सक्नु छैन साथको पैसा, अझै तान्ने सुर

आफूसँग भएको पैसा खर्च गर्न नसक्ने, बीचमा नेताले केही घोषणा ग¥यो कि थप पैसा मागिहाल्ने ! के यो सुहाउँदो कुरा हो ?
भूकम्प पुनर्निर्माण प्राधिकरणसँग पहिल्यै ८३ अर्ब रुपैयाँ रहेकोमा पछि ५६ अर्ब थपेर एक खर्ब ३९ अर्ब रहन पुगेको छ । त्यही पैसा खर्च भइसकेको छैन । यसमध्येबाट भूकम्पमा घर भत्किएकालाई ५० हजारका दरले साढे चार लाख घर परिवारको निम्ति केही पैसा बाँडियो ।

प्रचण्डले फेरि एक लाख थपिदिन्छु भन्नासाथ थप ७५ अर्ब माग भएको छ । आफूसँग भएको पैसा खर्च नगर्ने, थप रकम मागिरहने गर्दा उदेलाग्दो स्थिति सिर्जना भएको हो । सामान्यतया आफूले खर्च गरेपछि प्रतिबद्दताअनुरुप विदेशीसँग शोधभर्ना माग्ने गरिन्छ । तर, यहाँ त भएकै पैसा खर्च गर्न नसकेपछि विदेशीसँग माग्ने कुरै भएन । दाताहरुले दिने भनेको पैसा त्यत्तिकै जाम भएर बसेको छ ।

उता, उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्ति हुनु कहिले–कहिले, तिनको निम्ति गाडी किन्न अदालतले चार–पाँच करोड मागिसकेको छ । तर, सरकारले नदिएपछि भवन निर्माणको अर्को शीर्षकमा ५० करोड फुत्काएको बताइन्छ । शहरी विकास मन्त्रालयले पनि थप रकम माग्दा पुसयता रकम निकासाको सम्भावना नभएको जवाफ पाएको छ । त्यतिञ्जेलसम्म पूर्वविनियोजित बजेटमध्येको रकम कहाँ कहाँ खर्च हुन्छ, त्यसैबाट बचेको पैसालाई रकमान्तर गर्ने तयारी रहेको अर्थस्रोतले जनाएको छ ।

उता, मधेस आन्दोलनमा परेका केहीको मुद्दा फिर्ता लिने प्रक्रियासमेत भित्रभित्र शुरु भएको छ । सत्तामा बस्नेहरुलाई देशको हैन, प्रदेशको मात्रै पीर छ । भएको एउटा अन्तर्राष्ट्रिय विमानस्थलसमेत सानो एउटा प्राविधिक त्रुटीका कारण बन्द हुने देशमा नयाँ नयाँ एयरपोर्ट निर्माणको गफ हावादारी हुन जान्छ ।  गत शनिबार नागरिक उड्डयन प्राधिकरणको एउटा गाडी धावनमार्ग निरीक्षणमा जाँदा पछाडिको बत्ति खसेर एयर अरेबियाको उडान एक घण्टा डिले भएको थियो ।

टिप्पणीहरू