पानी ? – ‘नो प्रब्लम’

मेलम्ची खानेपानी परियोजना निर्माणस्थलमा सुनको खानी भेटियो भनेर सर्वसाधारणको आउजाउ नै जसरी रोकिएको छ, वास्तविकताचाहिँ त्यो होइन भन्ने बुझिएको छ । न अगाडि न पछाडि, न तल न माथि जम्मा एक मिटर क्षेत्रबाट पहेंलो लेदो निस्किएको थियो ।

त्यो के हो भनेर खानी विभागले परीक्षण गरिरहेको छ । स्रोतका अनुसार यदि त्यो ठाउँलाई खाली नै छाड्ने हो भने पनि मुख्य काम (हेडवक्र्स) मा फरक पर्दैन । मध्यमाञ्चलका क्षेत्रीय प्रशासक विनोद केसी आफैं अस्ति गाडीमा तीन किलोमिटरसम्म सुरुङभित्र पसेर फर्किएका छन् । अब साढे ५ किलोमिटर सुरुङ खनेपछि अर्को दशैंसम्ममा काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने छन् । एक ठाउँमा फोस्रो ढुंगा फेला परेर केही अवरोध भने देखिएको छ ।

यता, काठमाडौंमा पाइप गाड्ने कामले यातायात अवरुद्ध पार्दै सडक खनिने क्रम जारी छ । यदि यता सबै काम पूरा नहुँदै मेलम्चीको पानी आइपुगे बागमतीमा हालेर नदी सफा गर्न पनि सकिन्छ । खेती, वस्ती केही आसपास नभएको मेलम्चीबाट फोहर पानी आउने सम्भावना नभएको बताइन्छ ।

टिप्पणीहरू