कर्नेल चापागाईंसहित छ जनामाथि सैनिक अदालतले कडा कारबाही गर्दै

कर्नेल चापागाईंसहित छ जनामाथि सैनिक अदालतले कडा कारबाही गर्दै

आर्थिक अनियमिततामा संलग्न भएसँगै सैनिक अनुशासन र आचरण विपरितको समेत काम गरेको आरोपमा नेपाली सेनाका कर्नेल चन्द्रप्रकाश चापागाईं र अन्य पाँच जनामाथि कोर्टमार्शल भएको छ । कोर्टमार्शलअन्तर्गत हाल सेनाको हिरासतमा रहेका उनीहरूमाथि भएकोे सैनिक अदालतको छानबिनको निर्णय भोलिसम्ममा बाहिर आउने छ ।

शिव दल गणबाट लेबनान मिशनमा गएका उनी र अन्य पाँच जना स्वदेश फर्केपछि छानबिनमा परेका हुन् । उनीहरू घर फर्केको साढे तीन महिना भएको छ । चापागाई गणको नेतृत्व गर्दै लेबनान गएका थिए । उनी र विभिन्न दर्जाका पाँच जनाले आर्थिक अनियमितता गरेको विषयमाथि छानबिन केन्द्रित भएको बताइन्छ । उनीहरूमाथिको छानबिन नेपाल आएदेखि भएको हो भने सैनिक निगरानीमा राखिएको धेरै भएको छैन ।

लहरो तान्दा पहरो गर्जने उखानझैँ कर्नेल चापागाईंसहित पाँच जनामाथि सेनाको कारबाही अघि बढेको हो । सामान्य आरोपबाट शुरु भएको चापागाईंको विषय सेनाले उधिन्दै जाँदा आर्थिक अनियमिततासम्म पुगेको हो । यसअघि जर्नेल पंकज कार्कीको विषय पनि त्यसैगरी एकातिरको प्वाल हेर्दा अर्कोतिर भ्वाङ फेला परेको थियो ।

लेबनानमा छँदा उनले आफूभन्दा उपल्लो तहका हाकिममाथि लाञ्छना लगाउँदै सामाजिक सञ्जाल रंगाएका थिए । उपरथी रघु भण्डारीलाई आक्षेप लगाएर सामाजिक सञ्जालमा उनले ग्रुप म्यासेजसमेत पठाएका थिए । ३९ बेसिक ग्रुपमा पठाइएको म्यासेजको सम्बन्धमा पनि सैनिक अदातलले छानबिन गरेको स्रोतको दाबी छ । भण्डारीले सैनिक चिकित्सकको रुपमा कार्यरत छोरी र ज्वाईं दुबैलाई पदको दुरुपयोग गरी आफू नेतृत्वको मिसनमा हालेको भन्दै उनले ग्रुप म्यासेजमा उपरथीको आलोचना गरेका थिए ।

तर अहिले उक्त म्यासेजलाई लिएरभन्दा पनि आर्थिक अनियमिततालाई लिएर उनीमाथि छानबिन भएको हो । आर्थिक अनियमितताको विषय बाहिर नआओस् भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको विषयलाई कोर्ट मार्शलको निर्णय बाहिर आउनुअघि महत्वका साथ बाहिर ल्याइएकोलाई रणनीतिक चाल भनिएको छ ।

कर्नेल चापागाईं र उनको समूहमाथि भएको कोर्ट मार्शल सेनाको डीजीएमआईको तहबाट भएको हो । जर्नेलहरू सरोजप्रताप राणा र सुशील भण्डारीहरुले अभियोग ठहर गरेका हुन् ।

टिप्पणीहरू