ती भारतीय जसले पाकिस्तानी अवार्ड फिर्ता गर्न मानेनन्

ती भारतीय जसले पाकिस्तानी अवार्ड फिर्ता गर्न मानेनन्

सन् १९९८ मा बलिउडका दिग्गज कलाकार दिलिपकुमारको देशभक्तिलाई लिएर प्रश्नचिन्ह उठाउँदै दिल्लीमा आगो बालियो । कारण अरु केही थिएन । पाकिस्तान सरकारले उनको सम्मानमा प्रदान गरेको सर्वोच्च पुरस्कार निशान–ए–पाकिस्तान थियो ।

महाराष्ट्रमा शिव सेनाको सत्तारुढ दलले उक्त पुरस्कारप्रति आपत्ति जनाउँदै दिलिपकुमारको देशभक्तिमाथि प्रश्न उठायो । उसले प्रश्न मात्रै उठाएन,पाकिस्तानले दिएको उक्त पुरस्कार फिर्ता गर्न समेत दबाब दियो ।उनले त्यतिबेला भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई भेटेर आफूले प्राप्त गरेको पाकिस्तानी पुरस्कारले देशको गरिमालाई हानी नोक्सानी पुर्याउने भए मात्र फिर्ता गर्ने प्रस्ताव राखे ।

त्यतिबेला सत्तामा रहेको भारतीय जनता पार्टीले दिलिपकुमारले नै सोबारे निर्णय लिनसक्ने बतायो । तर उनले पाकिस्तानले दिएको पुरस्कार फिर्ता गर्न आवश्यक ठानेनन् ।

यसअघि सन् १९६१ मा पाकिस्तानको निम्ति भारतमा जासुसी गरेको आरोपमा उनको घरमा छापासमेत मारिएको थियो । पाकिस्तान र भारत विभाजित हुनुअघि बेलायतको इष्ट इण्डियाअन्तर्गत हालको पाकिस्तानमा जन्मिएका उनले जिन्दगीभर भारतप्रतिको आफ्नो भक्ति पटक पटक प्रमाणित गरिराख्नु परेको थियो ।

तिनै दिलिपकुमार बलिउडमा प्रवेश गर्नुअघि मोहम्मद युसुफ खान थिए । उनको अस्ति बुधबार ९८ वर्षको उमेरमा निधन भएको छ । उनको जन्मस्थान पाकिस्तानको पेशावरमा पुर्ख्यौली घरलाई सङ्ग्रहालय बनाएर राखिएको छ भने,भारतको मुम्बईमा समेत आलिशान बंगलो छ ।

टिप्पणीहरू