बढुवा त भयो तर जाने कहाँ,बस्ने के मा ?

बढुवा त भयो तर जाने कहाँ,बस्ने के मा ?

डेढ बर्ष ढिलो गरी बढुवा भएका परराष्ट्र सेवाका ५ सहसचिव एकातिर जिम्मेवारी नपाउने, अर्काेतिर सेवा सुविधा पनि नपाउने स्थितिमा छन् ।

दुई साताअघि परराष्ट्र सेवाका ५ जना उपसचिव बढुवा भएका थिए । यसरी सहसचिवमा उक्लिएका कर्मचारीको व्यवस्थापन गर्न हम्मे हम्मे परेको त्यहाँका कर्मचारीहरुले पीडा पोखेका छन् ।

मन्त्रालयका अनुसार कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवद्वय कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीले पदोन्नति पाएको भोलिपल्टै ज्येष्ठतासमेतका आधारमा सुधिर भट्टराई,घनश्याम लम्साल र तेजबहादुर क्षेत्री उक्लिएका हुन् ।

यी कर्मचारी वरिष्ठता र पुल दरबन्दीको किचलोमा थिए । मुद्दा अदालतसम्म पुगेर कर्मचारीकै पक्षमा फैसला भएसँगै डेढ बर्ष ढिलो गरी ५ जना सहसचिव त थपिए तर उनीहरुलाई न त बस्ने कार्यकक्ष,न त सवारी साधन न पोष्टिङ्ग गर्न ठाउँ नै बाँकी छ ।

अहिले मन्त्रालयमा कुनै शाखा रिक्त छैनन्,नियमावली मिच्दै परराष्ट्र सेवाभन्दा बाहिरका मान्छे टिपी राजदूत बनाएर पठाइँदा उनीहरुको पदस्थापन गर्ने ठाउँ पनि बाँकी रहेन । सोही कारण हालै बढुवा भएका कर्मचारीलाई अब कहाँ खटाउने ? के जिम्मेवारी दिने ? यो समस्याले परराष्ट्रलाई पिरोल्न थालेको बताइन्छ ।

टिप्पणीहरू