेतावनी दिइन् ।

ओलीले पुस ५ यता चालेका राजनीतिक कदमप्रति आत्मालोचित भएर अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छोडे मात्र पार्टी एकता हुने उनले प्रष्ट पारिन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा ओलीले चालेका असंवैधानिक कदमलाई यथावत राखेर बाँकी अवधि पनि प्रधानमन्त्रीमा निरन्तरता दिने गरी एकताको प्रस्ताव बनाउने नेपाल समूहतर्फबाट कार्यदलमा रहेकाहरुलाई म्याण्डेट नभएको पनि उनले बताइन् ।

आज भोलि नै एकताको प्रस्तावमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले हस्ताक्षर गर्ने कार्यदलका सदस्यको भनाइलाई उनले निजी बिचार भनिन् । नेता नेपालसमेत यथास्थितिमा एकता हुँदैन भन्नेमा प्रष्ट रहेको झाँक्रीको भनाइ छ ।

अर्को प्रसङ्गमा झाँक्रीले शेरबहादुर देउवालाई दिएको समर्थन कुनै हालतमा फिर्ता नहुने दाबी गरेकी छन् । कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले हस्ताक्षर निस्क्रिय भैसकेको र अब आफूहरु विपक्षी गठवन्धनको वैठकमा नजाने बताएको केही घण्टापछि झाँक्रीको यस्तो टिप्पणी आएको हो । उनले राजनीतिक एजेन्डामा सहमति नजुट्दासम्म आफ्नो हस्ताक्षर फिर्ता नहुने र त्यसको ठेक्का कार्यदलका सदस्यले लिन नसक्ने बताइन् ।

हस्ताक्षर राजनीतिक,सार्वजनिक र नैतिक प्रश्नसँग जोडिने भएकाले समर्थनबाट अहिले ब्याक हुन नसक्ने प्रष्ट पारिन् । यद्यपि राजनीतिक एजेण्डामा सहमति हुँदा जुनसुकै बेला हस्ताक्षर फिर्ता लिन आफूहरुलाई कुनै आपत्ति नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अपराध गरेकाले त्यसलाई सामन्य रुपमा लिन नसकिने झाँक्रीको जिकिर छ । ओलीले अदालतसँग सेटिङ्ग मिलाएर नेकपा विघटन गराएको, विधान विपरित एकलौटी निर्णय गरेर एमालेलाई विभाजनमा पुर्याएको र राष्ट्रपतिसँग मिलेर पटक-पटक संविधान मिच्ने काम गरेकाले लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरु संघर्षमा उत्रनु परेको उनले प्रष्ट पारिन् ।

त्यसो त,नेपालतर्फका कार्यदलका सदस्यहरुबीच पनि फरक-फरक धारणा सार्वजनिक भैरहेको छ । हिजो बैठकपछि कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले ओली र नेपालबीच संयुक्त वक्तव्यमा हस्ताक्षरको तयारी भैरहेको बताएका थिए । अर्का सदस्य घनश्याम भुसालले भने १० दिनयता कार्यदल एकै ठाउँमा अड्किएको र कुनै सहमतिको बिन्दु नभेटिएको बताएका थिए ।

टिप्पणीहरू