संविधान कताको ?

सरकारले फ्याट्ट संविधान संशोधनको प्रस्ताव दर्ता गरिहालेछ, अब त्यसलाई कसैले समर्थन नगर्ने भएपछि संकट परेको छ । जसको विरुद्ध ल्याएको हो उसले त विरोध गर्ने भइहाल्यो । तर जसको समर्थनमा ल्याएको हो उसैले पनि समर्थन नगर्ने भएपछि प्रस्ताव संकटमा परेको हो । यस्तो संकटको बेला संशोधन प्रस्तावलाई अचानक रन्जित रेले समर्थन गरिदिनुभएछ ।

को रन्जित रे भन्नुहोला । उही हाम्रो भारतीय राजदूत महामहिम श्री रणजित रे क्या ! रणजित रेबाट समर्थन आएकोले सरकारलाई केही राहत मिलेको हुनुपर्छ । कम से कम एकजना त आयो संशोधनको पक्षमा ! यो राम्रै कुरा हो ।

तर संविधान संशोधनको यो प्रस्तावलाई राजदूत रेबाट एकदम अचानक जसरी जो समर्थन प्राप्त भयो, त्यो देखेर सबै चकित छन् । किन समर्थन गर्नुभएको होला उहाँले ? कतै झुक्किएर यसलाई भारतीय संविधानको संशोधन पो ठान्नुभएछ कि ? किनभने भारतीय संविधानको एउटै मात्र काम भनेको संशोधन भइरहनु हो ।

संविधान संशोधन हुँदा हुँदा उहाँहरू यति अभ्यस्त भइसक्नुभयो कि अब नेपालको संविधान संशोधन हुन लाग्दा पनि आफ्नै देशको संविधान सशोधन हुन लागेको  ठानको हुनुपर्छ ? होइन भने अहिलेसम्म नेपाली जनताले नै संशोधनलाई स्वीकारेको छैन, उहाँले किन स्वीकार्नुभयो ? 

टिप्पणीहरू