दूतावास जान्छन् यस्ता–यस्ता पत्र

सरकार ढाल्ने र नयाँ सरकार बनाउने बेलामा नेपाली राजनीतिका केही पात्र यसरी प्रकट हुन्छन्, मानौं सत्ता उनीहरूको कारण मात्र टिकेको छ । यस्ता एउटा पात्र हुन् प्रेमबहादुर सिंह । उनले मन्त्री बन्न मरिहत्ते गर्ने अनेक कारणमध्ये एउटा फेला परेको छ । तिनै सिंह कारण अझै केही युवा सिंहदरवारभित्र–बाहिर, क्यान्टिन र मन्त्रीका पिए तथा नातेदारको घर धाउने काममै अल्झेका छन् ।

मन्त्री सहभागी हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिका लगिदिने भन्दै खानेपानी तथा सरसफाइ मन्त्रालयको लेटरप्याडमा असम्बन्धित व्यक्तिको कागजात बनाइदिएर असुलेको रकम फिर्ता गर्नुपर्ने भएपछि उनका स्वकीय सचिव श्यामराज पाण्डे र उनीबीच आरोप–प्रत्यारोपको जुहारी चलेको छ । मन्त्रालयबाट पत्र तयार गरी आयोजकलाई दिइएको जानकारी गरिएको तथा अमेरिकी दूतावासलाई गरिएको पत्राचार स्वयं मन्त्रीकै निर्देशनमा भएको पाइएको छ । ०७३ चैत ३० गते च.नं. २३ को पत्रबाट टेक्सासस्थित एइसिसीको आयोजनामा हुने वाटरमिटर जडान प्रविधिसम्बन्धी सम्मेलनका निम्ति सचिव सुरेशप्रकाश अर्याका निम्ति संयोजकत्वको प्रमण्डलमा असम्बन्धित व्यक्ति ३ जनाको सिफारिस गरिएको रहेछ ।

मन्त्री सिंह, सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृत सहभागी हुने उक्त कार्यक्रममा विषय विज्ञको रूपमा असम्बन्धित व्यक्तिलाई प्रतिव्यक्ति सात लाख रुपैयाँ उठाएर भिसा सिफारिस गरिएको हो । मन्त्रालयले नेपाल ग्रामीण वाटर ट्रिटमेन्ट एण्ड रिसर्च सेन्टरको डकुमेन्टमा रिसर्चर भन्दै साङ डोल्मा गुरुङ तामाङ, सुशीलचन्द्र घिमिरे, सविन सापकोटा, शेरजङ तामाङ, माया डंगोल श्रीषको नाम सिफारिस गरेको थियो ।

मन्त्रीहरू विदेशी सेमिनारमा जाँदा यसरी असम्बन्धित व्यक्तिलाई लैजाने र उतै छाड्ने क्रम बढेपछि सरकारी लेटरप्याडको इज्जत माटोमा मिल्ने गरेको छ । यसरी गरिएका सिफारिसलाई दूतावासले लत्याइदिँदा आफू र देशकै इज्जत माटोमा मिल्नेबारे मन्त्रीहरूले कहिल्यै सोचेका छैनन् । यही शैलीमा अमेरिकामा युवा लुकाएको आरोप लाग्दा पूर्वमन्त्री कर्णबहादुर थापा आफ्नै पार्टी अध्यक्षबाट बर्खास्ती शैलीमा हटाइनुपरेको थियो ।

ठूलो पार्टीमा यो कुरा बहस र इज्जतको विषय भए पनि साना दलका निम्ति भने यो व्यापार राम्रैसँग फस्टाएको छ । गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि १७ जना युवालाई लगिएको र तिनलाई व्यवस्थापन गर्न मन्त्री विश्वेन्द्र पासवान आफ्नै मन्त्रालयका सचिवलाई पेरिसमा छाडेर एक्लै लिस्बनसम्म पुगेको चर्चा छ ।

त्यो बेला युरोप छिरेकाहरू २० भन्दा बढी लिस्बन पुगेको हल्ला भए पनि सरकारी कोटामा गएका सबै फर्किएको तत्कालीन सचिव कृष्णचन्द्र पौडेल बताउँछन् । तर, भिसा अप्लाई गर्दा मन्त्रीले निजी लेटरप्याडको सिफारिस प्रयोग गरेको आशंका छ ।

टिप्पणीहरू