राजदूतले हलिउडका कलाकार नेपाल ल्याउने

राजदूतले हलिउडका कलाकार नेपाल ल्याउने

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले नेपालमा सिने पर्यटनको सम्भावना रहेकाले सिने पर्यटक भित्र्याउन हलिउडसँग पहल गरिरहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेटसँगै विश्वव्यापीरुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्दर्भमा अमेरिका, क्यानाडा र ब्राजिलका राजदूतसँग हिजो गरेको भर्चुअल अन्तरक्रियामा खतिवडाले उक्त कुरा बताउनुभएको हो ।

तर खतिवडाले हलिउडका कलाकार नेपाल ल्याउन आफूले कसरी र कस्तो खालको पहल गरेको भन्ने बारे केही उल्लेख गर्नुभएको छैन । अमेरिकामा रहेका गैरआवासीय नेपालीको ढोकामा कन्सुलर सेवा प्रदान गर्ने भन्दै अघिल्लो महिना क्यालिफोर्निया जानुबाहेक उहाँको हलिउडसँग कुनै सम्बन्ध र सम्पर्क नभएको वासिङटनस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ ।

त्यसक्रममा राजदूत खतिवडाले छिमेकी मुलुक भारत र चीनबाहेकका मुलुकका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुलाई सबैले अचम्म मानेका छन् । सीमा जोडिएका विशाल जनसंख्या भएका छिमेकी मुलुकबाट नेपाल आउने पर्यटकको हिस्सा दुई तिहाईभन्दा बढी रहँदै आएको छ ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका खतिवडाले राजदूतको भूमिका र पहलबारे आयोजित कार्यक्रममा सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ति गरी कार्यक्रम गर्न सुझाव दिनुभएको थियो । राजदूतको हैसियतमाभन्दा पूर्वअर्थमन्त्रीको हैसियतले प्रस्तुत हुँदै उहाँले भन्नुभएको छ ‘नेपालमा अहिले पर्यटकीय गतिबिधि शुन्यप्रायः रहेकाले बजेट अभाव हुनु स्वाभाविक हो । तर प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्नसके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ ।’

ग्लामरका सौखिन खतिवडाले हलिउड कलाकारलाई नेपाल भित्र्याउने सन्दर्भसँग जोड्दै नेपाल राष्ट्र बैंकका एक जना पूर्व गभर्नरले भन्नुभयो ‘योजना आयोगको उपाध्यक्ष हुँदा मर्यादाक्रममा तल रहेको बैंकको गभर्नरमा जाँदा उक्त पदमा ग्लामर भएकाले त्यसो गरेको स्पष्टीकरण दिएका थिए । त्यहि ग्लामरलाई ध्यानमा राखेर हलिउडतिर पो लागे की !’

टिप्पणीहरू