डा. अनशन केसी

नेपाली सिनेमा क्षेत्रमा अनमोल केसी लोकप्रिय भए जस्तै चिकित्सा क्षेत्रमा अनशन केसी अत्यन्त लोकप्रिय हुनुभएको छ । अर्थात डा. अनशन केसी । नाम त उहाँको डा. गोविन्द केसी हो । तर काम चाहिँ अनशन बस्नु हो । सधँै अनशन मात्रै बस्ने डाक्टर भएकोले उहाँको नामै डा. अनशन केसी बन्न पुगेको हो भन्दा फरक नपर्ला ।

अनमोल केसीले त दुई चारवटा मात्रै फिल्ममा खेलेको हुनुपर्छ । तर डा. अनशन केसीचाहिँ दशवटा अनशनमा बसिसक्नुभएको छ । यसपालीको अनशन लगातार २२ दिनसम्म चलेको थियो । २२ दिनसम्म केही नखाएका डा. अनशन केसीले लास्टां एउटा जुस खाएर अनशन तोड्नुभयो । त्यसो त भन्नेहरू के पनि भन्छन् भने अनशनको क्रममा डा. केसीले केही खाएको छैन भन्न मिल्दैन । किनभने उहाँले अनशन बस्दाबस्दै आईओएमको डिन डा. पीके सिंहको पद खाइदिनुभयो । डा. केसीले पदै खाइदिएकाले डा. सिंह अहिले पदविहिन हुनुभएको छ ।

अनशन बस्दाबस्दै सरकार र डा. केसीबीच १२ बुँदे सहमति भएको रहेछ । सहमति हुनु राम्रै हो । तर त्यो १२ बुँदे सहमति पढेपछि भने मलाई लाग्यो, डा. केसीले अब चाँडै नै आफ्नो बाह्रौँ अनशनको तयारी गर्नुभए हुन्छ । सरकारले कुनै बेला आफू आफूबीच भएको बाह्रबुँदे सम्झौता त आजसम्म लागू गरेको छैन भने डा. केसीसँग गरेको बाह्र बुँदे सम्झौता लागु गर्ला र भन्या ?

टिप्पणीहरू