साँढे पाँचपछि कटारीको तालाबन्दी खोलियो

साँढे पाँचपछि कटारीको तालाबन्दी खोलियो

सोलु करिडोर १३२ केभी प्रसारण लाइनबाट पीडितहरुले उदयपुरको कटारी नगरपालिकामा लगाएको ताला साढे पाँच घन्टापछि खोलिएको छ । कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ र इलाका प्रशासक तुलराज सुनुवारको नेतृत्वमा सुरक्षाकर्मीहरुले ताला खोलेका हुन ।

पीडितहरुको तर्फबाट डाकबहादुर थापा र खत्रीले नेतृत्व गर्दै दिउँसो तालाबन्दी गरेका थिए । आजको तालाबन्दीमा स्थानीय राजनीतिक दलका नेताहरु भने उपस्थित देखिएनन । आन्दोलनकारीहरुले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने माग राख्दै आएका छन ।

तर संघीय सरकारले रुट परिवर्तन गर्न नसकिने, त्यसको बदलामा ऐलानी जग्गामा बनेका घर टहराको पनि क्षतिपूर्ति दिने तयारी गरेका छन । तर पीडितहरुको पहिलो प्राथमिकता रुट परिवर्तनकैं भए पनि एक कदमपछि सरेर उचित क्षपिपूर्ति पाउनु भन्ने रहेको छ ।

यसैबीच मरुवावासी र राजनीतिक दलको विरोधका बावजुद आयोजनाले सयौंका संख्यामा सुरक्षाकर्मी तैनाथ गरी टावर निर्माणको कार्य थालनी गरेको छ । पीडितहरुको वार्तालाई पन्छाएर शक्ति प्रदर्शन गर्दै स्थानीय प्रशासनले करिडोर निर्माण गरेपछि तालाबन्दी गर्न बाध्य हुनु परेको बताएका छन । पीडितहरुले विगत तीन वर्षदेखि १० वटा टावरहरु खडा गर्न अवरोध पु¥याउँदै आएका थिए ।

आन्दोलनकारीहरुले प्रतिधुर २ लाख ५० हजार रुपैया क्षतिपूर्ति पाउनु पर्ने माग राखे पनि सरकारले भने प्रतिधुर एक लाख रुपैया क्षतिपूर्ति दिने सूचना जारी गरेको छ । अहिले मुख्यरुपमा १८ जना पीडित देखिएका छन । केही पीडितहरुले मुआब्जामा चित्त बुझाए पनि केही भने भूमाफियाको उस्काहट लागेको देखिन्छ ।

सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण भएपछि ३२५ मेगावाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाको कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन सम्पन्न भएको छ । तीन सय दुई टावर निर्माण गर्नु पर्नेमा २९२ टावर निर्माण सम्पन्न भई बाँकी १० वटा टावर भने विरोधका कारण निर्माण हुन सकेको छैन । अहिले सुरक्षाकर्मी परिचालन गरी बाँकी १० टावरको निर्माण थालिएको हो ।

यो आयोजना सम्पन्न भएपछि सोलुखम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गर्ने र बाँकी रहेको विधुत राष्ट्रिय प्रसारण लाइन जोड्ने योजना रहेको छ ।

टिप्पणीहरू