करौडौं रकम ठगी हरिप्रसाद दिल्ली, नेपालमा भयो युवाहरुको विचल्ली

करौडौं रकम ठगी हरिप्रसाद दिल्ली, नेपालमा भयो युवाहरुको विचल्ली

-एनपि क्षेत्री

लुम्बिनी , क्यानाडामा राम्रो तलब र सुविधा सहितको जागिर लगाईदिने भन्दै रुपन्देहीका हरिप्रसाद शर्माले युवाहरुलाई करोडौं ठगेका छन् । उनले देशमा जति गरेपनि केहि नहुने भयो विदेशमा त सुनकै अन्डा फल्छ भनेर सपना देखाउदैं, आखाँमा छारो हाल्दै युवाहरुमा क्यानाडा पुगिहाल्ने दीवा स्वप्न अर्थात भूत सवार गराई करौडौं रकम ठगी गर्न भ्याएका छन् ।

यसरी ठगीनेमा पढेलेखेका , देश विदेश बुझेका समेत रहेका छन् । हरिप्रसादको ठग्ने काईदा पनि गज्जबको छ । उनले व्यक्ति मात्रै नभएर २ म्यानपावर कम्पनीलाई समेत करोडभन्दा बढी रुपैयाँ ठगी गरेको पाइएको छ । क्यानडा सजिलै पठाईदिने भन्दै रुपन्देहीको सैनामैना नगरपालिका, रानिबगियाका हरिप्रसाद शर्मा सिग्देलले डिजीटल प्रविधिको दुरुपयोग समेत गरेका छन् ।

कम्प्युटरमा डिजिटल प्रविधिको प्रयोग गरी उनले नक्कली भिसा र टिकट बनाएर भिषा आएको भन्दै दिनदहाडैं करोड रुपैयाँ ठग्न सफल भएका छन् । क्यानाडा जाने सपना देखेकाहरु यतिबेला क्यानाडा त कहा हो कहाँ मान्छे समेत सम्पर्कमा आउन छाडेपछि उनको खोजिमा लागेका छन् ।

हरिप्रसादको ठग्ने काईदा नै फरक

ठगीको पनि शैली फरक हुने गर्दछ । हरिप्रसाद अत्यन्तै चलाख ठग भएको देखिन्छ । उनले रकम असुल्न नक्कली भिषा र विदेश उड्नकोलागि जहाजको टिकट समेत बनाई दिन भ्याएका छन् । त्यहि भिषा र टिकटको भर परी युवाहरुले उनलाई भने जति रकम पनि दिएका हुन् । तर यतिबेला उनीहरु अलपत्र परेका छन् ।

सिग्देल नेपाली युवाहरुलाई ठगी गरेर भारतको दिल्लीमा बस्दै आएको बुझिएको छ । तर उनी कहाँ छन भन्ने यकिन हुन सकेको छैन । यद्यपी पीडितहरु दिल्ली स्थित नेपालीहरुको सहकार्यमा उनको खोजिमा लागेका छन् ।

स्याङ्जाका ४१ वर्षीय भेषराज मानन्धरले आफूलाई क्यानडा पठाइदिन्छु भनेर सिग्देलले नक्कली भिसा र टिकट देखाएर ९ लाख ४० हजार रुपैयाँ ठगी गरेको बताए । उनले भने, ‘मैले विगत १२ वर्षदेखि चिनेको मान्छे हो हरिप्रसाद । उनी मेरो घरमा आउने बस्ने, खाने गर्थै । तर घरमै आएर ठगें । मैले सबै कागजात पनि दिए । अहिले कागजात पनि लग्यो, पैसा पनि लग्यो, मान्छे पनि गायब भयो । ‘

भिषा लाग्यो भनेर ६ पल्ट दिल्ली बोलाएर अलपत्र पारेको उनको आरोप छ । पीडित युवाहरुका अनुसार रुपन्देहीको सैनामैनाका सिग्देलले रामेछापका २९ वर्षीया नरेश सुनुवारबाट २२ लाख ६० हजार, बाग्लुङका २७ वर्षीया प्रकाश सापकोटाबाट १२ लाख, चितवनका २३ वर्षीय उत्तम लोहनीबाट १ लाख २० हजार, झापाका ३६ वर्षीय प्रेमबहादुर राईबाट १२ लाख रुपैयाँ ठगी गरेका छन् । यस्तै, दक्षिण अफ्रिका पठाइदिन्छु भनेर तनहुँका ५२ वर्षीया ठाकुरप्रसाद शर्माबाट १६ लाख ५० हजार, कतार पठाइदिने भनेर तनहुँका ३७ वर्षीया रामजी शर्माबाट १ लाख ३० हजार रुपैयाँ ठगी गरेको पीडित युवाहरुले बताएका छन् ।

पीडितहरु यतिबेला टिम नै बनाएर दिल्लीमा सिग्देलको खोजिमा लागेका छन् । दिल्लीमा रहेका पीडित तनहुँका ठाकुरप्रसाद शर्मा भन्छन्, ‘मलाई सुरुमा चोर बाटोबाट दक्षिण अफ्रिका पठायो, तीनचार लाख तलव हुन्छ भनेको थियो, अफ्रिका पुग्दा महिनाको साठी हजार मात्रै भयो, त्यही पनि भिसा नक्कली रहेछ । त्यसपछि फर्केर नेपाल आएँ, यहाँ आएर सिग्देललाई सम्पर्क गरेँ, उसले अब क्यानडा जाने तपाईं भनेर पासपोर्ट र अन्य कागजात लग्यो । अहिले सम्पर्कबिहीन भएको छ ।’

सोलुखुम्बुका पेम्बा गेलु शेर्पा वैदेशिक रोजगारीमा जानका लागि म्यानपावर कम्पनी धाउँदै गर्दा सन् २०१८ मा काठमाडौंमा रुपन्देहीको सैनामैनाका ४९ वर्षीया हरिप्रसाद शर्मा सिग्देलसँग भेट भयो । भेटमा सिग्देलले क्यानडा पठाइदिने र २३ लाख रुपैयाँ लाग्ने बताए । शेर्पा उक्त पैसा तिर्न तयार भए । त्यसपछि शेर्पाले एकपल्ट काठमाडौंमै सिग्देललाई ४ लाख दिए । चार लाख रुपैयाँ लिएपछि सन् २०१८ को जुलाईमा शेर्पालाई दिल्ली पुर्याए । त्यहाँ एक महिना आफूसँगै राखे ।

त्योबीचमा शेर्पासँगबाट थप ९ लाख रुपैयाँ लिए । सन् २०१८ कै अगस्ट १८ मा दिल्लीबाट भिजिट भिसामा शेर्पालाई कतार पठाए । कतार पुगेपछि सिग्देलले शेर्पालाई क्यानडाको भन्दै इटीए लेखिएको भिसा पठाए र आफन्तमार्फत् हुण्डीबाट पुनः १० लाख रुपैयाँ लिए । तर, कतारबाट उनको क्यानडा फ्लाइट भएन ।

कतारमै एक महिना बसेपछि शेर्पा नेपाल फर्किए । त्यसपछि बल्ल थाहा भयो, सिग्देलले क्यानडाको भनेर पठाइदिएको भिसा नक्कली भन्ने । त्यतिञ्जेल सिग्देल शेर्पाको सम्पर्कबाट टाढा भइसकेका थिए । उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । यसैरी क्यानडा, दक्षिण अफ्रिका र कतार पठाइदिने भन्दै सिग्देलले दुई म्यानपावर कम्पनीसहित १० युवाबाट विभिन्न मितिमा एक करोड ११ लाख ७७ हजार रुपैयाँ ठगी गरेका छन् ।

सिग्देलले दुवै र कतारको डिमान्ड बनाइदिन्छु भनेर काठमाडौंमा रहेको रिलायन्स म्यानपावर कम्पनीबाट ११ लाख ५० हजार र काठमाडौंकै क्षितिज इम्पलामेन्ट सर्भिसेजसँग कतारको डिमान्ड बढाइदिने भनेर १ लाख ७७ हजार रुपैयाँ ठगी गरेका छन् । प्राप्त प्रमाणमा युवाहरुले नक्कली भिसा, टिकट र सिग्देलको बैंक खातामा पैसा जम्मा गरेको भौचर पनि उपलब्ध गराएका छन् ।

सिग्देलले युवाहरुलाई काठमाडौंको रिलायन्स म्यानपावर कम्पनीको इक्जेकेटिभ डाइरेक्टर लेखेको भिजिटिङ कार्डसमेत उपलब्ध गराएका थिए । पछि त्यही रिलायन्स म्यानपावरलाई समेत उनले ठगेका छन् । युवाहरुका साथबाट सिग्देलले पैसासँगै कागजात र पासपोर्ट पनि लगेका छन् । उनी अहिले दिल्लीको कुन ठाउँमा छन् भन्नेबारे खोजी गरिरहेको युवाहरुको भनाई छ ।

ठगिएपछि बाग्लुङका प्रकाश सापकोटाले वैदेशिक रोजगार विभागमा पनि निवेदन दिएका छन् । यस्तै, स्याङ्जाका मानन्धर लगायतका युवाले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोलाई पनि ठगिएको घटनाबारे जानकारी गराएका छन् । महिना दिनदेखि सिग्देलको खोजीमा दिल्ली पुगेका यु्वाहरुले दिल्ली जानु अघि रुपन्देही प्रहरीलाई पनि घटनाबारे जानकारी गराएका थिए ।

दिल्ली पुगेर नेपाली राजदुतावासमा सम्पर्क गरी दुतावासले भारतीय प्रहरीसँग समन्वय गरेर सिग्देलको खोजी गरिरहेको उनीहरुको भनाई छ ।

टिप्पणीहरू