कुरा फेर्नेसँग कसको के लाग्छ ?

प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेपछि बालुवाटारमा मधेसी मोर्चासहितको बैठक बस्यो । संशोधन दर्तापूर्व र पछि दलहरुबीच आरोप–प्रत्यारोप, समर्थन र धम्कीजस्ता अनेकौं नाटक प्रदर्शित भए ।

यही क्रममा उपेन्द्र यादवको अनौठो अडान र विरोधाभाषपूर्ण हर्कत देखियो । उनले एकाएक डा. बाबुराम भट्टराईसँग मिलेर संशोधनमा यस्ता कुरा हुनुपर्छ भन्दै विज्ञप्ति निकाले भने बैठकमा चाहिँ प्रचण्ड र देउवालाई ‘हामी बरु चुनावमा नै जान्नौं । चुनाव हुँदैन भने नहोस् तर कुनै हालतमा अहिलेको प्रस्ताव मानिँदैन, असफल पारेरै छाडिन्छ’ भन्ने धम्की दिए ।

उनको स्पष्ट भनाइ थियो, ‘हामीले विस्तारै समर्थन गर्छौं भन्ने भ्रम छ भने त्यसबाट मुक्त भए हुन्छ । हालको प्रस्तावले हाम्रो मुद्दालाई रौं जति पनि छोएको छैन ।’ उपेन्द्रको कुरा सुनेपछि प्रचण्डतिर फर्कंदै माओवादी नेता नारायणकाजी श्रेष्ठले सोधे, ‘हैन, दर्ता गरेपछि मधेसी दलले समर्थन गर्ने कुरा छ भन्या हैन ? खै, अहिले गर्दैनौं भन्छन् त !’ श्रेष्ठको कुरा सुन्नासाथ मधेसी नेताहरुले प्रतिवाद गरिहाले, ‘हामीले कहाँ, कहिले त्यसो भनेका छौं ? यो सब झूठ हो ।’ सत्य कुरा यसरी पोखिएपछि अनौठो प्रकारको सन्नाटा छाएको बैठकमा सहभागी स्रोत बताउँछ ।
त्यसो त संशोधन प्रस्तावले मधेसी दलहरुलाई पनि निकै अप्ठ्यारोमा पारेको बताइन्छ ।

मानौं त मोर्चाका अध्यक्ष उपेन्द्र यादवकै भोलि चुनाव लड्ने क्षेत्र (सुनसरी) मधेस प्रदेश (प्रदेश नं. २) मा छैन । त्यसमाथि पार्टीभित्रकै किचलोले समेत नराम्ररी पिरोलेको छ । उनले सारथिको रुपमा विकास गर्न खोजेका युवा नेता अभिषेकप्रताप साह (कपिलवस्तु) निकै असन्तुष्टि पालेर बसेका छन् भने साथीहरुसँग सल्लाह नगरी जथाभावी बोल्दै हिँडेको भनेर मोर्चाबाट उनको दललाई अलग पार्ने तयारीसमेत भएको हो । तर, अहिले मोर्चामा फुट देखाप¥यो भने मधेसकै राजनीति खतरामा पर्ने विश्लेषण गर्दै अन्य घटकहरुले उनको गल्तीलाई माफीमिनाहा गरेका थिए । त्यसरी मोर्चाकै अन्य दलको निशानामा समेत आफू पर्न थालेपछि उपेन्द्र बाबुरामसँग ‘प्याचअप’ गर्ने निश्कर्षमा पुगेको बताइन्छ ।

उता राप्रपाचाहिँ लोकमान प्रकरणमा कांग्रेसले मौनधारण गरेझैं संविधान संशोधनको मुद्दामा पनि पर्ख र हेरको रणनीति अवलम्बन गर्ने योजनामा रहेको छ । आफूले भोट हाल्दा बहुमत पुग्छ भने प्रस्तावलाई समर्थन गर्ने दाउमा राप्रपा रहेको स्रोत बताउँछ ।

टिप्पणीहरू