कसले खुलाउँछ यसको कारण

न्याय र निष्पक्षताको जतिसुकै दुहाई दिए पनि नेता पोस्ने धन्दाबाट प्रहरी अझै मुक्त भएको रहेनछ । महिनाको लाख रुपैयाँभन्दा बढी आम्दानी हुने विदेशी मिसनमा प्रहरी कर्मचारी हाल्दा भर्खरै पनि केही थान नेताका अंगरक्षकलाई घुसाइएको छ, ‘उत्कृष्ट कार्य गर्ने’ भन्दै ।

फम्र्ड पुलिस युनिट (एफपियु) मिसनका लागि अफ्रिकी मुलुक सुडानको डार्फर पठाइने १५ औँ समूहमा कांग्रेस सभापति शेरबहादुर देउवाका पिएसओ (सई) हिमालय शाह र एमाले अध्यक्ष केपी ओलीका सुरेन्द्र टेर क्रमशः २७ र २८ नम्बरमा ‘उत्कृष्ट कार्य गरेबापत’ भन्दै पारिएका छन् । तर तिनले केचाहिँ उत्कृष्ट काम गरे प्रष्ट छैन । यस्तो मिसनमा जान प्रहरी प्रधान कार्यालयले अलग्गै निर्देशिका बनाएर प्रतिस्पर्धाको विधि अपनाउने गरेको छ । यसबाहेक उत्कृत काम गर्ने र दर्जागत बरियताका आधारमा केही व्यक्ति छान्ने प्रचलन छ ।

तर, प्रतिस्पर्धा गर्नुनपर्ने, ठूला मान्छेको सिफारिस भए पुग्ने कोटामा नदेखिने गरी अरु दुई जना पनि परेका छन्, शेखरजंग थापा र रेशमलाल पौडेल । शेखर मुख्यसचिव सोमलाल सुवेदी र पौडेल गृहसचिव लोकदर्शन रेग्मीको बडिगार्ड हुँदै अख्तियार बसेका सई हुन् । यसअघि सोही मिसनमा लोकमानसिंह कार्कीका बडिगार्ड दानबहादुर थापा पनि हालिएका थिए, वरिष्ठताको सूचीमा । ०६३ सालमा इन्स्पेक्टर भएका उनी लोकमानकै बलजफ्तीले मापदण्ड मिच्दै डिएसपीमा बढुवा र मिसनमा पारिएका हुन् ।

उता, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको अडान र कांग्रेस सभापति देउवाको असहमतिका कारण सरुवा भएको तीन महिनापछि बल्ल एउटा जिल्लाले डिएसपी पाएको छ । तीन महिनाअघिको सरुवामा भावेश रिमाल जाजरकोटमा परेका थिए । तर, त्यहाँ पहिलाका डिएसपी दानबहादुर मल्ल प्रधानमन्त्रीको सुरक्षा सहायकमा सरुवा भएपछि सांसद राजीवविक्रम शाहीबाट सिफारिस गरिएका आचार्य थरका डिएसपी नै हाल्नुपर्ने देउवाको माग थियो । नियमित सरुवामा भावेश परिसकेपछि पनि उनलाई नपठाउन देउवाले दबाब दिँदै आएका थिए ।

कारण हो, उनलाई आइजीले नभई पहिलाका डिएसपी मल्लले सरुवा गराएको भनी आसेपासेले सुनाएको सांसद राजीव देउवापत्नी आरजुका भदाहा हुन् । त्यस्तै, सुनकाण्डमा जेल परेर छुटेका इन्स्पेक्टर विजयप्रताप शाहले ज्ञानेश्वरमा भ्रष्टाचारविरोधी कार्यालय खोलेका छन् । उनको जागिर हाल निलम्बित छ ।

टिप्पणीहरू